काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ अधिवेशन रोक्न माग गर्दै संस्थाका पूर्व सल्लाहकार तथा अभियन्ता विमल सुवेदीले गम्भीर आपत्ति जनाएका छन्। उनले संस्थाभित्र विद्यमान विवादको यथोचित समाधान नगरी गरिने अधिवेशन “टालटुलको अभ्यास मात्र” हुने चेतावनी दिएका छन्।
सुवेदीका अनुसार एनआरएनएभित्र देखिएको विभाजनको जरो नै प्रतिनिधि चयन प्रक्रियामा विधि, विधान र पद्धति उल्लंघन हुनु हो। अधिवेशन प्रतिनिधि छनोट पारदर्शी र संस्थागत मापदण्डअनुसार नभएकै कारण पहिलो पटक विभाजनको बीउ रोपिएको उनको दाबी छ।
उनले अधिवेशन भौतिक गर्ने कि अभौतिक भन्ने विवाद, नेतृत्वबाट औपचारिक रूपमा बाहिरिए पनि संस्थामाथि प्रभाव कायम राख्न खोज्ने ‘सिनियर’ व्यक्तित्वहरूको शक्ति संघर्ष, र आर्थिक चलखेलजस्ता कारणले संस्था पटक–पटक संकटमा फस्दै आएको उल्लेख गरेका छन्। “एकै कार्यकालमा तीन–चार अध्यक्ष बन्ने अवस्थासम्म पुग्नु संस्था कमजोर हुनुको ज्वलन्त उदाहरण हो,” सुवेदीले भनेका छन्।
यसअघि विवादकै कारण एक पटक मिति सारिएको अधिवेशन नजिकिँदै गर्दा पनि पुराना विवाद यथावत रहनु दुर्भाग्यपूर्ण भएको उनले जनाएका छन्। “समस्या ज्यूँका त्यूँ राखेर ‘एकताको अधिवेशन’ भन्नु आत्मविरोधी कुरा हो,” उनले स्पष्ट पारेका छन्।
सुवेदीले सबै पक्षको भावना समेट्ने स्पष्ट नीति तय नगरी अधिवेशन गर्नु संस्थाको दीर्घकालीन हितमा नहुने उल्लेख गरेका छन्। विशेषगरी मध्यपूर्व क्षेत्रका संरचनागत र व्यवहारिक जटिलतालाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उनको माग छ।
“अधिवेशन गर्नु मात्रै महत्वपूर्ण होइन, समस्याको सही सम्बोधन गर्नु नै मुख्य कुरा हो,” उनले भनेका छन्, “केही समय लागे पनि विवाद समाधान गरेर मात्रै एकताको अधिवेशन गर्नुपर्छ, अन्यथा अहिले प्रस्तावित अधिवेशन संस्थाको बृहत् हितमा छैन।”
सुवेदीले सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्वलाई संस्थागत हितलाई केन्द्रमा राखेर ‘चट्टानी एकता’ कायम गर्ने दिशामा अघि बढ्न आग्रह गरेका छन्।