मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

आइतबार, माघ २५ २०८२

बैतडी, २५ माघः पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार उक्त खोप अभियान यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म जिल्लाभरि सञ्चालन हुँदैछ ।

जिल्लाभरिका १० वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्षका किशोरी र गत वर्षको अभियानमा छुटेका किशोरीलाई खोप दिइने उहाँले बताउनुभयो ।

गत वर्ष अभियानका रूपमा किशोरीहरूलाई एचपिभी खोप दिइएको थियो भने यो वर्ष नियमित खोपमा समावेश गरिएको खोप हो । बैतडीमा यो वर्ष कक्षा ६ मा अध्ययनरत दुई हजार ३८६, गत वर्षको अभियानमा छुटेका ६१ जना र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका छ किशोरी गरेर दुई हजार ४५३ जनालाई खोप दिइने जनाएको छ ।

गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरेर १० हजार ३१० जनालाई एचपिभी खोप दिइएको थियो । यो वर्ष किशोरीहरूलाई एचपिभी खोप दिनका लागि स्थानीय तहहरूले आफ्नो पालिकामा तयारी भइरहेको र प्रत्येक विद्यालयलाई खोप केन्द्र तोकिएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप पूर्ण सुरक्षित रहेकाले निर्धक्क रूपमा लगाउनुपर्ने जिल्ला अस्पतालका निमित्त प्रमुख डा पविन उपाध्यायले बताउनुभयो । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट बर्सेनि महिलाहरूले ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले त्यो रोग लाग्नै नदिन खोप लगाउनु अनिवार्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार