आज देशमा प्रजातन्त्र घोषणा भएको दिन । आजकै दिन २००७ सालमा नेपालमा प्रजातन्त्र घोषणा भई १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । जहानीयाँ राणा सशानका विरुद्ध २००७ सालमा ठुलो क्रान्ति भएको थियो । उक्त जनक्रान्तिमा देशका होनहार युवाहरु दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई राणाहरुले हत्या गरेका थिए । राणा शासनको समय देश अन्धकारमय थियो । जहानीय राणा र तिन सन्तानले जनतालाई बुटले कुल्चिएर शासन सत्ता चलाएका थिए । उनीहरुकाविरुद्ध ठाडो शिर उठाएर जनताले बोल्न त के कुनै पनि अधिकार जनतालाई थिएन । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरुमा उनीहरुको मात्रै अधिकार थियो । यसैका विरुद्ध जनतालाई चार प्रमुख सहिदहरुले सचेत बनाए, जनता जगाए । आज हामी लोकतन्त्र, गणतन्त्र वा समाजवाद जे भनिरहेका छौँ त्यसको जग नै प्रजातन्त्र हो । लोकतन्त्र, गणतन्त्र र समाजवादको जनजनी नै प्रजातन्त्र हो । प्रजातन्त्रको उन्नत रुप नै लोकतन्त्र र गणतन्त्र हुन् ।
यो दिन नेपाली जनताको संघर्ष र बलिदानबाट मुलुकमा प्रजातन्त्र छाएको खुसीयालीमा सरकारी तथा सामाजिकस्तरमा विभिन्न कार्यक्रम गरी मनाइने एक ऐतिहासिक राष्ट्रिय पर्व हो । वि।सं। २००७ साल फागुन ७ गते राजा त्रिभुवन र राजनीतिक दलहरू ९मुख्यतः नेपाली कांग्रेस० को संयुक्त प्रयासमा राणा शासन अन्त्य भएको थियो । यस दिनले रैतीबाट नागरिक बनेको र जनताको हातमा शासन शक्ति आएको दिनका रूपमा सम्मान व्यक्त गर्दछ । आजको दिन सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोहका साथै देशभर र विदेशस्थित नेपाली दूतावासहरूमा कार्यक्रमहरू आयोजना गरि मनाउने गरिन्छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले फागुन ७ गते सार्वजनिक बिदा समेत दिने गरेको छ । प्रजातन्त्र दिवसको जगमा नै नेपालमा लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।
तर प्रजातन्त्र आएको ७० दशकमा पनि अझै जनता भने अधिकारसम्पन्न भइसकेका छैनन् । जताततै भ्रष्टाचारले जरा गाडेको छ, परिवारवादले देशको सबै क्षेत्र नराम्ररी गाँजेको छ । बेरोजगार, उपचारको अभाव, महंगी र सरकारको ढिलासुस्तीले गर्दा जनता आजित भएका छन् । प्रजातन्त्र स्थापनापछि पनि देशमा धेरै ठूला राजनीतिक परिवर्तनहरु भएका छन् । परिवर्तनका लडाईँमा नेपाल आमाका हजारौँ छोराछोरीहरुले रगत बगाउनु परेको छ । पटक पटक प्रजातन्त्रमाथि प्रहार हुँदा निर्दलीय पञ्चायतका विरुद्ध आन्दोलन, निरंकुश राजतन्त्र विरुद्ध आन्दोलन, सशस्त्र जनयुद्ध र २०६२/०६३ सालको दोस्रो जनआन्दोलन भए । ती आन्दोलन र युद्धमा उत्तिकै मानिसहरुको ज्यान गयो, कैयौँ घाइते र बेपत्ता भए । त्यसको बावजुद देशमा बहुदलीय व्यवस्थाहुँदै आज हामीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता संविधानतः प्राप्त गरेका छौं । केही तत्वहरु अझै देशमा राजतन्त्र ल्याउने कुचेष्टा गरिरहेका छन् । त्यसकाविरुद्ध निरन्तर संघर्ष र जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहनु परेको छ । देश विकाशको काममा लाग्नुपर्ने नेताहरु पटक पटक संविधान बचाउने र बनाउने कार्यमै लाग्नुपर्दा देशका युवाशक्तिहरु विदेश पलायन भइरहेका छन् । खेतबारीहरु बाँझो हुँदा देश रेमिट्यान्समा धानिनुपर्ने अवस्था सिर्जना भएको छ ।
अतः वर्षको एक दिन प्रजातन्त्र दिवस मनाएर मात्रै देश समृद्ध हुँदैन । त्यसका लागि सरकार, राजनीतिक दल, नागरिक समाज र प्रेस जगतले आ–आफ्नो क्षेत्रबाट निरन्तर अभियानमूलक कार्यहरु गरिहनुपर्छ । प्रजातन्त्रमा नैं जनताले मतदनानमार्फत चुनेर पठाएका प्रतिनिधिहरुले जनताका देश र जनताका पक्षमा काम गर्नुपर्छ । होइन भने प्रजातन्त्र मासेर पुनः पुरानै व्यवस्थामा देशलाई फकाउने कुचेष्टा गर्नेहरु हावी हुनसक्छन् । यसका लागि सरकारले राम्रो काम गरेर जनताको मन जित्न जरुरी छ ।