शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

रुकुमपश्चिमको बाँफिकोटस्थित सानीभेरी नदीमा दुई किशोरीको शव फेला

मंगलबार, फाल्गुन २६ २०८२

रुकुमपश्चिम। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदीमा दुई किशोरीको शव फेला परेको छ ।

आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

करिब पाँच सय मिटर फरक दूरीमा दुई शव फेला परेको बताइएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार शवको पहिचान समेत भएको छ ।

शवहरू बाँफिकोट गाउँपालिका –३ गरालागोठ निवासी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओलीको रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । भेरी नदी किनारमा तैरिएको अवस्थामा शव फेला परेका हुन् ।

उहाँका अनुसार सोमबार बेलुका तीन जना किशोरी छिमेकी गाउँको विवाहमा जान भनेर घरबाट निस्किएका थिए ।।

विवाहबाट फर्किने क्रममा उनीहरु बेपत्ता भएका थिए । उनीहरूको साथमा गएकी १३ वर्षीया सपना ओलीको भने अवस्था अज्ञात रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।

विवाहबाट फर्कँदै गर्दा भेरी नदीले बगाएको हुन सक्ने आशङ्का गरिएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट निरीक्षक पुनको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ ।

यस अघि अस्थायी प्रहरी पोष्ट छिनखेतबाट पनि प्रहरी छोली घटनास्थलमा खटिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार