काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार सुदूरपश्चिमको धनगढीमा राजनीतिक शक्ति प्रदर्शन गरेको छ। ‘परिवर्तन उद्घोष’ नाम दिइएको विशाल सभालाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले आगामी फागुन २१ गतेलाई पुराना राजनीतिक दलहरूको ‘सटर’ बन्द गर्ने निर्णायक दिनका रूपमा घोषणा गरे।
ठुलो सङ्ख्यामा उपस्थित जनसागरलाई सम्बोधन गर्दै उनीहरूले अबको निर्वाचनमा इतिहास लेख्न र परिवर्तनको पक्षमा निर्धक्क भएर मतदान गर्न आह्वान गरे।
सभालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पुराना दलहरूले दशकौँसम्म सत्ता चलाए पनि जनताको अवस्था नफेरिएको भन्दै आक्रोश व्यक्त गरे। उनले फागुन २१ गते पुराना दलहरूको सटर पूर्ण रूपमा बन्द गरिदिने दाबी गरे। “बाचा गर्ने तर पूरा नगर्ने नेताहरूले गर्दा जनताले वर्षौँसम्म सजाय भोग्नुपर्ने अवस्थाको अब अन्त्य हुनुपर्छ,” लामिछानेले भने, “अब जसले बाचा पूरा गर्दैन, उसले सजाय पाउनुपर्छ। यो पटकको मत नबाँड्नुहोला, आफ्नो निष्ठाको सम्मान गर्दै राष्ट्रिय अवसर पूरा गर्न परिवर्तनको पक्षमा भोट हाल्नुहोस्।” उनले सिंहदरबार जलेको कुरा मात्र गरेर नहुने भन्दै अब सिंहदरबारको कार्यशैली नै बदलेर छोड्ने प्रतिबद्धता जनाए। पुराना दलहरूले ३५ वर्षसम्म काम नगरेको आरोप लगाउँदै सुदूरपश्चिमका मेडिकल, शिक्षा र स्वास्थ्यका समस्या समाधान गर्ने जिम्मा अब रास्वपाले लिने उनको तर्क थियो।
यसैगरी, रास्वपाका वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमको स्थानीय लवजमा सम्बोधन सुरु गर्दै उपस्थित समुदायको मन जिते। उनले आफूले सुदूरपश्चिम र सिंगो देश बनेको सपना देखेको र त्यो सपना पूरा गर्ने एक मात्र शक्ति रास्वपा भएको दाबी गरे। खल्तीमा पैसा नभएका विपन्न र गरिबले गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार पाउनु नै आफ्नो पार्टीको मुख्य एजेन्डा भएको उनले प्रस्ट पारे। विकास निर्माणमा हुने ढिलासुस्तीप्रति कडा टिप्पणी गर्दै बालेनले भने, “दुई वर्षमा बन्ने बाटो २० वर्षसम्म पनि नबन्ने अवस्था छ। अब रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर वा खोरमा जाकेर हुन्छ, डेढ वर्षभित्रै बाटो बनाउनुपर्छ।”
बालेनले सुदूरपश्चिमलाई उपेक्षा गर्ने राजनीतिक संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिए। “यहाँ भोट छैन भनेर बाटो नबनाउने प्रवृत्ति अब चल्दैन। रास्वपा सरकारमा गयो भने कांग्रेस, एमाले र माओवादी सबै हिँड्ने साझा बाटो बनाउँछ,” उनले भने। नेपाललाई स्विजरल्याण्ड बनाउने कुरा गर्नेहरूलाई जवाफ दिँदै उनले सुदूरपश्चिममै बडीमालिका, रामारोशन र खप्तड जस्ता उत्कृष्ट पर्यटकीय स्थलहरू रहेको तर तिनको उचित प्रचार र विकास हुन नसकेको बताए। “हामीसँग माल भएर पनि चाल नपाएका मान्छे हौँ। सुदूरपश्चिमको कला र संस्कृतिलाई काठमाडौँसँग जोड्नुपर्छ। जुन दिन सुदूरपश्चिमका गीतहरू काठमाडौँका चोकचोकमा बज्छन्, तब मात्र यो क्षेत्र वास्तविक रूपमा केन्द्रसँग जोडिन्छ,” उनले थपे।
सुदूरपश्चिमलाई ‘सुनजिक’ पश्चिम बनाउने संकल्प गर्दै बालेनले आफूहरू भोट माग्न मात्र नभई जनताको कामको भारी बोक्न आएको बताए। उनले जनतालाई भोट नदिए पनि कामको सूची (लिस्ट) दिन आग्रह गरे। “हामीलाई काम दिनुहोस्, भोट नदिए पनि रास्वपाले सुदूरपश्चिम बनाएर देखाउँछ। हामी धेरै बोल्दैनौँ, काम गरेर देखाउँछौँ,” उनले भने।