शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनआरएनएको अधिवेशन सार्नुपर्ने आवाज थुन्ने प्रयास

एनआरएनएमा विधान मिचेर निर्वाचन गराउने खेलले विवाद चर्कियो

बिहिबार, फाल्गुन २१ २०८२

काठमाडौँ ,गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्ने भनिएको मिती नजिकिँदै गर्दा संस्थाभित्रको आन्तरिक कलह र वैधानिक संकट उत्कर्षमा पुगेको छ । आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने भनिएको ‘बृहत एकताको महाधिवेशन’ भनिए तापनि संस्थाभित्रका गम्भीर त्रुटी र विधानको धज्जी उडाउने कार्यले एकताभन्दा पनि विभाजन र विवादको बीउ रोपेको छ ।
पछिल्लो समय निर्वाचन प्रक्रियामा देखिएका अपारदर्शी गतिविधि र विधान विपरीतका कदमहरूले गर्दा चुनाव सार्नुपर्ने माग चौतर्फी रूपमा उठेको छ, तर निर्वाचन समिति र संस्थापन पक्षका केहिले भने ती आवाजहरूलाई थुन्ने प्रयास गरिरहेको देखिएको छ ।
निर्वाचन समितिले हालै प्रकाशित गरेको सूचनाले संस्थाभित्रको भद्रगोल अवस्थालाई छताछुल्ल पारेको छ । समितिका अनुसार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका भएतापनि प्रारम्भिक नामावलीमाथि परेका दाबी विरोध र छानबिनका कारण समयमा नामावली सार्वजनिक हुन सकेन । यसले निर्वाचनको आधारभूत तयारी नै फितलो रहेको र धाँधलीको आशंकालाई थप बल पुर्‍याएको छ । निर्वाचन आयुक्त तेज बहादुर कार्कीद्वारा जारी सूचनाले समय थप गरिएको बताए पनि मतदाताहरूको वैधानिकतामाथि उठेका प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।
यसैबीच, एनआरएनएका उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार रोबिन प्रसाद शेरचनले परराष्ट्र मन्त्रालयमा उजुरी दिँदै हालको निर्वाचन प्रक्रिया नै अवैध रहेको बताएका छन् । शेरचनले संस्थामा कति सदस्य पञ्जीकृत छन् भन्ने आधिकारिक विवरण नै सार्वजनिक नगरी सिधै मतदाता नामावली निकाल्नुले ठुलो आर्थिक र प्रशासनिक अनियमितताको संकेत गर्ने बताए । शेरचनले मात्रै होईन ९ उपाध्यक्ष,२ महासचिवलगाएत ९५% पदाधिकारी र अभियन्ताहरुले अधिवेशन स्थगित गर्न बिज्ञप्ती नै जारी गरेका छन । विधानअनुसार सदस्यता शुल्क नबुझाएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई समेत मतदाता सूचीमा समावेश गरिनुले संस्थालाई विधानसम्मत भन्दा पनि व्यक्ति विशेषको स्वार्थमा चलाउन खोजिएको उनिहरुले बताएका छन । विधानको अनिवार्य व्यवस्थाअनुसार निर्वाचन हुनुभन्दा ३० दिन अगाडि मतदाताको अन्तिम टुङ्गो लागिसक्नुपर्ने प्रावधानको समेत यहाँ चरम उल्लङ्घन गरिएको र जसले गर्दा यो निर्वाचन प्रक्रिया कानुनी रूपमै अवैध हुने जोखिम बढेको उनिहरुले बताए ।
तेतिमात्रै नभएर मध्यपुर्वको युद्दका कारण एयर्पोर्ट बन्द हुदा मध्यपुर्वका ७ देश,युरोप र अमेरिकाज रिजन नै प्रभावमा परेका छन । उनिहरु आउनै सक्ने अवस्था नभएकोले यो अधिवेशन जुनै पनि हालतमा स्थगित गर्नुपर्ने अभियन्ताहरुले बताएका छन ।
संस्थाभित्रकै जिम्मेवार पदाधिकारीहरूले समेत अहिलेको अवस्थामा चुनाव गराउनु आत्मघाती हुने चेतावनी दिइरहेका छन् । एनआरएनएका प्रवक्ता तथा स्टेयरिङ कमिटीका सदस्य गंगाधर गौतमले वर्तमान विवादको समाधान नगरी चुनावमा होमिनुले संस्थालाई थप संकटमा धकेल्ने बताएका छन् । गौतमका अनुसार एनआरएनएको मर्यादा र गरिमा बचाउनका लागि पहिले देखिएका तमाम प्राविधिक र वैधानिक जटिलताहरू हल गरिनुपर्छ । “अहिलेको अवस्थामा विवाद समाधान नगरी चुनाव हुनु हुन्न । यदि भयो भने संस्थामा थप समस्या आउँछ,” गौतमले भने, “यो कुरा बुझेर नेतृत्वले तत्काल चुनाव सार्ने निर्णय गर्नुपर्छ ।”
गौतमले धेरै एनसीसीहरुमा दुई कार्यसमिति रहेकोले साधारण सदस्यहरु र डेलिगेट्सहरुकै नाम अझै अन्योलमा रहेको बताए । उनले एनसीसीहरुले पठाएको नामावली मनोपोली रुपमा आफुखुशी गरिनु अधिवेशनको उपहास भएको बताए ।
मध्यपूर्वमा विकसित असहज परिस्थिति र संस्थाभित्रको आन्तरिक कलहका बीच जबरजस्ती निर्वाचन गराउन खोज्नुले लोकतान्त्रिक मूल्य र प्राकृतिक न्यायको सिद्धान्तको समेत उपहास गरेको छ ।
सबै उम्मेदवारहरूलाई समान अवसर दिनुको सट्टा हतारमा प्रक्रिया अघि बढाएर असन्तुष्ट पक्षको आवाज थुन्ने रणनीति अपनाइएको देखिन्छ । परराष्ट्र मन्त्रालयमा परेको उजुरी र संस्थाभित्रबाटै उठेका विरोधका स्वरहरूले गर्दा अबको निर्वाचनको भविष्य अन्यौलमा परेको छ । यदि नियमनकारी निकायले समयमै हस्तक्षेप गरी कुल पञ्जीकृत सदस्यहरूको प्रमाणीकरण र अवैध मतदाताहरूको छानबिन नगर्ने हो भने, एनआरएनएको १२ औं महाधिवेशन एकताको होइन, थप कलहको थलो बन्ने निश्चित रहेको अभियन्ताहरुको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार