शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेकपाको चुनावी असफलताका कारणहरु

मंगलबार, चैत्र ३ २०८२

खगेन्द्र छन्त्याल

नेपालको वर्तमान राज्य व्यवस्था पुँजीवादी राज्य व्यवस्था हो । पुँजीवादी राज्य व्यवस्थाले पुँजीपति वर्गको हकहितको मात्र रक्षा गर्दछ । त्यस कारण यो व्यवस्था पुँजीपतिहरूको मात्र व्यवस्था हो । यो व्यवस्थाले गरिब किसान, मजदुर र सर्वहारा सुकुमबासीहरूको हकहितको रक्षा गर्दैन । कम्युनिस्ट पार्टी किसान, मजदुर र सर्वहारा सुकुमबासीहरूको पार्टी हो । त्यस कारण कम्युनिस्ट पार्टीको काम पुँजीवादी राज्य व्यवस्थाको अन्त्य गरेर त्यसको ठाउँमा किसान, मजदुर, सर्वहारा, सुकुमबासीहरूको हकहितको रक्षा गर्ने समाजवादी राज्य व्यवस्था स्थापना गर्नु हो । बुलेटको भरमा टिकेको पुँजीवादी राज्यसत्तालाई बुलेटले नै ध्वंस गरेर त्यसको ठाउँमा समाजवादी राज्य व्यवस्था स्थापना गर्नुपर्दछ भन्ने कम्युनिस्टहरूको परम्परागत मान्यता हो । तर, आजकल कम्युनिस्टहरूमा सम्भव भएसम्म अर्थात् दुस्मन वर्गले बुलेट प्रयोग नगरेसम्म शान्तिपूर्ण ढंगले ब्यालेटको माध्यमबाट पनि समाजवाद स्थापनाको निम्ति पहल लिनुपर्दछ भन्ने मान्यताको विकास भैरहेको देखिन्छ । यही मान्यताअन्तर्गत नै हिजोआज कम्युनिस्ट पार्टीहरू चुनावी मोर्चामा सक्रिय भएको बुझिन्छ ।

पूर्वनिर्धारित समय २०८२ फागुन २१ मा नेपालमा सङ्घीय चुनाव सम्पन्न भयो र त्यसको परिणाम पनि आइसक्यो । २०८४ मा हुनुपर्ने सङ्घीय चुनाव २०८२ भदौ २३–२४ को जेनजी आन्दोलनको जगमा २०८२ फागुन २१ मै सम्पन्न भयो । जेनजी आन्दोलनका लक्षहरू जस्तै : भ्रष्टाचारको अन्त्य गर्ने, नातावाद र कृपावादको अन्त्य गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्ने र तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध खुला गर्ने नै मुख्य थिए । जेनजी आन्दोलनका यी लक्ष्यहरू नेपाली कम्युनिस्ट पार्टी अर्थात नेकपा (यस अगि नेकपा उल्लेख गरिनेछ ) का एजेन्डा नै भएको कारण उक्त आन्दोलनप्रति नेकपाको पूर्ण समर्थन र हार्दिक ऐक्यबद्धता रहयो । तर, आन्दोलनभित्र देशीबिदेशी शक्तिकेन्द्र तथा विभिन्न खाले गलत तत्वहरुको जुन ढंगले घुसपैठ भयो र आन्दोलनलाई राज्य तथा व्यक्तिका निजी सम्पत्तिमाथि आक्रमण, आगजनी र तोडफोड तथा हत्याहिंसातिर अग्रसर गराइयो । त्यसप्रति नेकपाको गम्भीर असहमति रह्यो । साथै, आन्दोलनका उपलब्धिहरूको तिनै देशीविदेशी शक्तिकेन्द्र तथा विभिन्न खाले गलत तत्वहरुहरूले जसरी हाईज्याक गरे, त्यसप्रति नेकपाको आपत्ति रह्यो ।

बेथिति, विकृति र विसंगतिका विरुद्ध मात्र होइन, सिङ्गो मुलुकमाथि नै भैरहेको बर्बर आक्रमणको जगमाथि हुने चुनाव अवश्य पनि सामान्य चुनाव थिएन । किनकि यो चुनाव कुनै एउटा व्यक्तिले हार्ने वा जित्ने भन्ने प्रश्नसँग होइन; सिङ्गो देशले हार्ने वा जित्ने भन्ने प्रश्नसँग सम्बन्धित थियो । त्यसैले नै नेकपाले भन्दै आएको थियो, यो चुनाव सामान्य चुनाव होइन !

साम्राज्यवादी, विस्तारवादी शक्ति राष्ट्रहरूले कमजोर र अविकसित मुलुकहरूलाई विभिन्न ढंगले आफ्नो पञ्जाभित्र पार्दछन् र ती मुलुकहरूमाथि विभिन्न खाले शोषण, दमन र उत्पीडन गर्दछन् । जसमध्ये एक : कमजोर र अविकसित मुलुकलाई आफ्नो उपनिवेश बनाएर त्यहाँबाट आफ्नो स्वार्थसिद्ध गर्ने । कुनै दिन सूर्य नअस्ताउने देश भनेर चिनिने बृटिस साम्राज्यवादले भारतलगायत कैयौँ मुलुकलाई आफ्नो उपनिवेश बनाएर कैयौँ वर्ष लन्डनबाट नै ती मुलुकहरूमा आफ्नो शासन चलायो ।

दुई : वैधानिक या अवैधानिक कुनै पनि माध्यमबाट छिमेकी सानो, कमजोर तथा अविकसित देशलाई जबर्जस्त आफ्नो देशको भूगोलभित्र गाभ्ने । आफू बृटिस साम्राज्यवादको उत्पीडनबाट मुक्त भएको थोरै समयपश्चात् नै भारतीय विस्तारवादले आफ्नो छिमेकी तथा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश सिक्किमलाई आफ्नो भूभागमा गाभेर आफ्नै एउटा प्रान्त बनायो ।

तेस्रो : ती कमजोर र अविकसित मुलुकहरूमा आफ्ना दलालहरू जन्माएर तिनै दलालहरूमार्फत आफ्नो कठपुतली सरकार बनाएर ती देशहरूका राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत सबै क्षेत्रहरू आफूअनुकूल बनाएर त्यहाँका खनिज, जल, जमिन, जंगललगायतका सबै प्राकृतिक स्रोत साधन कब्जा गर्ने । उल्लिखित तीनमध्ये पहिलो र दोस्रो तरिका साम्राज्यवादी, विस्तारवादीहरूले प्रयोग गर्ने पुराना तरिकाहरू हुन् र तेस्रो तरिकाचाहिँ नयाँ तरिका हो । यो तरिकालाई नवउपनिवेशवादी नीति पनि भनिन्छ । साम्राज्यवादी, विस्तारवादीहरूले नेपाललगायत संसारभरका गरिब, कमजोर र अविकसित मुलुकहरूमा आफ्नो स्वार्थसिद्ध गर्नको निम्ति हाल अपनाइरहेको तरिका भनेको यही नयाँ, तेस्रो अर्थात् नवउपनिवेशवादी नीति नै हो । यो नीतिअन्तर्गत साम्राज्यवादी, विस्तारवादीहरूले सम्बन्धित देशहरूभित्र आफ्ना दलालहरू पैदा गर्न, ती दलालहरूलाई हरेक ढंगले शक्ति सम्पन्न बनाउन, राज्यका हरेक अंगहरू जस्तै ः व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा ती दलालहरूलाई स्थापित गर्न साम, दाम र दण्ड भेद सबै प्रयोग गर्दछन् ।

चुनावी परिणाममा नेकपा लगायत देशभक्त तथा राष्ट्रवादी शक्तिहरूको पराजय मात्र होइन, सर्मनाक हार भएको छ । राष्ट्रियता र जनतन्त्रबारे कुनै प्रस्ट दृष्टिकोण र अडान नभएका, सुशासन र सुव्यवस्थाबारे कुनै पनि अनुभव नभएका तथा कुनै राजनीतिक पृष्ठभूमि नभएका, कुनै राजनीतिक ज्ञान अनुभव नभएका र कुनै राजनीतिक योगदान, त्याग र बलिदान नभएका व्यक्ति र शक्तिहरूले अप्रत्याशित जित हासिल गरेका छन् । अवश्य पनि, जेनजी आन्दोलनको पछिल्लो परिदृश्य, साम्राज्यवादी, विस्तारवादी शक्तिकेन्द्रहरूको नयाँ, तेस्रो अर्थात् नवउपनिवेशवादी नीति र गत फागुन २१ मा सम्पन्न निर्वाचनको परिणाम एकापसमा अन्तरसम्बन्धित छन् । यो पृष्ठभूमिबाट हेर्दा उक्त चुनावमा नेपालको एउटा सच्चा देशभक्त शक्ति नेकपाको असफलताका केही खास कारणहरू देखिन्छन् । जसमध्ये पहिलो हो ः विदेशी शक्ति केन्द्रको अस्वाभाविक चलखेल ।

घुसपेठ र हाईज्याक गरेर सुन्दर जेनजी आन्दोलनलाई जुन शक्तिले कुरूप बनायो, त्यही शक्तिले चुनावमा अस्वाभाविक चलखेल ग¥यो । नेपालको राज्यसंयन्त्र कब्जा गरेर उसले चुनावमा सामान्य हावाहुरी होइन, एक ढंगको सुनामी नै बर्सायो । र, त्यो सुनामीले सर्वसाधारण अर्थात् आम जनतालाई नराम्रोसँग प्रभावित ग¥यो, जसको कारण नेकपा पराजित भयो ।

दोस्रो कारण हो– राष्ट्रियता र जनतन्त्र तथा समग्र राजनीतिबारे जनताको कमजोर चेतनास्तर । जनताको कमजोर चेतनास्तरको कारण भएको सानो गल्तीले राष्ट्रलाई ठुलो नोक्सानी हुन्छ । सिक्किमेली जनताको सानो गल्तीले कुनै दिनको स्वतन्त्र र सार्वभौम मुलुक सिक्किम भारतमा विलय भयो । सिक्किमेली जनताले भारतीय दलाल लेन्डुप दोर्जेलाई समयमा चिन्न सकेनन् । चुनावमा उसको पार्टीलाई जनताले दुई तिहाइ बहुमत दिए । सिक्किमेली जनताको त्यही कमजोरीमाथि टेकेर भारतीय विस्तारवादले सिक्किमलाई भारतमा गाभ्ने योजना बनायो । र, उसले उक्त योजना आफ्नो दलाल लेन्डुप दोर्जेमार्फत कार्यान्वयन गर्यो ।

त्यस्तै, युक्रेनी जनताको सानो गल्तीको कारण आज युक्रेनले विनास बेहोर्नुपरेको छ । स्वयम् लाखौँ युक्रेनी जनताले जीवन गुमाउनुपरेको छ । लाखौँले घरबास गुमाउनुपरेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्की कुनै दिन त्यहाँका लोकप्रिय हास्य कलाकार थिए । कलाकारितामा प्राप्त लोकप्रियतालाई राजनीतिक सत्ता र शक्ति प्राप्त गर्ने आधार बनाएर उनी राजनीतिमा आए । अमेरिकालाई युक्रेनमा एउटा बफादार दलालको आवश्यकता थियो । जेलेन्स्कीको राजनीतिक सत्ता र शक्ति प्राप्त गर्ने तीब्र चाहनाको दोहन गरेर उनलाई अमेरिकाले आफ्नो बफादार दलाल बनायो । अमेरिकाले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर जेलेन्स्की र उनको पार्टीलाई चुनावमा विजेता बनाउने प्रयत्न ग¥यो । युक्रेनी जनताको ठुलो हिस्साले अमेरिकी चाल बुझेनन् । उनीहरूले जेलेन्सकी जिताउने अमेरिकी प्रयत्नलाई साथ दिए । अन्ततः जेलेन्स्कीले चुनाव जिते, तर उनमा न राजनीतिक, न कुटनितिक, न अनुभव थियो, न ज्ञान थियो, न क्षमता नै थियो । अमेरिकाले जे चाह्यो, अमेरिकाले जे भन्यो त्यो गर्नुबाहेक उनको अर्को काम पनि केही थिएन । फलतः आज युक्रेन यो अवस्थामा छ । राष्ट्रियता, जनतन्त्र र समग्र राजनीतिप्रतिको निम्न चेतनाको कारण सिक्किमेली जनताले गरेको सानो गल्तीले सिक्किम देशको अस्तित्व समाप्त भयो र आज सिक्किम देश इतिहासको एउटा पानामा सीमित भयो । माथि उल्लिखित कारण नै युक्रेनी जनताले गरेको सानो गल्तीले आज युक्रेन र युक्रेनी जनता भयावह स्थितिमा छन् ।

ठीक त्यसरी नै राष्ट्रियता, जनतन्त्र र समग्र राजनीतिसम्बन्धी नेपाली जनताको कमजोर तथा पिछडिएको चेतनास्तर र पुरानो सत्ता र कतिपय पुराना राजनीतिक पार्टीका कैयौँ नेता तथा कार्यकर्ताहरूद्वारा गरिएका गलत हर्कतहरू जस्तै ः भ्रष्टाचार, बेथिति, नातावाद, कृपावाद जस्ता विकृति र विसंगतिप्रतिको आक्रोशको अचेत अभिव्यक्ति स्वरूप गरिएको सानो गल्ती नै यस पटकको चुनावमा नेकपा पराजित हुनुको अर्को कारण हो ।

तेस्रो कारण हो– स्वयम् नेकपाको कमजोर सांगठनिक स्थिति । नेकपाको चुनावी असफलताको मुख्य कारण यही हो । माथि चर्चा गरिएका दुई कारण सहायक कारण हुन् । किनकि बलियो दुस्मनको तुलनामा आफू कमजोर भएको अवस्थामा नै हामीले पराजय बेहोर्नुपर्ने हो । बलियो दुस्मनभन्दा आफू झन् बलियो रहेको अवस्थामा हामीले कहिल्यै पनि पराजित हुनुपर्दैन । आँधीहुरीमा सबै लत्रिँदैनन्, बढारिँदैनन् । झारपातहरू लत्रिन्छन्, बढारिन्छन् तर सतिसाल ठिङ्ग उभिइरहन्छ किनभने अन्य झारपातहरू कमजोर हुन्छन्, उनीहरूमा आँधीहुरीविरुद्ध प्रतिरोध गर्ने क्षमता हुँदैन । त्यसैले ती लत्रिन्छन्, बढारिन्छन् । तर, सतिसाल बलियो हुन्छ । त्यसमा आँधीहुरीको बिरुद्ध प्रतिरोध गर्ने पर्याप्त क्षमता हुन्छ । त्यसैले ऊ आँधीहुरीको कारण लत्रिँदैन, बढारिँदैन ।

यस अर्थमा चुनावी मोर्चामा नेकपाको असफलताको मुख्य कारण आफू कमजोर हुनु नै हो । विदेशी शक्ति केन्द्र तथा तिनका नेपाली दलालहरू जतिसुकै बलिया भए पनि तीभन्दा नेकपा झन् बलियो हुन्थ्यो भने उसले कदापि पराजय बेहोर्नुपर्ने थिएन । नेकपाको साङ्गठनिक स्थिति कमजोर हुनु नै ऊ कमजोर हुनुको कारण हो । प्रश्न उठ्छ, नेकपाको साङ्गठनिक स्थिति किन कमजोर भयो ? निश्चय नै सिद्धान्त, विचार, योजना, नीति, कार्यक्रम, नेता तथा कार्यकर्ताहरूको सिधा सम्बन्ध सङ्गठनसँग हुन्छ । पार्टीको सिद्धान्त, विचार, योजना र नीति, कार्यक्रम ठीक हुँदा हुँदै पनि नेता तथा कार्यकर्तामा देखिने सैद्धान्तिक, वैचारिक विचलन र त्यहीखाले नेता तथा कार्यकर्ताहरूको संगठनमा देखिने दबदबा नै नेकपाको आजको समस्या हो । नेकपाका कैयौँ नेता तथा कार्यकर्ताहरू पार्टीको क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी विचार, क्रान्तिकारी दृष्टिकोणबाट मात्र होइन; सामान्य कम्युनिस्ट मूल्य मान्यताबाट पनि पूर्णतः स्खलित र विचलित देखिन्छन् ।

त्यस प्रकारका नेता तथा कार्यकर्ताहरूले पार्टीभित्र हुने वैचारिक बहसलाई अनावश्यक ठान्छन् र त्यसलाई निषेध गर्दछन् । तिनीहरूको निम्ति सिद्धान्तका कुरा, विचार, दृष्टिकोणका कुराहरू उहिले कुनै जमानाका कुरा हुने गर्दछन् । बदलिएको परिस्थितिअनुसार आफूलाई बदल्ने र आधुनिक कम्युनिस्ट बन्ने नाममा उनीहरू आफू र पार्टी संगठनलाई बुर्जुवाकरण गर्न चाहन्छन् । कम्युनिस्ट पार्टीभित्र हुनुपर्ने चेन अफ कमान्ड, विधि, पद्धति र प्रक्रियाका कुराहरूका तिनीहरूले धज्जी उडाउँछन् । कम्युनिस्ट पार्टीको फलामे अनुशासन भनेको के हो ? यो प्रश्नप्रति उनीहरूको कुनै रुचि छैन । यो प्रश्नसँग उनीहरूको कुनै साइनो सम्बन्ध पनि छैन । यी कारणहरूले गर्दा नेकपा आफू कम्युनिस्ट पार्टी हुँदा हुँदै पनि कम्युनिस्ट पार्टी होइन कि जस्तो देखिँदै छ । यिनै कारणहरूले गर्दा नै नेकपाले सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, प्रगतिशील र देशभक्त नेपालीहरूलाई आफ्नो संगठनमा संगठित गर्न सकिरहेको छैन । यी कारणहरूले नै नेकपाको संगठन विशाल, सशक्त र जुझारु बन्न सकिरहेको छैन । समग्रमा नेकपाको साङ्गठनिक स्थिति यिनै कारणहरूले गर्दा कमजोर भयो । साङ्गठनिक स्थिति कमजोर हुनुको कारण नेकपा कमजोर भयो । नेकपा कमजोर हुनुको कारण उसले पछिल्लो चुनावी मोर्चामा अपेक्षित सफलता हात पार्न सकेन ।

यसका साथै, पार्टी एकताको क्रममा पूर्व–मुख्य पार्टीको हाईकमान्ड अस्वाभाविक ढंगले हौसिएर कैयौँ पक्ष र पूर्व–समूहले पेश गरेका फर्जी रिपोर्टलाई बिनाअध्ययन, अनुसन्धान सत्य मानेर आफ्नै नेता तथा कार्यकर्ताहरूको तेजोबध हुने गरी तिनीहरूलाई पार्टीको उच्च स्थानमा राखिनु तथा तिनैलाई लाभका पदहरूको अवसरहरूमा पनि उच्च प्राथमिकतामा राखिनु, मुस्किलले आधा दर्जन, कैयौँ त ‘वन मेन’ पार्टीका पृष्ठभूमिविहीन, हैसियतविहीन र क्षमताविहीन स्वघोषित नेताहरूलाई समेत पार्टी कमिटीमा प्रचण्ड, माधवकै समकक्षमा राखिनु तर पुराना, सक्षम, इमानदार र माथिल्लो हैसियतका नेता तथा कार्यकर्ताहरूको अवमूल्यन गरिनु, माथितिर एकताको हल्ला गर्दै हिंड्ने अनि तलतिर प्रशस्त समय हुँदा हुँदै पनि एकता र समायोजनको योजना नआउनु आदि इत्यादि कारण पनि पछिल्लो चरणमा नेकपाको संगठन निर्माण र विस्तारका निम्ति बाधक बने । यस प्रकारका बाधा अड्चनले पनि चुनावमा नेकपालाई सवल र सक्षम बन्न अवरोध गरेकै थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार