धर्मराज तिमिल्सीना
ओली एक व्यक्ति होइनन, एउटा युगको प्रतीक हुन । नेपाली राजनीति अनेकौं उत्थान–पतन, निराशा–आशा र अन्धकार–प्रकाशका चक्रबाट गुज्रँदै आएको छ । तर कहिलेकाहीँ इतिहासले कुनै एक व्यक्तिलाई एउटा युग, एउटा स्वप्न र एउटा लक्ष्यका प्रतिनिधिका रूपमा उभ्याउँछ । परम्परागत संरचनाले बाँधिएको, निरुत्साहित, दिशाहीन र नेतृत्व संकटले ग्रस्त समाजमा कहिलेकाहीँ कुनै व्यक्तिको सपनाले मात्रै जनमानस पुनर्जीवित हुन सक्छ । केपी शर्मा ओली यिनलाई समर्थकले स्वप्नद्रष्टा, यथार्थवादी राष्ट्रवादी र आधुनिक नेपाली राज्यको वैचारिक पुनर्निर्माता भन्छन्, अनि आलोचकले कहिलेकाहीँ कार्टून बनाउने गरेको देखिन्छ । तर विश्व इतिहासलाई हेर्दा विश्वका हरेक परिवर्तनकारी व्यक्तित्वहरू सुरूमा यही द्वैधताको घेरामा देखिन्थे । ओलीलाई बुझ्नु भनेको केवल एमालेको राजनीतिलाई बुझ्नु होइन, नयाँ नेपाली राष्ट्रियताबोध, समकालीन शक्ति सन्तुलन, युवाहरूको मनोविज्ञान, र २१औं शताब्दीको राष्ट्र निर्माणको दर्शनलाई बुझ्नु पनि हो ।
ओली किन त्यस श्रेणीमा पर्छन्?
स्वप्नदृष्टा भनेको त्यो व्यक्तित्व हो, जसले वर्तमानका सीमाभन्दा भविष्यको सम्भावनालाई विशाल देख्न सक्छ; जो राष्ट्रलाई आफ्नै कमजोरी र सामर्थ्यसँग सामाना गराएर आत्मविश्लेषण गर्न बाध्य बनाउँछ । जसका शब्दभन्दा शक्तिशाली उसका दृष्टि र दिशा हुन्छन् । र जो जनताको मनोबल, आत्मविश्वास र मनोविज्ञानलाई उठाएर देशलाई नयाँ बाटोमा लैजाने प्रेरक शक्ति बन्छ । यही परिभाषामा हेर्दा केपी शर्मा ओली स्वप्नद्रष्टाहरूको श्रेणीमा राखिनुको कारण स्पष्ट देखिन्छ । उनको राजनीतिक शैलीमा तीन अविभाज्य तत्व सधैँ पहिल्यै देखिन्छ । राष्ट्रप्रेमप्रति अविचल श्रद्धा, कठिन निर्णय लिन सक्ने जोखिम क्षमता र व्यावहारिक राष्ट्र निर्माणमा आधारित स्पष्ट भविष्यदृष्टि । ओलीको सपना भावनामा सीमित छैन; त्यहाँ अडान छ, कार्यनीति छ, सुस्पष्ट मार्गदर्शन छ र अन्तर्राष्ट्रिय परिवेशस सामना गर्न सक्ने आत्मविश्वास छ । यही कारण उनी केवल नेतृत्व गर्ने मानिस मात्र होइनन् देशलाई नयाँ दिशामा पुनः परिभाषित गर्ने स्वप्नद्रष्टा भनेर हेरिन्छन् ।
राष्ट्र सोच्ने ओली
राष्ट्र बाहेक नसोच्ने नेतृत्वको मनोवैज्ञानिक संरचना हेर्दा नेताहरू दुई प्रकारका हुन्छन् । पदलाई केन्द्रमा राखेर चल्ने र राष्ट्रलाई हृदयमा राखेर सोच्ने । केपी शर्मा ओली निसन्देह दोस्रो श्रेणीका नेतृत्व चरित्र हुन् । उनको राजनीतिक मनोविज्ञानलाई बुझ्न तीन आधार अनिवार्य रूपमा अगाडि आउँछन् । पहिलो, राष्ट्रिय स्वाभिमानप्रति असाधारण संवेदनशीलता । राजनीति उनका लागि सत्ता खेल होइन, राष्ट्रको अस्तित्व, सम्मान र आत्मगौरवसँग गाँसिएको क्षेत्र हो । चाहे सिमानाको जटिलता होस्, कूटनीतिक सम्बन्धको सूक्ष्मता होस् वा आर्थिक नीतिका चुनौती ओली सधैँ राष्ट्रलाई केन्द्रगत तत्वका रूपमा राखेर सोच्ने प्रयास गर्छन् । “नेपालीलाई कसैले हेप्न दिन्न” भन्ने उनका शब्द केवल नारामात्र होइन, उनीभित्र गहिरोसम्म जरा गाडेको आत्मविश्वास र मनोवैज्ञानिक स्थिरता हो । दोस्रो, जोखिम मोलेर निर्णय गर्ने साहस । परम्परागत, सुरक्षित र मध्यमार्गी राजनीतिमा रमाउने नेतादेखि भिन्न, ओलीले त्यस्ता निर्णयहरू लिए जसका लागि राजनीतिक साहस मात्रै होइन, दीर्घकालीन दृष्टि आवश्यक पर्छ । चुच्चे नक्साको पुनर्स्थापना, विद्युतीय परिवर्तन, रेल, जलमार्गजस्ता आधुनिक पूर्वाधारका कल्पना र चीन–भारत–अमेरिकाबीच कूटनीतिक सन्तुलन जोगाउने प्रयास यी कदम तात्कालिक लोकप्रियताको खोजी होइन; राष्ट्रको भविष्य लक्षित ठोस निर्णय थिए । तेस्रो, संगठनात्मक मानसिकता र प्रणालीगत सुधारप्रतिको आग्रह । ओली बोलेर मात्र नेता बन्ने प्रकारका होइनन्; उनी बोले भने कार्यनतिजाको आधारमा बोल्छन् । राष्ट्र चिन्तन, प्रणालीगत अनुशासन, प्रशासनिक कडाइ र आर्थिक पूर्वानुमान यी सबै उनको मनोविज्ञानका आधारभूत स्तम्भहरू हुन् । यही कारण, ओलीको नेतृत्व शैली व्यक्तिगत महत्वाकांक्षा नभई राष्ट्र केन्द्रित सोचबाट निर्देशित देखिन्छ, जसले उनलाई अरू धेरै नेताबाट पूर्ण रूपमा अलग बनाउँछ ।
ओलीको मुर्छित युवा जगाउने शक्ति
नेपाली युवा लामो समयसम्म राजनीतिलाई भ्रष्ट, थकित र निराश व्यवस्थाको पर्यायको रूपमा हेर्दथे । तर त्यही माहोलमा एक व्यक्तिले युवा पुस्तालाई फेरि उत्साहित गर्न सक्ने शक्ति देखाए उनी थिए केपी शर्मा ओली । उनका योगदानहरूमा सबैभन्दा उल्लेखनीय पक्ष भनेको राष्ट्रवादको मनोवैज्ञानिक पुनर्जीवन हो । युवाले देशलाई नयाँ दृष्टिले हेर्न थाले “हामी पनि सक्छौँ, हाम्रो मुलुक केवल छिमेकीको छायाँमा सीमित छैन, आफ्नो भूमि, आफ्नो सम्मान कसैलाई सुम्पिन्नौ ।” यो भावना केवल राजनीतिक भाषणले होइन, नेतृत्वको स्पष्ट दृष्टि र सुसंगठित योजनाले मात्र जगाउन सक्छ । ओलीको युवामैत्री राजनीतिक शैली यस पुनर्जीवनको अर्को आधार हो । उनी युवासँग संवाद गर्छन्, भाषालाई सरल, निर्णयलाई स्पष्ट र भावनालाई देश केन्द्रित राख्छन् । उनी केवल स्वप्न देखाउँदैनन्, त्यो स्वप्न पूरा गर्न राज्यलाई कसरी तयार गर्ने भन्ने स्पष्ट खाका पनि दिन्छन् । त्यसैगरी उनको भावनात्मक राष्ट्रवाद र व्यावहारिक विकासको संयोजन युवालाई ऊर्जा दिने मुख्य स्रोत बनेको छ । धेरैले राष्ट्रवाद बोले तर विकाससँग जोड्न सकेनन् । ओलीले राष्ट्रवादलाई पूर्वाधार, रोजगार, समृद्धि, भौगोलिक स्वाधीनता र कूटनीतिक सम्मानसँग जोडेर व्यावहारिक रूप दिएका छन् । यही दृष्टिकोणले युवामा राष्ट्रिय जिम्मेवारी, प्रेरणा र सक्रियता जन्माएको छ, जसले उनलाई केवल नेता मात्र नभई युवालाई पुनः जीवन्त बनाउने प्रेरक शक्तिका रूपमा स्थापित गरेको छ ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा होइन, स्पष्ट रणनीति
केपी शर्मा ओलीले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल” नारालाई प्रारम्भमा आलोचकहरूले केवल राजनीतिक उद्घोषणा ठाने । तर गहिरो अध्ययनले देखाउँछ यो पाँच तहमा आधारित ठोस रणनीति हो । पहिलो, आर्थिक आत्मनिर्भरता उत्पादनमुखी अर्थतन्त्र, दिगो उद्योगिकरण, जलविद्युत् आधारित विकास, कृषि आधुनिकीकरण र विदेशी रोजगारमा निर्भरता घटाउने योजनाले राष्ट्रको आर्थिक आधार मजबुत बनाउने लक्ष्य राख्छ । दोस्रो, सामाजिक सुरक्षा विस्तार वृद्धभत्ता, अपांगता भत्ता, मातृत्व सुरक्षा र स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकको जीवनस्तर उकास्ने दृष्टि समेटिएको छ । तेस्रो, सन्तुलित कूटनीति ओलीको परराष्ट्र नीति कसैको पक्षमा नजानु, विपक्षमा नपर्नु तर राष्ट्रहित केन्द्रमा राख्नु हो । चौथो, भौगोलिक अखण्डता र सिमाना रक्षा कालापानी–लिपुलेक विवाद, नक्सा जारी गर्ने पहल र सार्वभौम अधिकारको अन्तर्राष्ट्रिय हस्तक्षेप अस्वीकृत गर्ने कदमहरूले उनको नेतृत्वलाई स्पष्ट चिन्ह दिएका छन् । पाँचौं, सुशासन र संस्थागत सुधार दण्डहीनता अन्त्य, कर्मचारी दक्षता, डिजिटल प्रशासन र भ्रष्टाचारमाथि पूर्ण शून्य सहनशीलतासहित, प्रणालीगत सुधारलाई ओलीले केवल नारा होइन, नैतिक जिम्मेवारीको रूपमा लिएका छन् । यही समग्र रणनीति र व्यावहारिक दृष्टिले, “सुखी नेपाली, समृद्ध नेपाल” केवल नारामात्र नभई राष्ट्र निर्माणको स्पष्ट रोडम्याप बनेको छ ।
सहकार्य र समन्वय—ओलीको नेतृत्वशैलीको मूल आत्मा
साँचो नेतृत्व केवल शक्ति र दृढतामा मात्र निर्भर हुँदैन यो तब देखिन्छ जब नेता आफूबीच मतभेद भएका नभएका सबैलाई समेट्न सक्षम हुन्छन्, वैचारिक विविधतालाई स्वीकार्छन् र अर्काको अस्तित्वलाई मान्यता दिन्छन् । जति कठोर देखिन्छन्, त्यति नै ओली सहकार्यमुखी नेतृत्वका पक्षधर हुन् । उनी संघीय, प्रादेशिक र स्थानीय निकायबीच समन्वयकारी मोडेल स्थापना गर्न विश्वास गर्छन्, किनभने उनको दृष्टिमा राज्यका एकाइहरू प्रतिस्पर्धी होइन, पूरक हुन् । आर्थिक विकासमा पनि उनी निजी क्षेत्रलाई बाधक नभई सहयात्री मान्छन् उद्योग, पर्यटन, ऊर्जा र यातायातमा PPP (Private-Public Partnership) मोडेललाई प्रोत्साहन दिन्छन् । राजनीति उनको लागि केवल विरोधको मञ्च होइन यो विकासको सहकार्यको माध्यम हो । विगतका ठूलो राजनीतिक उथलपुथलपछि पनि प्रतिद्वन्द्वी दलसँग काम गर्न तयार हुने क्षमता, ओलीको सहकार्य शक्ति, भविष्यको स्थायित्व र राष्ट्र निर्माणको मजबूत आधारको प्रमाण हो ।
अर्थ, उद्योग र व्यापार विश्व प्रतिस्पर्धामा नेपाली अर्थतन्त्र
आजका राष्ट्रहरूको शक्ति केवल भौगोलिक सीमामा सीमित छैन । उनीहरू अन्तर्राष्ट्रिय बजार, विश्व सम्पर्क र प्राविधिक नवप्रवर्तनमा प्रतिस्पर्धा गर्छन् । केपी शर्मा ओली यस तथ्यलाई गहिरो रूपमा बुझ्छन् र नेपालको अर्थतन्त्रलाई यस प्रतिस्पर्धी परिदृश्यमा उभ्याउन रणनीतिहरू अघि सारेका छन् । नेपालको उद्योग व्यवसाय संकटमा रहेको बेलामा उनले ऊर्जा निर्यात, उद्योगमैत्री नीति, कर सुधार र मेगा–इन्फ्रास्ट्रक्चरका योजनाहरू अघि बढाएर औद्योगिक नवजागरणको बाटो खोल्न खोजे । व्यापारमा, भारतसँगको निर्भर एकमुखी प्रणालीबाट बाहिर निकाल्दै चीन, युरोप, अमेरिका र मध्य–पूर्वसँग व्यापारिक मार्गहरू खोल्ने प्रयास भयो । साथै पर्यटनलाई मात्र प्राकृतिक र सांस्कृतिक सम्पदाको स्रोत नभई २१औं शताब्दीको आधुनिक उद्योगमा रूपान्तरण गर्ने लक्ष्य राखे ब्रान्डिङ, प्रवर्द्धन र संरचना सुधारमार्फत नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने रणनीति अपनाए । यसरी ओलीको दृष्टि केवल राष्ट्रभित्रको विकासमा सीमित नभई, नेपाललाई विश्व आर्थिक मञ्चमा खडा गर्ने उद्देश्यसहित सुस्पष्ट र व्यावहारिक रहेको देखिन्छ ।
कृषिमा आधुनिकीकरण: २१औं शताब्दीको ‘हरित क्रान्ति’
नेपालको लगभग ६०% जनसंख्या कृषि निर्भर छ, तर परम्परागत पद्धतिले उत्पादन र समृद्धिमा बाधा पुर्याइरहेको छ । केपी शर्मा ओलीले कृषि नीतिलाई आधुनिकरणको केन्द्रबिन्दु बनाएर देशलाई स्वावलम्बी राष्ट्र बनाउन दृढ योजना अघि सारे । उनको कृषि एजेन्डामा मेकानाइजेसन, कृषि सडक, मल, बीउ सुरक्षा, उत्पादन सुरक्षा र कृषि उद्योग समन्वयजस्ता कदमहरू प्रमुख छन् । किसानप्रतिको उनको संवेदनशीलता केवल सहानुभूति होइन यो राष्ट्रिय खाद्यान्न सुरक्षा र आयातमा निर्भरता घटाएर देशलाई आत्मनिर्भर बनाउने स्पष्ट दृष्टिकोणको परिणाम हो । यही दृष्टि र कार्यले ओलीको नेतृत्वलाई नेपाली कृषिको २१ औं शताब्दीको ‘हरित क्रान्ति’को प्रेरक शक्ति बनाएको छ ।
सामाजिक न्याय र सामाजिक सुरक्षा
समृद्धि केवल आर्थिक सूचक होइन यसले मानव विकास र सामाजिक सशक्तिकरणको मापदण्ड पनि समेट्छ । केपी शर्मा ओलीको सामाजिक सुरक्षामा आधारित दर्शन तीन प्रमुख सिद्धान्तमा केन्द्रित देखिन्छ कोही पनि नागरिक राज्यबाट छुट्नु हुँदैन, राज्यले सबै कमजोर वर्गको रक्षा गर्नुपर्छ र विकासको लाभ सबै पक्षसम्म पुग्नुपर्छ । यही दृष्टिकोणअनुसार उनका नीति र कार्यक्रमले वृद्ध, विपन्न, अपांगता भएका व्यक्ति, विपद्ग्रस्त, महिला र बालबालिका सबैका लागि सुरक्षा र कल्याणका उपायहरू सुनिश्चित गरेका छन् । यसरी ओलीको नेतृत्वले केवल अर्थतन्त्रमा समृद्धि ल्याउनु मात्र होइन, समाजको प्रत्येक तहमा न्याय र संरक्षणको अनुभूति पनि जगाएको छ ।
अन्तर्राष्ट्रिय कूटनीतिमा नेपाली शीर ठाडो बनाउने एक स्वप्नदृष्टा
परम्परागत रूपमा नेपाली परराष्ट्र नीति प्रायः प्रतिक्रियात्मक रहँदै आएको थियो । तर केपी शर्मा ओलीले यस धारालाई बदलिदिए उनले नेतृत्वमुखी, सक्रिय र दीर्घकालीन दृष्टिकोणमा आधारित कूटनीतिमा विश्वास गरे । चीन र भारतजस्ता महाशक्ति छिमेकीबीच रहेको नेपालको लागि शक्ति सन्तुलन अत्यावश्यक छ भन्ने मान्यता अनुसार ओलीले समान दूरीको नीति, अहस्तक्षेप सिद्धान्त र स्वतन्त्र निर्णय क्षमतालाई परराष्ट्र नीतिको केन्द्रमा राखे । यसले नेपाललाई मात्र सुरक्षित बनाएको होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पहिचान पनि स्थापित गर्यो । विश्व सम्मेलनहरूमा उनले जलवायु संकट, गरिबी निवारण, युवासक्रियता र विकास वित्तजस्ता विषयमा आक्रामक र तर्कपूर्ण प्रस्तुति दिएका छन् । यही सक्रिय र रणनीतिक कूटनीतिले विश्वमञ्चमा नेपालको नेतृत्व क्षमता र सम्मानको नयाँ ढोका खोल्न सफल भएको छ ।
सिमाना सुरक्षा: राष्ट्र अस्तित्वको निम्ति कठोर प्रतिबद्धता
केपी शर्मा ओलीको नेतृत्वलाई बुझ्न चाहँदा सिमाना र सार्वभौमसत्ताप्रति उनका अडिग दृष्टिकोण सबैभन्दा ठूला आधार हुन् । कालापानी–लिपुलेक नक्सा जारी गर्ने पहलदेखि सीमाबिन्दु संरक्षण, सुरक्षा संयन्त्रलाई मजबुत बनाउने योजना र छिमेकीसँग पारदर्शी संवाद कायम गर्ने प्रयाससम्म यी सबै ओलीका राष्ट्र अस्तित्ववादी नीतिहरू हुन् । उनका यी कदमहरूले स्पष्ट देखाउँछ कि उनी केवल भौगोलिक नक्सामा मात्र केन्द्रित छैनन् तर नेपालको सार्वभौमिकता र राष्ट्रिय सम्मानलाई दीर्घकालीन रूपमा सुरक्षित गर्न प्रतिवद्ध छन् ।
किन ओली विश्वको ध्यानाकर्षण हुन सक्छन्?
केपी शर्मा ओली केवल नेपालको नेतृत्वको विषय मात्र होइन उनी ग्लोबल केस–स्टडीका पात्र पनि हुन् । उनी सानो राष्ट्रबाट पनि कूटनीतिक पराक्रम हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्छन् । राष्ट्रवादलाई केवल भावनामा सीमित नगरी, विकासलाई यथार्थवादसँग जोड्ने दुर्लभ नेता हुन् । सानो मुलुकले कसरी शक्ति सन्तुलनको रणनीति प्रयोग गरेर अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्छ भन्ने उनको नेतृत्व स्पष्ट उदाहरण हो । लोकतन्त्र, कूटनीति, भावनात्मक नेतृत्व र राष्ट्रनिर्माणको संगम उनको शैलीमा देखिन्छ । त्यस्तै उनी युवालाई राष्ट्रिय विकासतर्फ जागृत गराउने आधुनिक राजनीतिक मनोवैज्ञानिक शक्ति पनि हु न्। यी सबै कारणहरूले गर्दा ओली केवल नेपाली राजनीति मात्र नभई वैश्विक नेतृत्व अध्ययनका दृष्टान्तका रूपमा पनि विश्वको ध्यानाकर्षण गर्न सक्छन् ।
अन्तमा
स्वप्नदृष्टा ओली एक व्यक्ति होइन, एक सम्भावना पनि हुन । नेपाल अहिले संक्रमणको भुमरीमा छ । अर्थतन्त्र कमजोर, युवालाई अवसर कमी, अन्दोलनको प्रभाव, प्रणाली अविश्वसनीय यस्तो समयमा नेपाली जनताको मनमा उठ्ने प्रश्न स्पष्ट छ “देश कसरी बच्छ, शान्ती पूनर्साथापना होला, स्थीरता कायम कसरी होला?” यस प्रकारका प्रश्नहरुको उत्तरमा आवश्यक छ राष्ट्रलाई केन्द्रमा राखेर सोच्ने, जोखिम मोलेर निर्णय गर्ने, युवालाई सक्रिय बनाउने, सामाजिक न्याय सुनिश्चित गर्ने र सिमाना तथा स्वाभिमानमा सम्झौता नगर्ने स्वप्नदृष्टाको । केपी शर्मा ओली यस्तै नेताको प्रतिनिधि पात्र हुन् । उनी राष्ट्रलाई केवल भौगोलिक नक्सा मात्र होइन, एक सम्मान, एक सम्भावना र साझा भविष्यको रूपमा हेर्छन् । इतिहास, नेताहरूका भाषणले होइन, सपना, निर्णय र परिणामले कोरिन्छ भन्ने सत्यलाई उनी पुष्टि गर्छन् । ओली त्यही इतिहासको सम्भावित रेखा हुन्, जहाँ ‘सुखी नेपाली’ केवल अभिव्यक्ति होइन र ‘समृद्ध नेपाल’ केवल सपना होइन वास्तविक रोडम्याप हो ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij