दुबई, कतार तथा बाहरेनमा पनि त्यस्तै प्रकारका पक्राउहरू गरिएको जनाइएको छ। पर्यटन तथा विदेशी लगानीमा निर्भर खाडी देशहरूले आफूहरूलाई सुरक्षित तथा विलासी गन्तव्यका रूपमा प्रस्तुत गर्दै आएका छन्।
“हामीले धेरै नै सचेत गराउने काम गरिरहेका छौँ। यहाँका नेपाली समुदायहरूलाई पनि अपुष्ट सामग्री शेअर नगर्न भनेर जानकारी दिइरहेका छौँ। तथापि कतिपय हाम्रा समुदायका सदस्यहरूमा चेतनाको कमी छ अनि फेरि हाम्रा समुदाय सामाजिक सञ्जालमा पनि सक्रिय छन्,” दाहालले बताएकी छन्।
कडा कानुन
त्यहाँको सरकारले सामग्रीहरूलाई सामाजिक सञ्जालमा शेअर नगर्न तथा कुनै हमलाबाट खसेका वस्तुहरू वरपर नजान भनिरहेको उनले सुनाइन्।
“साथै यहाँको सुरक्षा अलर्ट सन्देशहरूमा झ्यालतिर नबस्न अनि बाहिर भएको खण्डमा भित्र सुरक्षित रहन भनिरहेको हुन्छ।”
सरकारी चेतावनी अटेर गरेर फोटो भिडिओ शेअर गर्नेहरूलाई यूएईमा १ लाखदेखि २ लाख दिरहाम (करिब ४० देखि ८० लाख नेपाली रुपैयाँ) जरिबाना तथा १ देखि २ वर्षसम्म कैद सजाय हुन सक्ने कानुन रहेको उनले बताइन्।
यस्ता मामिलामा परेका कोही नेपालीलाईलाई कन्सुलर सेवा उपलब्ध गराउनु पर्यो भने त्यसबारे आफूहरूले परराष्ट्र मन्त्रालयको परामर्श लिने उनले बताइन्।
यूएईस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष भिम मल्ल ठकुरीले यस्ता मामिलामा बारम्बार जसो नेपालीहरू परिरहेका विवरण आफूले पाइरहेको बताए।
“यहाँको कानुनले गोपनियतालाई निकै प्राथमिकता दिन्छ। भर्खर नेपालबाट आएकाहरूले अन्जानमा फोटो भिडिओ शेअर गर्दा देशनिकाला वा डिपोर्ट गरिएका छन्। मलाई नै कैयन् नेपालीहरूले यसरी डिपोर्ट हुनु परेको बताएका छन्,” उनले भने।
गैरआवासीय नेपाली सङ्घ यूएईका तर्फबाट आफूहरूले नेपाली समुदायका मानिसहरूलाई त्यहाँको कानुनबारे जानकारी गराइरहेको पनि उनले बताए।
“नेपालीहरूलाई आधिकारिक सूचनाहरूमात्र पछ्याउन अनि अनावश्यक होहल्ला नगर्न भनेर पनि दूतावास तथा एनआरएनएहरूले भन्दै आइरहेका छन्,” यूएईको गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष विकास शाहीले बताए।
उनले स्थानीय कानुनहरू कडा भएको र तिनको पालना नगर्दा अप्ठेरो आइपर्ने बारे मानिसहरूलाई सचेत गराइरहेको जानकारी दिए।
फेब्रुअरी २८ मा अमेरिका र इजरेलले इरानमा हमला गरेपछि सुरु भएको युद्धका कारण ती क्षेत्रमा रहेका १८ लाख नेपालीहरू (सरकारी आँकडाअनुसार) पनि प्रभावित भएका छन्।
जारी युद्धको संवेदनशील समयमा ती नेपालीहरूलाई संयमित, सचेत र संयमित रहन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ।
“यस विषम परिस्थितिमा पश्चिम एसिया क्षेत्रमा रहनुभएका सबै नेपाली नागरिकहरूलाई अत्यन्त संयमित, सचेत र सजग रहन र कानूनविपरीत कुनै किसिमका फोटो, भिडियो तथा अडियो सामग्रीहरू रेकर्ड गर्ने र आदान-प्रदान गर्ने कार्य नगर्नु हुन परराष्ट्र मन्त्रालय पुनः अनुरोध गर्दछ,” मन्त्रालयले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अरू देशले पनि आफ्ना नागरिकहरूलाई सचेत गराइरहेको छ।
यसै साता दुबईमा एकजना ६० वर्षीय ब्रिटिश पुरुषलाई इरानी क्षेप्यास्त्रको भिडिओ खिचेको आरोप लागेपछि यूएईस्थित ब्रिटिश दूतावासले आफ्ना नागरिकहरूलाई त्यहाँको कानुन तोड्ने गरी इरानी क्षेप्यास्त्रका प्रभावबारे फोटो खिच्ने वा शेअर गर्ने काम नगर्न सजग गराएको थियो।
ती पर्यटकको फोनमा क्षेप्यास्त्र हमलाको भिडिओ पाइएपछि उनलाई हिरासतमा लिइएको थियो।