शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

‘बस’ छापमा एकजुट हुन आह्वान : आफ्नै सरकार निर्माणको तयारीमा संघीय समाजवादी

बुधबार, पुष ९ २०८२

वीरगञ्ज । नेपाल संघीय समाजवादी पार्टीको पर्सा जिल्ला कमिटी गठनसम्बन्धी जिल्ला भेला वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। पार्टीका पर्सा जिल्ला इन्चार्ज सोहेब अन्सारीको उपस्थितिमा तथा राकिब हुसेनको अध्यक्षतामा सम्पन्न भेलाले सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो।

भेलाले रियाज अहमदलाई जिल्ला अध्यक्षमा चयन गरेको छ। त्यसैगरी उपाध्यक्षमा विनोद पासवान र इमरान अली, सचिवमा सबनम खातुन, सह–सचिवमा मोहम्मद हारुन तथा नोर्से आलम चयन भएका छन्। सल्लाहकार समितिमा राकिब हुसेन, डाक्टर रकिफ र अब्दुल रौफलगायत अनुभवी व्यक्तित्वहरू समेटिएका छन्।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको गरिमामय उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा मधेस प्रदेश संसदीय दलकी नेतृ तथा पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारी, केन्द्रीय सदस्य सुरेश हजरा लगायत केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष तथा गठबन्धनका संयोजक मोहम्मद रिजवान अन्सारीले संघीयता, समावेशिता र सामाजिक न्याय संविधानमा सीमित रहेको आरोप लगाउँदै यसको वास्तविक कार्यान्वयनका लागि निर्णायक राजनीतिक हस्तक्षेप आवश्यक रहेको बताउनुभयो। उहाँले निषाद, मुस्लिम, दलित, थारु, आदिवासी जनजाति, महिला तथा पछाडि पारिएका समुदायहरू ऐतिहासिक रूपमा राज्यसत्ताबाट बहिष्कृत रहँदै आएको उल्लेख गर्नुभयो।

“हामीले धेरै पटक अरूका सरकार बनायौँ, तर हाम्रा समुदायको अवस्था उस्तै रह्यो,” अध्यक्ष अन्सारीले भन्नुभयो, “अब विभाजित भएर होइन, एकजुट भएर एकल चुनाव चिन्ह ‘बस’ छापमा मतदान गरी आफ्नै सरकार निर्माण गर्ने बेला आएको छ।”

उहाँले शिक्षा, रोजगारी, स्वास्थ्य, भूमि अधिकार, पहिचान, समानुपातिक समावेशिता र सम्मानजनक प्रतिनिधित्वजस्ता आधारभूत मुद्दा अझै पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै अब वैकल्पिक, जनमुखी र उत्पीडित–केन्द्रित राजनीतिक धार स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष अन्सारीले संगठनलाई गाउँ–गाउँ र टोल–टोलसम्म विस्तार गर्दै जनताको आवाजलाई सशक्त रूपमा संसद र सत्तामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि बिमला अन्सारीले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दलहरू जनतासँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने बताउँदै महिलाको नेतृत्व, सहभागिता र निर्णय प्रक्रियामा प्रभावकारी भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

यसै क्रममा अध्यक्ष अन्सारीले पुस २० गते सर्लाही जिल्लाको मलंगवामा आयोजना हुने आमसभालाई समानता, अधिकार र सत्तामा सहभागिताका लागि हुने ऐतिहासिक राजनीतिक अभियानको रूपमा चित्रण गर्नुभयो। उहाँले युवा, महिला, मजदुर, किसान, बुद्धिजीवी तथा सबै उत्पीडित समुदायलाई उक्त आमसभामा व्यापक रूपमा सहभागी भई परिवर्तनको आन्दोलनलाई बलियो बनाउन हार्दिक आह्वान गर्नुभयो।

कार्यक्रममा वक्ताहरूले पार्टीको नीति, सिद्धान्त र आगामी राजनीतिक रणनीतिबारे धारणा राख्दै संगठन सुदृढीकरण, जनमुखी राजनीति र उत्पीडित समुदायको साझा एजेन्डामा एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए। पर्सा जिल्ला कमिटी गठनसँगै नेपाल संघीय समाजवादी पार्टीले मधेसदेखि राष्ट्रिय स्तरसम्म वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार