आइतबार, फाल्गुन २४ २०८२
विश्व इतिहासले एउटा स्पष्ट कुरा देखाउँछ; राजनीति उमेरले होइन, अनुभव, दृष्टि र चरित्रले चल्छ। राजनीति कुनै पाठ्यपुस्तक पढेर सिकिने विषय मात्र होइन, यो त अभ्यास र अनुभवले परिपक्व हुने कला हो। त्यसैले संसारका धेरै देशहरूमा नेतृत्व पाका उमेरकै हुन्छ।
तर, नेपालमा भने केही वर्षदेखि राजनीतिक बहसको पहिलो एजेन्डा नै “उमेर” बन्न पुगेको छ। “अब बूढाहरूले बाटो छोड्नुपर्छ” भन्ने स्वर बढ्दै गएको छ। यसको कारण केवल पुस्ता परिवर्तनको चाहना मात्र होइन, पछिल्ला दुई दशकको राजनीतिक अनुभवप्रतिको गहिरो निराशा पनि हो जुन बारम्बार नकारिएको थियो।
२०६२/६३ को परिवर्तन : ठूलो आशा, ठूलो अपेक्षा
२०६२/६३ को आन्दोलनपछि देशमा एउटा नयाँ आशा जन्मिएको थियो। राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना भयो, जनताको शासन भनियो। धेरैलाई लाग्यो कि अब राज्य वास्तवमै जनताको हुनेछ, सत्ता जनताको प्रतिनिधिहरूले जिम्मेवार ढंगले चलाउनेछन्।त्यो समयमा राजसंस्थाको विरुद्धमा यति ठूलो प्रचार भयो कि राजाले देशको अरबौं–खरबौ सम्पत्ति विदेशमा लुकाएर राखेका छन्, त्यो सम्पत्ति फिर्ता ल्याइनेछ र देश समृद्ध हुनेछ भन्ने सम्मको कथा फैलाइयो जस्ले आन्दोलनलाइ थप उर्जा पनि दियो , जनताले त्यो कुरा विश्वास पनि गरे। परिवर्तनका नाममा जनताले ठूलो राजनीतिक जोखिम लिएका पनि थिए, तर गणतन्त्र स्थापनापछि दुई दशक पुग्न लाग्दा जनताको अनुभूति फरक हुन थाल्यो, सत्ता बदलिए पनि शासन शैली खासै बदलिएन बरु अझ दयनिय हुन थालेको महसुस गरियो।
गणतन्त्रपछि देखिएका ठूला भ्रष्टाचार प्रकरणहरू
नेपालको पछिल्लो राजनीतिक इतिहास हेर्दा भ्रष्टाचारका चर्चित घटनाहरू लामै सूचीमा छन्।
ललिता निवास काण्ड जसमा प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा नै निजी व्यक्तिको नाममा दर्ता भएको प्रकरण आयो।
वाइड बडि काण्ड जसमा, नेपाल वायुसेवा निगमले विमान खरिद गर्दा भएको अर्बौंको अनियमितता र त्यो आवाज र बिरोधमा मात्र सिमित हुनु।
भुटानी सरणार्थी काण्ड जसमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुलिएको काण्ड आयो जसमा राजनितिक संलग्नताको लामो डोरि जोडियो।
ओम्नि ग्रुपको कोभिड महामारीको बेला स्वास्थ्य सामग्री खरिदमा भएको विवाद पनि जटिल रुपले बाहिर आयो तर सम्बोधन हुन सकेन।
किलो किलो हुँदै क्विन्टल सुन तस्करिका काण्ड जहा त्रिभुवन विमानस्थल हुँदै ठूलो परिमाणमा सुन तस्करी भएको घटना।
यी त केही उदाहरण मात्र हुन्। हरेक सरकार बदलिँदा नयाँ भ्रष्टाचार काण्ड सार्वजनिक हुने क्रमले जनतामा एउटा प्रश्न जन्मायो कि के परिवर्तन वास्तवमै व्यवस्था बदल्नका लागि थियो कि केवल सत्ता बदल्नका लागि र आ आफ्ना स्वार्थ पुर्ती गर्न।
विश्व राजनीतिमा उमेर होइन, क्षमता मापन हुन्छ
आज विश्वका धेरै शक्तिशाली देशहरूमा पाका उमेरका नेताहरू नेतृत्व गरिरहेका छन्। अमेरिकामा डोनाल्ड ट्रम्प ७९ वर्ष पार गरिसकेका नेता हुन्, भारतमा नरेन्द्र मोदि पनि सात दशक पार गरेका अनुभवी नेता हुन् यस्तै रुसमा भ्लाडिमिर पुटिन दुई दशकभन्दा बढी समयदेखि प्रभावशाली राजनीतिमा छन् जो युवा हैनन नै, चिनका सि जिङ्ग पनि परिपक्व उमेरकै नेता हुन्।तर ती देशहरूमा कसैले “उमेर पुगेको छ, अब राजनीति छोड” भनेर मात्र बहस गर्दैन। त्यहाँ बहस हुन्छ त नीति कस्तो छ, निर्णय कस्तो छ, परिणाम कस्तो छ।
नेपालमा भने किन “उमेर” नै राजनीतिक बहसको विषय बन्यो?
यसको मात्र एक कारण छ जुन उमेर होइन, निराशा हो, बर्षौ देखि पालिएको निराशा। जब नेतृत्व वृद्ध भयो, सोच पुरानो हुँदै गयो , अझ घातक र दम्भि हुन गयो। नेपालमा समस्या बूढो हुनु होइन, बूढो सोच हुनु हो, एकात्मक हुनु हो। धेरैजसो नेतृत्वले राजनीति सेवा भन्दा पनि शक्ति र स्वार्थको माध्यम बनाएको आरोप जनताले बारम्बार लगाउँदै आएका छन्। आफ्ना मान्छेलाई मात्र अवसर दिने, आलोचकलाई किनारा लगाउने, प्रतिशोधको राजनीति गर्ने प्रवृत्ति बलियो हुँदै गयो।
यसले गर्दा धेरै योग्य, अध्ययनशील र इमानदार मानिसहरू राजनीतिक पार्टीभित्रै टिक्न नसक्ने अवस्था आयो। कति बौद्धिक व्यक्तिहरू पार्टीभित्र अवसर नपाएर बाहिरिए, कति विदेश पलायन भए, कति राजनीति नै छोडेर बसे। यो नेपाली राजनीतिमा आएको सबैभन्दा ठूलो बौद्धिक क्षति हो।
रास्वपाको उदय : कोर्स परिवर्तन कि कोर्स करेक्सन ?
यही निराशाको बीचबाट रास्वपाको को उदय भयो अनि छोटो समयमा नै रास्वपाको चुनावी सफलता केवल एउटा पार्टीको जित मात्र होइन, जनताले दिएको सन्देश पनि हो कि “हामी विकल्प खोजिरहेका छौं।” यसलाई धेरैले परिवर्तन भन्छन्, केहीले कोर्स करेक्सन। वास्तवमा हेर्दा यो पुरानो राजनीतिलाई दिइएको चेतावनी पनि हो।
यो परिवर्तनले के राम्रो हुन सक्ला त!
उत्साहित रुपले अब राजनीतिमा नयाँ पुस्ताको प्रवेश बढ्न सक्छ , सुध्रन चाहने मनाशय भए पुराना दलहरू आत्मसमीक्षा गर्न बाध्य हुन सक्छन, पारदर्शिता र उत्तरदायित्वको बहस बलियो हुन सक्छ किनकी भ्रष्टाचारको चाङ्ग छ भन्ने बहस त आइ रहेको हो। नेपालमा गरिखाने स्तरका नागरिकको राजनितिमा सहभागिता बिरलै भएको छ अब यो परिवर्तनले राजनीतिक चेतना बढाउन सहयोग भने पुर्याउछ।
भय रहित हुन सक्ला त यो परिवर्तन ?
निराशाको बादलमा रुमल्लिएका हामी नेपालिले ल सब ठिक हुन्छ भनी हाल्ने अवस्था भने छैन। हामिले परिवर्तनमात्र भन्ने हैन किनकी नयाँ शक्ति आउँदा चुनौती पनि सँगै आउँछ। अनुभवको अभावले निर्णय प्रक्रियामा कमजोरी देखिन सक्छ भने नेपालिको अत्याधिक अपेक्षा गर्ने आदतले निराशा चाँडै जन्माउन सक्छ। नयाँ पार्टीभित्र आखिर स्कुलिङ्ग पुरानै पार्टिका ज्यादा छन जसले नयामा पनि पुरानै प्रवृत्ति प्रवेश गर्ने जोखिम हुन सक्छ, आखिर विश्व राजनीतिमा यस्ता उदाहरण धेरै उदाहरण छन जसको भय नकार्न सकिन्न। आन्दोलनको ऊर्जा संस्थागत संरचनामा रूपान्तरण गर्न नसके धेरै आन्दोलनहरू समयसँगै कमजोर पनि भएका छन्, नेपाली परिप्रेक्षमा नै मावोवादी आन्दोलनलाइ उदाहरण मानव सकिन्छ।
संयमित भएर मनन गर्न पर्ने कुराहरु।
नेपाल अहिले एउटा संक्रमणकालीन मोडमा छ। यो कुनै एक पार्टीको विजय मात्र होइन, जनताको धैर्यको सीमा फुटेको पनि हो। राजनीति समयअनुसार बदलिनै पर्छ। विचार, नीति, नेतृत्व शैली सबै परिवर्तन हुनुपर्छ। हामिले झोला बोक्नै पर्छ तर त्यो झोला इमानदारी, आचरण र समृद्ध सोचको झोला हुनुपर्छ तर कुनै नेताको होइन। समयले नै बताउनेछ कि रास्वपाको यो जित वास्तविक परिवर्तनको सुरुवात हो कि केवल नेपाली राजनीतिमा आएको एउटा कोर्स परिवर्तन । हर एक नेपालिले यो परिवर्तनलाई सकारात्मक रुपले मनन गर्दै खबरदारी सहितको आशा भने जगाउन जरुरी छ किनकि यति निश्चित छ; नेपाली जनताले अब हेपाहा राजनीति पहिले जस्तो चुपचाप सहेर बस्ने छैनन्, आफ्नो आवाज दबाउने छैनन।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij