-बालकुष्ण
टोकियो। सिनओकुबो ।जापानको सांगीतिक इतिहासमा एउटा नयाँ अध्याय थप्नका लागि चर्चित गायक सज्जनराज वैद्य १५ सदस्यीय कलाकारको टोलीसहित टोकियो आइपुगेका छन्। हानेदा विमानस्थलमा ओर्लिएका उनीहरूलाई आयोजक समितिका संयोजक बिरेन्द्र शाही, पत्रकार तिलक मल्ल र डिजे जोन छन्त्याल लगायतको टोलीले भव्य स्वागत गरेसँगै कन्सर्टको सरगर्मी सुरु भएको छ।
यही आगामी मार्च १० तारिख मंगलबारका दिन जापानको प्रसिद्ध योयोगी नेशनल स्टेडियममा यो विशेष सांगीतिक समारोह आयोजना हुँदैछ। तन्नेरी पुस्ताका प्रिय कलाकार सज्जनराजको यो पहिलो जापान भ्रमण भएकाले पनि त्यहाँ रहेका नेपाली समुदायमाझ निकै ठूलो उत्साह र प्रतीक्षा देखिएको छ। आयोजकका अनुसार यसपटकको कन्सर्टमा करिब ४ हजार दर्शकको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ, जसले गर्दा आगामी मंगलबार टोकियो सहर पूर्ण रूपमा नेपाली संगीतको लहरले गुञ्जायमान हुने देखिन्छ।
यस भव्य कार्यक्रमको नेतृत्व जिएमटी इन्टरनेशनल क. लि. ले गरेको छ भने रिलायबल लाईफ इन्स्युरेन्सले मुख्य प्रायोजकको रूपमा साथ दिएको छ। यसका साथै येहे रेमिट्यान्स, समुद्रपारि डट कम, डिसी क्रियशन र डिएनएस कम्पनी जस्ता संस्थाहरूले विभिन्न विधामा साझेदारी गर्दै यो ऐतिहासिक यात्रालाई सफल बनाउन भूमिका खेलिरहेका छन्। आफ्नै ब्याण्डसहित पहिलोपटक जापानी मञ्चमा उत्रन लागेका सज्जनराजको यो प्रस्तुतिले नेपाली सुगम संगीतको सुवासलाई प्रवासमा अझै गाढा बनाउने विश्वास गरिएको छ।