सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

जेनजी सहिद दीपक साउदको घरमा सरकारी टोली

शुक्रबार, पुष ११ २०८२

बैतडी, ११ पुसः जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक साउदको परिवारको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोली उहाँको घरमा पुगेको छ ।

साउदको घरमा गएर पारिवारिक अवस्थाबारे जानकारी लिइएको प्रजिअ पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सहिद परिवारको अवस्थाबारे जानकारी लिन उहाँको घरमापुगेका हौंँ । दीपकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेका छौंँ । परिवारलाई राज्यका तर्फबाट भेटवार्ता र सरकारको भएको महसुस गराउन र सान्त्वना दिन हामी प्रयासरत छौँ ।”

भेटवार्ताका क्रममा परिवारका कुनै सदस्यलाई रोजगारीको व्यवस्था गर्न सकिने विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहिद परिवारका सदस्यलाई रोजगारसँग जोड्ने र थप सहयोग गर्न पहल गर्नेछौँ । चौधरी ग्रुपले रोजगारी दिने जानकारी दिएपछि प्रक्रिया अघि बढाइएको हो ।”

प्रजिअ नेतृत्वको टोली भेट्न आएर पारिवारिक अवस्था बुझिदिँदा केही राहत महसुस भएको सहिद साउदकी आमा लक्ष्मी साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमै आएर हाम्रो अवस्था बुझ्नुभयो, सान्त्वना दिनुभयो र रोजगारी दिने विषयमा छलफल भएको छ ।”

दीपकको परिवारलाई यसअघि सरकारको तर्फबाट रु १५ लाख र शिवनाथ गाउँपालिकाले रु एक लाख सहयोग गरेको थियो । बीस वर्षीय दीपकलाई जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँको कालीमाटीमा गोली लागेको थियो ।

गोली लागेर गम्भीर घाइते उहाँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा भदौ २७ गते मृत्यु भएको थियो । साउदले कक्षा १२ पास गरी कोरिया जानका लागि काठमाडौँमा भाषा सिकिरहनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार