धर्मराज तिमिल्सीना
नेपालको समकालीन राजनीतिमा रबि लामिछाने र बालेन शाहा बिच आज भएको मिलन कस्मेटिक मिलन कि योजनाबद्ध अराजकता भन्ने गम्भीर प्रश्नको मोडमा उभिएको छ। नाराको चर्को स्वर, भावनाको संगठित व्यापार र डिजिटल हुलको उन्मादमार्फत परिवर्तनलाई संस्थागत सुधार होइन, अराजक प्रस्तुतिका रूपमा स्थापित गर्न खोजिँदैछ। यही पृष्ठभूमिमा बालेन्द्र शाह (बालेन) र रवि लामिछानेबीचको भनिएको सहमति सतहमा हेर्दा आकर्षक र विद्रोही देखिए पनि, यसको भित्री संरचनाले समाजलाई थप ध्रुवीकृत, राजनीतिलाई व्यक्तिकेन्द्रित र राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाउने खतरा बोकेको छ। स्वतःस्फूर्त भनिएको जेनजी आन्दोलन जब आर्थिक, राजनीतिक र अदृश्य स्वार्थसँग गाँसिन्छ, तब त्यो परिवर्तनको साधन नभई अस्थिरताको उपकरण बन्छ। विधि, संयन्त्र र संस्थामाथि अविश्वास फैलाउने यस्तो गठजोडले लोकतन्त्रलाई सुदृढ होइन, भीडतन्त्रतर्फ धकेल्ने संकेत दिइरहेको छ, जसले अन्ततः राष्ट्रलाई नै दीर्घकालीन जोखिमको दिशातर्फ लैजान सक्छ।
आन्दोलनको अपनत्व कि आन्दोलनको अपहरण?
नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध उठाएको प्रारम्भिक आवाज निस्सन्देह सम्मानयोग्य र आशाजनक थियो तर समयसँगै त्यो आवाज आफ्नै मूल उद्देश्यबाट चिप्लिँदै गएको देखिन्छ। आज उठ्ने मुख्य प्रश्न यही हो, के त्यो आन्दोलन स्वतःस्फूर्त जनआक्रोशको अभिव्यक्ति थियो कि पछि कसैको राजनीतिक ब्रान्डिङ र शक्ति निर्माणको औजार बनायो? कफी सपदेखि अनलाइन प्लेटफर्म र बन्द कोठासम्म जेनजी आन्दोलनकारीहरू आफैंले “एउटा समूहको पैसा नपाएपछि अर्को समूहमा लागेर आन्दोलन गर्दैछौं,भर्खर माइतिघरमा भएको मिराज ढुंगाना समुहको आन्दोलनबाट भागेर आयौं” भन्ने स्वीकारोक्ति दिन थालेपछि आन्दोलनको नैतिक आधार नै धरापमा परेको छ। यसले न केवल आन्दोलनको विश्वसनीयता कमजोर बनाउँछ, बरु पीडित, घाइते र ‘शहिद’ परिवारको नाममा गरिएको भावनात्मक राजनीति कति इमानदार थियो भन्ने गम्भीर प्रश्न पनि उठाउँछ । जसले अन्ततः जनआन्दोलनलाई परिवर्तनको शक्ति होइन, स्वार्थको साधनमा रूपान्तरण गरेको संकेत दिन्छ।
अराजकता मच्चाउदै सुशासनको नारा !
यो खतरनाक भ्रम हो। बालेन, रवि प्रवृत्तिको मूल समस्या नै यहीँ छ । संस्थागत प्रक्रिया, विधि र संयन्त्रलाई कमजोरी ठान्ने र तिनको सट्टा उत्तेजना, तात्कालिक लोकप्रियता र भीडको तालीलाई शासनको आधार बनाउने मानसिकता । प्रशासनमाथि निरन्तर अपमान, कानुन र संवैधानिक मर्यादाभन्दा ‘फेसबुक लाइभ’ लाई माथि राख्ने अभ्यास र भीडलाई नै न्यायाधीश ठान्ने प्रवृत्तिले समाजलाई क्रमशः आक्रोशित, असहिष्णु र असभ्य बनाउँदै लगेको छ। यस्तो अभ्यासले सुशासन होइन, अव्यवस्था जन्माउँछ । लोकतन्त्रलाई सुदृढ होइन, कमजोर बनाउँछ। जब विधिको शासनको स्थान भावनाको शासनले लिन्छ, तब लोकतन्त्र विस्तारै भीडतन्त्रमा रूपान्तरण हुन्छ र त्यो रूपान्तरण राष्ट्रका लागि सबैभन्दा खतरनाक संकेत हो ।
सहमतिको दस्तावेज: परिवर्तन कि शक्ति–व्यवस्थापन?
प्रस्तुत सहमतिलाई सतहमा हेर्दा परिवर्तनको घोषणाजस्तो देखिए पनि, यसको बुँदागत विश्लेषण गर्दा गहिरो विरोधाभास प्रस्ट हुन्छ । पार्टी एकताको नाममा वास्तवमा देखिएको कुरा पद व्यवस्थापन हो । रवि सभापति र बालेन भावी प्रधानमन्त्रीको दाबी । जबकि जनताबाट प्रत्यक्ष मत नै नपाएको व्यक्तिलाई सर्वोच्च कार्यकारी पदको दावेदार बनाउनु लोकतान्त्रिक मूल्यको अभ्यास हो कि सत्ता दलालीको सूक्ष्म खेल भन्ने गम्भीर प्रश्न उब्जिन्छ । त्यस्तै, घण्टीको पुनःप्याकेजिङ नयाँ विचार वा दर्शनको जन्म होइन, पुरानै दल, पुरानै चिन्हलाई नयाँ भावनात्मक आवरणमा बेच्ने राजनीतिक पुनःब्रान्डिङ मात्र हो । जसलाई पुनर्जागरण भन्नु आत्मछल हो । अझ “अन्य शक्तिलाई आव्हान” भन्ने भाष्य समावेशी लोकतन्त्रको आह्वान नभई “हाम्रो घण्टीमा बज, नत्र प्रतिक्रान्तिकारी ठहर” भन्ने मनोवैज्ञानिक दबाबको राजनीति हो, जसले सहकार्य होइन ध्रुवीकरण जन्माउँछ । यस्तो सहमति परिवर्तनको मार्गचित्रभन्दा बढी शक्ति संकेन्द्रणको रणनीति देखिन्छ, जसले समाजमा आशा होइन, अविश्वास र विभाजन गहिर्याउने खतरा बोकेको छ।
देशी–विदेशी चलखेलको ढोका कसरी खुल्छ?
जब राजनीति विचारविहीन नारामा सीमित हुन्छ, आन्दोलन उद्देश्यभन्दा अर्थकेन्द्रित बन्छ र नेतृत्व संस्थागत संरचनाप्रति शंकालु तथा विरोधी देखिन थाल्छ, त्यही क्षण बाह्य हस्तक्षेपका ढोका स्वतः खुल्छन्। यस्तो रिक्ततामा विदेशी फन्ड, एनजीओ नेटवर्क, डिजिटल इन्फ्लुएन्स र अदृश्य शक्तिहरू सजिलै प्रवेश गर्छन्, जसले जनआवाजलाई आफ्ना हितअनुकूल मोड्छन् । आज जेनजी आन्दोलनको फाइनान्स, स्क्रिप्ट र टार्गेटबारे उठिरहेका प्रश्न कुनै संयोग होइनन्; ती राज्यको कमजोर निगरानी, नेतृत्वको अपरिपक्वता र संस्थागत अवमूल्यनका प्रतिफल हुन्। इतिहास साक्षी छ, जब राष्ट्र आफ्नै मूल्य र प्रणालीप्रति कमजोर हुन्छ, तब ऊ स्वतन्त्र निर्णयकर्ताभन्दा बढी प्रयोगशालामा रूपान्तरण हुन्छ । जहाँ बाह्य शक्तिहरूले आफ्ना प्रयोग निसंकोच चलाउँछन् ।
के देश सक्नै खोजिएको हो?
देश बन्दुकको प्रयोगले एकाएक सकिँदैन, देश बिस्तारै चरित्रले सकिन्छ। जब युवा आन्दोलन विचार र आदर्शको सट्टा भाडाको साधन बन्छ, असहमति लोकतान्त्रिक अधिकार होइन शत्रुता ठहरिन्छ र कानुनलाई संरक्षणको आधार होइन बाधा मानिन्छ, त्यहीँबाट राष्ट्रको नैतिक क्षय सुरु हुन्छ । यस्तो प्रवृत्तिले राज्यका संरचना त जोगिन सक्छन्, झण्डा र सीमा पनि रहन सक्छन्, तर साझा मूल्य, सामाजिक विश्वास र राष्ट्रिय चेतना क्रमशः मर्दै जान्छन् । यही क्रम निरन्तर चलिरहे राज्य औपचारिक रूपमा बाँकी रहला, तर आत्मा हराएको राष्ट्र दीर्घकालसम्म बाँच्न सक्दैन । युवा व्यूँझिन जरुरी छ, तथ्यमा टेकेर भावनामा नबगेर नागरिक समाज जाग्न जरुरी छ।
अबको बाटो
आजको राजनीतिक र सामाजिक परिवेशमा आवश्यक छ बौद्धिक पुनर्जागरणको, जसले जनचेतना, संस्थागत लोकतन्त्र र जिम्मेवार नेतृत्वलाई केन्द्रमा राखोस् । यसको पहिलो कदम हो, जेनजी आन्दोलनको निष्पक्ष छानबिन गर्नु। आन्दोलनका योजनाकार, फाइनान्सर र राजनीतिक प्रयोगकर्तामाथि कानुनी दायरामा कारबाही गरिनु आवश्यक छ, जसले निजी लोकप्रियताको नाममा भएको संस्थागत ध्वंस रोक्न सकियोस् । दोस्रो, संस्थागत लोकतन्त्रको पुनर्स्थापना अपरिहार्य छ । व्यक्तित्व होइन, प्रणाली बलियो बनाउने राजनीति विकास गर्नुपर्छ। साथै, राष्ट्रवादी बौद्धिक बहसको विस्तार गर्न जरुरी छ; यहाँ गाली र हुलको स्थानमा विचार र तर्कले बहसलाई मार्गदर्शन गर्नु पर्छ। अन्ततः, युवालाई चेतनाको परिपक्व राजनीतिमा फर्काउनु अत्यावश्यक छ । पैसा, फ्यानडम र ट्रेन्डको पछि नलागी, नीति, दर्शन र जिम्मेवारीलाई केन्द्रमा राखेर उनीहरूलाई राष्ट्रनिर्माणको सक्रिय साझेदार बनाउनु पर्दछ। यस्तो समग्र दृष्टिकोणले मात्र समाजमा दीर्घकालीन स्थायित्व, जिम्मेवार नेतृत्व र बौद्धिक चेतना सृजना गर्न सकिन्छ ।
निष्कर्ष
स्पष्ट छ, यो लेख बालेन वा रविविरुद्ध व्यक्तिगत आक्रमण होइन, बरु अराजकतालाई परिवर्तन ठान्ने प्रवृत्तिविरुद्ध राष्ट्रिय चेतावनी हो । यदि हामीले भीड नै सत्य हो, फेसबुक नै अदालत हो, संसद हो, सामाजिक सञ्जालमा कमेन्ट गर्ने हरुनै वकिल न्यायधिस हुन र अराजकता नै सुशासन हो भन्ने भ्रम स्वीकार गर्यौं भने, नेपाल प्रयोगशाला बनिरहन्छ। समयमै युवा सचेत भएनन् भने राष्ट्र नरहन सक्छ । अब समय आएको छ, बौद्धिक पुनर्जागरणको, राष्ट्रिय स्वाभिमानको र विधिको शासनको पक्षमा उभिने । समाज र राजनीतिमा प्रभाव पार्ने जिम्मेवारी हामी युवाहरुको हो । विचार, तर्क र जिम्मेवारीको मार्गमा मात्र देशको स्थायित्व र भविष्य सुरक्षित रहन्छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij