शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मध्यपूर्व युद्धको भूमरीमा : नेपालीलाई सुरक्षित रहन सरकारको आग्रह, उडान रद्द हुँदा हजारौं अलपत्र

शनिबार, फाल्गुन १६ २०८२

काठमाडौं(जस)–इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि मध्यपूर्वमा क्षेत्रीय तनाव उत्कर्षमा पुगेको छ । आक्रमण अमेरिकाले इरानमाथि आणविक सम्झौताका लागि दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोतहरू तैनाथ गरिरहेको अवस्थामा भएको हो । इजरायलले अमेरिकासँग मिलेर शनिबार बिहान राजधानी तेहरानसहित इरानका १० सहरमा हवाई आक्रमण गरेको हो । आक्रमणमा इरानमा ठूलो मानवीय हाताहाती भएकोे बताइएपनि अहिलेसम्म स्पष्ट तथ्यांक भने सार्वजनिक भएको छैन् ।
आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडिओ सन्देश जारी गर्दै इरानविरुद्ध हमला अमेरिकी नागरिकको सुरक्षाका लागि भएको बताएका छन् । जवाफमा इरानले पनि इजरायलविरुद्ध झन्डै ४०० वटा मिसाइल प्रहार गरेको छ भने कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईमा रहेका अमेरिकी आधार शिविरलाई निसाना बनाएको छ । साथै इरानले यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईमा पनि आक्रमण गरेको छ ।
मध्यपूर्वमा बढेको तनावका कारण नेपालीहरुका लागि प्रमुख वैदेशिक रोजगारीका गन्तब्य मुलुका रुपमा रहेका मध्यपूर्वमा रहेका लाखौं नेपालीका बारेमा चिन्ता बढेको छ । यसैबीच नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार ‘एडभाइजरी’ जारी गर्दै इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
एडभाइजरीमा भनिएको छ,“सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् । सम्बन्धित निकायको पूर्वस्वीकृति बिना अनावश्यक यात्रा नगर्नुहोस् । काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अविवस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस् ।” इजरायल वा इरान भ्रमण गर्ने योजना बनाइरहनुभएका नेपाली नागरिकलाई हालको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । अन्य मध्यपूर्वी देशहरूमा बसोबास तथा कार्यरत नेपाली नागरिकलाई त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिँदै सम्बन्धित देशका निकायले जारी गरेका सावधानीका उपाय पालना गर्न मन्त्रालयको अनुरोध छ ।
त्यस्तै, सम्बन्धित निकायको पूर्वस्वीकृति बिना यात्रा नगर्न मन्त्रालयले सचेत गराएको छ । काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन मन्त्रालयले आग्रह गरेको छ । इजरायल वा इरान यात्रा गर्ने योजना बनाइरहेका नेपाली नागरिकलाई अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न मन्त्रालयले सुझाव दिएको छ । साथै, मध्यपूर्वका अन्य देशहरूमा रहेका नेपाली नागरिकलाई पनि त्यहाँको विकसित अवस्थाबारे जानकारी राख्दै सम्बन्धित देशका निकायहरूले सुझाएका सावधानी अपनाउन आग्रह गरिएको छ । परराष्ट्र मन्त्रालयले क्षेत्रीय अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ ।
अन्तराष्ट्रिय उडान रद्द
हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तराष्ट्रिय उडान रद्द भएका छन् । सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए । उनले भने, ‘सारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् । उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ ।’ यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ ।
यसैबीच मध्यपूर्व क्षेत्रमा देखिएको तनावका विषयमा नागरिक उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिक्रिया दिएको छ । प्राधिकरणले हवाई क्षेत्र प्रतिबन्धको हालैको अवस्थाको बारेमा विचार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा प्रवाह गर्ने अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालकहरूसँग नजिकको समन्वयमा रहेको जनाएको हो । अन्तर्राष्ट्रिय यात्रासम्बन्धी कुनै पनि विषय भएमा तत्कालै अद्यावधिक गर्ने प्राधिकरणले जनाएको छ । अहिलेसम्म कुनै पनि उडान रद्द गर्ने गरी सूचना नआएको समेत प्राधिकरणले प्रस्ट पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार