इटहरी, सुनसरी, २८ माघः मुलुकको पूर्वी भेगको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्रका रूपमा विकसित भएको इटहरीमा राससले आफ्नो कार्यालय भवन निर्माणको प्रयास प्रारम्भ गरेको छ ।
राससले आफ्ना सेवालाई विविधीकरण गर्दै समाचार सङ्कलन, सम्पादन र वितरण कार्य थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयासस्वरुप इटहरीमा भवन निर्माणलाई प्राथमिकतामा राखेको हो ।
यसै सन्दर्भमा राससका महाप्रबन्धक सन्दीप राईले इटहरी उपमहानगरपालिका–४ आइबारेस्थित राससको जग्गाको स्थलगत निरीक्षणपछि इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीन भट्टराईलाई भेटेर भवन निर्माण प्रक्रियामा सघाउन अनुरोध गर्नुभयो ।
स्थानीय तहसँगको समन्वयमा राससको प्रभावकारी सेवा विस्तारमा आफूहरू लागेको जानकारी दिँदै महाप्रबन्धक राईले उपमहानगरपालिका र रासस साझेदारीमा जोड दिनुभयो ।