शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेपाली नृत्यको विश्वव्यापीकरणमा व्यस्त वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र के.सी.

मंगलबार, चैत्र ३ २०८२

काठमाडौं । नेपाल विविधता र संस्कृतिले भरिएको देश हो । हिमालदेखि तराईसम्म फैलिएको यो सुन्दर भूमिमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायहरूले आफ्ना मौलिक नृत्य, संगीत, भाषा र परम्परालाई पुस्तौँदेखि जोगाउँदै आएका छन् । यही सांस्कृतिक विविधता नै नेपालको पहिचान, गर्व र सम्पत्ति हो ।

यिनै अमूल्य सांस्कृतिक धरोहरलाई जोगाउँदै विश्वमञ्चसम्म पु¥याउने यात्रामा तीन दशकभन्दा लामो समयदेखि सांस्कृतिक क्षेत्रमा निरन्तर लागिरहनुभएका वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र के.सी. नेपाली लोककला र संस्कृतिको प्रवद्र्धनमा सक्रिय रहँदै आउनुभएको एउटा परिचित नाम हो । गाउँघरका मौलिक नृत्यहरूलाई माया र संरक्षण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म उहाँले नेपाली संस्कृतिको उत्थान, प्रवद्र्धन र प्रचार–प्रसार गरी कार्यक्रमहरु गर्दै आउनु भएको छ ।

यसै क्रममा हाल एभरेस्ट नेपाल कल्चर ग्रुपको आयोजनामा यही २०८२ साल चैत ६ गतेदेखि चैत १३ गतेसम्म देशका विभिन्न प्रमुख स्थानहरूमा १३ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ आयोजना हुँदैछ । यो मेला केवल एउटा सांस्कृतिक कार्यक्रममात्र नभएर, विभिन्न देशका कलाकारहरूबीचको भेटघाट, अनुभव साटासाट गरी मित्रता गाँस्ने सुन्दर अवसर पनि हो ।

यस कार्यक्रममा नेपालसहित विभिन्न देशका संस्कृतिकर्मीहरूले आफ्ना मौलिक नृत्य, संगीत र संस्कृति एकै मञ्चमा प्रस्तुत गर्दै छन् । यस कार्यक्रमले आपसी सम्मान र समझदारीलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । जोगेन्द्र के.सी.का अनुसार सांस्कृतिक मेला भनेको केवल मनोरञ्जनको कार्यक्रम मात्र होइन । “यस्ता कार्यक्रमहरूले पुरानो संस्कृतिहरूलाई जोड्ने पुलको काम गर्छन् । एक अर्को संस्कृति आदन–प्रदान गर्दै कलाकारहरूबीच भेटघाट, अनुभव साटासाट हुने र संसारका फरक–फरक संस्कृतिलाई नजिकबाट चिन्ने अवसर र बुझ्ने मौकाको महाकुम्भ मेला हो ।”

के.सी.को भनाइ अनुसार यस वर्षको मेलामा नेपालका तर्फबाट विभिन्न कोसेलीहरु पस्कदैछौँ । विशेषगरी यो वर्ष मारुनी नृत्यलाई गीति–नाटक शैलीमा प्रस्तुत गर्ने गरी तयारी गरिएको छ । करिब १२ मिनेटको यो प्रस्तुति दर्शकहरूका लागि रोचक र जीवन्त हुने अपेक्षा गरिएको छ । यो गीत आपैmमा इतिहास बोकेको संस्कृति हो जसलाई स्वयम् नेपालका प्रख्यात सङ्गीकार तथा वरिष्ठ गायक नारायण रायमाझीको सङ्गीत र गायनमा संयुक्त यो प्रस्तुति हुदै छ । मारुनी नृत्य पश्चिम पहाडी क्षेत्रमा बसोबास गर्ने गुरुङ र मगर समुदायमा विशेष लोकप्रिय लोकनृत्य हो । दशैं, तिहार र माघे संक्रान्ति जस्ता पर्वहरूमा उत्साहका साथ नाचिने यो नृत्य नेपाली लोकसंस्कृतिको महत्वपूर्ण हिस्सा हो । यसको कथा, संगीत र अभिनयलाई मिलाएर गीति–नाटक शैलीमा प्रस्तुत गरिने भएकाले दर्शकहरूले यो प्रस्तुतिलाई रुचाउने विश्वास गरिएको छ ।

उनको निर्देशनमा सुनुवार समुदायको परम्परागत लोक नृत्य “सुनुवार नाच” पनि यस कार्यक्रममा प्रस्तुत गरिनेछ । यो नृत्य विशेषगरी वैशाख पूर्णिमाको अवसरमा नाचिने परम्परागत लोक नृत्य हो । यस्ता नृत्यहरूले नेपालभित्र रहेका विभिन्न जातीय समुदायहरूको मौलिक संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनको लागि महत्वपूर्ण भूमिका हुनेछ ।

नृत्य प्रस्तुति तयार गर्दा सबैभन्दा ठूलो ध्यान यसको मौलिकता र ठेटपनमा विचार पु¥याउनु पर्छ । निर्देशक के.सी. बताउनुहुन्छ । उहाँका अनुसार लोकनृत्यको वास्तविक सुन्दरता यसको परम्परा, चालढाल, भेषभूषा, सिंगार र भावनामा लुकेको हुन्छ । त्यसैले नृत्यको मूल स्वरूपलाई जोगाउँदै दर्शकहरूलाई आकर्षित गर्ने ढंगले प्रस्तुति तयार पारिएको छ ।

उहाँका अनुसार अर्को महत्वपूर्ण पक्ष भनेको प्रत्यक्ष गीत, बाजागाजाको तालमा नृत्यको एकै पटक हुने त्रिपक्षीय प्रस्तृति प्रमुख आकर्षण बन्ने छ । रेकर्डेड संगीतको अत्याधिक प्रयोग हुने यो समयमा प्रत्यक्ष सङ्गीतको प्रयोग गरी गरिने यो नृत्यले नेपाली नृत्यक्षेत्रमा नौलोपन प्रदान गर्दछ । प्रत्यक्ष सङ्गीतमा नर्तक नर्तकीहरुको अभिनयले दर्शकहरुको उत्साह स्वत् बढ्ने उहाँको अनुभव छ ।

करिब तीन दशक लामो सांस्कृतिक यात्रामा जोगेन्द्र के.सी.ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव, मेला, सेमिनार, कार्यशाला र गोष्ठीहरूमा सहभागिता जनाउँदै २ दर्जन भन्दा बढी देशहरूमा नेपाली लोकनृत्य र संस्कृतिको प्रस्तुति दिनुभएको छ । उहाँले फ्रान्स, जर्मनी, पोल्याण्ड, बेल्जियम, ग्रीस, स्विजरल्याण्ड, नेदरल्याण्ड, स्पेन, पोर्चुगल, जापान, अमेरिका, बेलायत, टर्की, थाइल्याण्ड, मलेसिया, कतार, यूएई लगायतका देशहरूमा नेपाली कला र संस्कृतिलाई प्रस्तुत गर्दै नेपालको सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा पु¥याउने काम गर्नु भएको छ ।
यस क्षेत्रमा उहाँको निरन्तर योगदानका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पुरस्कार र सम्मानहरू पनि प्राप्त भएका छन् । स्टार इन्टरनेशनल अवार्ड २०२१, नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२, राष्ट्रिय प्रतिभा पुरस्कार २०२३, नेपाल संगीत तथा नाटक एकेडेमी पुरस्कार तथा जनसेवाश्री पदक सहित दर्जनौ सम्मानहरूले उहाँको सांस्कृतिक यात्रालाई अझ गौरवपूर्ण बनाएका छन् ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकनृत्य प्रस्तुत गर्दा आफूलाई सधैं गर्व र खुशीको अनुभूति हुने उहाँ बताउनुहुन्छ । विदेशी दर्शकहरूले नेपाली भेषभूषा, संगीत र नृत्यलाई उत्सुकताका साथ हेर्दा र सम्मान गर्दा मनभित्र छुट्टै खुशी जाग्ने उहाँको अनुभव छ ।

उहाँ मुस्कुराउँदै भन्नुहुन्छ, “हामी केवल नृत्य मात्र प्रस्तुत गरिरहेका छैनौँ, हामी नेपाल र नेपालीको कलासंस्कृतिलाई विश्वको कुनाकुनामा सगरमाथालाई साँची राखी नेपालको झण्डा फराउँदै सांस्कृतिक दूतको रुपमा काम गरिरहेका छौँ ।”

लोकसंस्कृति हाम्रो पहिचान हो । यसलाई जोगाउनु, माया गर्नु र नयाँ पुस्तासम्म पु¥याउनु हामी सबैको साझा जिम्मेवारी हो । यस्ता अन्तर्राष्ट्रिय मेलाहरूले नेपाली कला र संस्कृतिलाई विश्वमञ्चमा चिनाउने सुन्दर अवसर भएको उहाँको बुझाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार