शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

डरको सहमति कि साहसको विद्रोह ? हिरा अधिकारीको लेख

मंगलबार, पुष २९ २०८२

काठमाडौं । ‘जितेर पनि हार्ने छुट छैन’ भन्ने वाक्य अहिलेको नेपाली कांग्रेसको आन्तरिक मनोविज्ञानलाई सबैभन्दा स्पष्ट रूपमा बयान गर्ने अभिव्यक्ति बनेको छ । पार्टीभित्रको संघर्ष अब केवल पद, हैसियत वा गुटको सीमामा सीमित छैन, यो विश्वास, उत्तरदायित्व र भविष्यको राजनीतिसँग गाँसिएको बहस बनेको छ । कांग्रेस शेरबहादुर देउवाले गगन थापा र बिश्वप्रकाश शर्मालाई भेट्ने खबर बाहिरिएपछि सोमबारका लागि तय गरिएको बन्द–सत्रलाई लम्ब्याउने भनिएको र अन्ततः स्थगित गरिएको निर्णयले यही गहिरो द्वन्द्वलाई झनै सतहमा ल्याइदिएको छ । औपचारिक रूपमा यो निर्णय व्यवस्थापकीय देखिए पनि यसको अन्तर्यमा गहिरो राजनीतिक संकेत लुकेको छ भन्ने कुरा पार्टीका अधिकांश महाधिवेशन प्रतिनिधिहरूले महसुस गरिसकेका छन् ।
महाधिवेशन प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति केवल संख्यात्मक उपस्थिति होइन, त्यो परिवर्तनप्रतिको चाहना, पुरानो अभ्यासबाट बाहिर निस्कने आकांक्षा र नेतृत्वप्रति स्पष्ट सन्देश हो । प्रतिनिधिहरू अब दर्शक बन्न चाहँदैनन्, उनीहरू निर्णायक बन्न चाहन्छन् । यही कारण दुई जनाको चौसरको खेल जस्तो गरी पार्टीको भविष्य निर्धारण नगरियोस् भन्ने आवाज तीव्र रूपमा उठिरहेको छ । यो आवाज कुनै एक गुट वा समूहको मात्र होइन, कांग्रेसको नयाँ पुस्ता, नयाँ सोच र नयाँ राजनीतिक संस्कारमा विश्वास राख्ने सबैको सामूहिक भावना हो । समयले अब आत्मसमर्पणभन्दा पनि विजय अभियानतर्फ अघि बढ्ने बाटो तयार गरिसकेको अनुभूति पार्टीभित्र बलियो हुँदै गएको छ । एक किसिमको मनोवैज्ञानिक मोड आइपुगेको छ, जहाँ पछि हट्ने बहाना खोज्नु कमजोरी ठहरिन थालेको छ । नेतृत्वका लागि होस् वा विचारका लागि, अब निर्णय टार्ने, समय किन्ने र सन्तुलनको नाममा यथास्थिति जोगाउने रणनीति धेरै समय टिक्ने अवस्था छैन । प्रतिनिधिहरूले नेतृत्वलाई दिएको सन्देश स्पष्ट छ—या त तपाईं हामीसँगै परिवर्तनको यात्रामा हिँड्नुहोस्, या त इतिहासको किनारामा उभिन तयार हुनुहोस् ।
यो सन्दर्भमा पार्टीभित्रको पुस्तागत द्वन्द्व केवल उमेरको अन्तर मात्र होइन, राजनीतिक दृष्टिकोणको अन्तर हो । पुरानो पुस्ता स्थिरता, अनुभव र सम्झौतामा विश्वास गर्छ भने नयाँ पुस्ता पारदर्शिता, जवाफदेहिता र प्रत्यक्षताको पक्षमा उभिएको छ । यी दुई धारबीचको टकराव स्वाभाविक भए पनि यसको समाधान संवाद र साहसी निर्णयबाट मात्र सम्भव छ । बन्द–सत्र स्थगित हुनु यस संवादको संकेत हो कि अवरोध भन्ने कुरा भविष्यले नै प्रमाणित गर्नेछ । गुटगत राजनीति नेपाली कांग्रेसका लागि नयाँ कुरा होइन, तर अहिलेको अवस्था फरक छ । पहिले गुटहरू शक्तिसन्तुलनका लागि लड्थे, अहिले गुटहरू विचारको स्वामित्वका लागि लडिरहेका छन् । एकातिर संगठनात्मक निरन्तरता र सत्ता राजनीतिमा टिकिरहने रणनीति छ भने अर्कोतिर जनाधार विस्तार, वैचारिक स्पष्टता र दीर्घकालीन सुधारको माग छ । यही द्वन्द्वको बीचमा महाधिवेशन प्रतिनिधिहरू उभिएका छन्, जसले अब निर्णयको भार आफ्नै काँधमा आएको महसुस गरेका छन् । स्थगनको निर्णयले केहीलाई निराश बनाएको छ भने धेरैलाई अझै सचेत र सजग बनाएको छ । प्रतिनिधिहरूले बुझ्न थालेका छन् कि निर्णायक घडीमा मौन बस्नु पनि एउटा निर्णय हो, र त्यो निर्णय प्रायः परिवर्तनको विपक्षमा जान सक्छ । त्यसैले हलभित्र, गल्लीमा, चिया पसलमा र अनौपचारिक भेटघाटमा एकै किसिमको बहस चलिरहेको छ—अब पछि हट्ने ठाउँ छैन । जित्ने हो भने स्पष्ट रूपमा जित्ने, हार्ने हो भने पनि भविष्यका लागि आधार तयार गरेर हार्ने ।
पार्टी नेतृत्वमाथि दबाब बढ्दै जानु स्वाभाविक हो, किनकि नेतृत्वले नै दिशा दिनुपर्छ । तर दिशा दिनु भनेको सबैलाई खुशी बनाउने सूत्र निकाल्नु होइन, सही लाग्ने निर्णय लिनु हो । यदि नेतृत्वले अझै पनि सबैलाई मिलाउने नाममा अस्पष्टता रोजिरह्यो भने त्यो अस्पष्टता नै सबैभन्दा ठूलो स्पष्टता बन्न सक्छ—परिवर्तनप्रति अनिच्छा । यही डर प्रतिनिधिहरूको मनमा छ, र यही डरले उनीहरूलाई थप दृढ बनाइरहेको छ । नयाँ कांग्रेसमा आस्था राख्नेहरूको भावनामा एउटा साझा सूत्र देखिन्छ—यो पार्टी अब केवल इतिहासको गौरवमा बाँचिरहन सक्दैन । इतिहास प्रेरणा हुन सक्छ, तर नीति र नेतृत्व वर्तमान र भविष्यसँग जोडिनुपर्छ । महाधिवेशन प्रतिनिधिहरूले उत्साहका साथ सहभागिता जनाउनुको अर्थ उनीहरू अझै पनि पार्टीमा सम्भावना देखिरहेका छन् भन्ने हो । यदि त्यो सम्भावनालाई नेतृत्वले बेवास्ता ग¥यो भने निराशा मात्र होइन, दूरी पनि बढ्न सक्छ । राजनीतिमा समयको ठूलो महत्त्व हुन्छ । सही समयमा लिएको गलत निर्णय र गलत समयमा लिएको सही निर्णय दुवैको परिणाम उस्तै हुन सक्छ । अहिलेको समय कांग्रेसका लागि निर्णयको समय हो, टार्ने समय होइन । बन्द–सत्रको स्थगनले केही समय दिएको छ, तर त्यो समय सोच्नका लागि हो, भाग्नका लागि होइन । प्रतिनिधिहरूले यो समयलाई कसरी उपयोग गर्छन् र नेतृत्वले यसलाई कसरी बुझ्छ, त्यसले पार्टीको आगामी दशकको दिशा तय गर्न सक्छ ।
आन्तरिक लोकतन्त्रको परीक्षा यही हो—नेतृत्वले कति सुन्छ, कति स्वीकार्छ र कति परिवर्तन गर्न तयार हुन्छ । यदि महाधिवेशन प्रतिनिधिहरूको उत्साहलाई केवल भीडको भावनात्मक उभार ठानियो भने त्यो ठूलो भूल हुनेछ । यो उत्साह अनुभवबाट जन्मिएको छ, विगतका पराजय, अपूर्ण सुधार र अधुरो प्रतिबद्धताबाट जन्मिएको छ । त्यसैले यो क्षणलाई हल्का रूपमा लिनु भनेको आफ्नै आधारलाई कमजोर बनाउनु हो । अन्ततः प्रश्न व्यक्ति विशेषको जित–हारभन्दा ठूलो छ । प्रश्न पार्टीको आत्मा के हो भन्ने हो । के पार्टी सधैँ केही सीमित व्यक्तिको सहमतिमा चल्ने संरचना रहन्छ, कि प्रतिनिधिहरूको सक्रिय सहभागिताबाट निर्देशित जीवित संगठन बन्छ ? अहिलेको बहस यही प्रश्नको वरिपरि घुमिरहेको छ । प्रतिनिधिहरूले स्पष्ट संकेत दिइसकेका छन्—उनीहरू चौसरको खेलका गोटी बन्न चाहँदैनन्, उनीहरू खेलको नियम लेख्न चाहन्छन् । समयले बाटो बनाइसकेको छ भने त्यस बाटोमा हिँड्ने साहस देखाउनुपर्छ । बीचमै रोकिनु, फर्किनु वा घुमाउरो बाटो खोज्नु अब सम्भव देखिँदैन । जित्ने हो भने आधा मनले होइन, पूर्ण प्रतिबद्धताका साथ जित्नुपर्छ । यही भावना अहिले कांग्रेसभित्र गुञ्जिरहेको छ, र यही भावना नै पार्टीको भविष्यको आधार बन्न सक्छ—यदि त्यसलाई सुन्ने कान र बुझ्ने इच्छाशक्ति नेतृत्वसँग छ भने यो अपरिहार्य हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार