काठमाडौं(जस)–कतारले आफ्नो राष्ट्रिय दिवस आज (२०२५,डिसेम्बर १८) मा देशभर भव्य कार्यक्रम, सांस्कृतिक उत्सव र राष्ट्रिय गौरव झल्काउने गतिविधिहरूका साथ मनाउँदैछ । ‘देश तपाईंसँग बढ्छ, तपाईंबाट नै उन्नति आउँछ’ भन्ने मूल सन्देशसहित मनाइँदै आएको यस वर्षको राष्ट्रिय दिवसले शैख तमीम बिन हमाद अल थानीको नेतृत्वमा आधुनिक कतारले तय गरेको सफल यात्रालाई स्मरण गराएको छ । राष्ट्रिय दिवसको मुख्य आकर्षणका रूपमा दोहा कोर्निसमा आयोजना हुने राष्ट्रिय दिवस परेड विशेष महत्वको छ ।
डिसेम्बर १८ को बिहान ९ बजे सुरु हुने परेडमा कतारका सैनिक तथा सुरक्षा निकाय, सरकारी संस्थाहरू र सांस्कृतिक समूहहरूको सहभागिता रहनेछ । परेडले राष्ट्रिय एकता, निष्ठा र गर्वको सशक्त सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । परेडका लागि बिहान ५ बजेदेखि प्रवेशद्वार खुल्ने र ७ बजेर ३० मिनेटमा बन्द हुने जनाइएको छ । राष्ट्रिय दिवसको अवसरमा आप्रवासी श्रमिकहरूलाई लक्षित कार्यक्रमहरू पनि विशेष रूपमा आयोजना गरिएको छ । श्रम मन्त्रालय अन्तर्गतको श्रमिक सहयोग तथा बिमा कोष र आन्तरिक मन्त्रालयको सहकार्यमा अल खोरस्थित एसियाली सहर बर्वा अल बराहामा विविध सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि र सांगीतिक प्रस्तुति आयोजना हुँदैछन् । कार्यक्रममा सहभागी श्रमिकहरूका लागि विभिन्न खेललगायत कार्यक्रमको व्यवस्था गरिएको छ भने भाग्यशाली चिट्ठामार्फत बहुमूल्य उपहार प्रदान गरिनेछ । यसले कतारको विकास यात्रामा श्रमिकहरूको योगदानप्रति सम्मान व्यक्त गरेको सन्देश दिन्छ ।
यसैगरी, डिसेम्बर १० देखि २० सम्म उम्म सलाल मोहम्मद क्षेत्रमा सञ्चालन भइरहेको दरब अल साई सांस्कृतिक उत्सवले कतारको परम्परा, बेडू वास काव्य, हस्तकला, ताम्रकला तथा पारिवारिक गतिविधिमार्फत राष्ट्रिय पहिचानलाई उजागर गरिरहेको छ । राजधानीको मुशैरेब डाउनटाउन दोहा, पर्ल टापु, गेवाँ टापु, पुरानो दोहा बन्दरगाह तथा लुसाइल बुलेभार्डमा पनि राष्ट्रिय दिवसको अवसरमा विशेष उत्सव, सांस्कृतिक प्रदर्शन र सामुदायिक कार्यक्रमहरू आयोजना गरिएका छन् ।
खेलकुद गतिविधिअन्तर्गत शिक्षा सहर र अक्सिजन पार्क क्षेत्रमा राष्ट्रिय दिवस दौड कार्यक्रम आयोजना हुँदैछ भने मेरियल वाटर पार्कमा बालबालिका र परिवार लक्षित विशेष कार्यक्रमहरू सञ्चालन गरिएका छन् । राष्ट्रिय दिवस केवल उत्सव मात्र नभई शैख तमीमको नेतृत्वमा कतारले हासिल गरेको राजनीतिक स्थायित्व, आर्थिक विविधीकरण र सामाजिक एकताको प्रतीकका रूपमा पनि हेरिएको छ । आधुनिकता र परम्पराको सन्तुलित विकासमार्फत कतारले विश्व समुदायमा आफ्नो पहिचान अझ सुदृढ बनाउँदै आएको छ । कतारको राष्ट्रिय दिवस २०२५ ले यही सफल यात्रालाई सम्मान गर्दै भविष्यतर्फ अझ सशक्त कदम चाल्ने प्रतिबद्धता पुनः दोहो¥याएको छ ।
श्रम मन्त्रालयले कतार राज्यको राष्ट्रिय दिवसको अवसरमा बिहीबार, सन् २०२५ डिसेम्बर १८ लाई निजी क्षेत्रका सबै कर्मचारीका लागि तलबसहितको सार्वजनिक बिदा घोषणा गरेको छ । मन्त्रालयका अनुसार, यदि संस्थाको सञ्चालन आवश्यकताका कारण सो दिन कर्मचारीलाई काममा लगाउनुपर्ने अवस्था आएमा श्रम ऐनको धारा ७४ बमोजिम ओभरटाइम सुविधा लागू हुनेछ । यस अवसरमा श्रम मन्त्रालयले कतार राज्यका सम्माननीय नेतृत्व, कतारका नागरिक तथा सबै समझदारी बासिन्दालाई हार्दिक शुभकामना व्यक्त गर्दै निष्ठा र अपनत्वका मूल्यहरूलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।
नेपालमा पनि मनाइयो कतारको राष्ट्रिय दिवस
नेपालमा पनि कतारको राष्ट्रिय दिवसका अवसरमा विशेष समारोह आयोजना भएको थियो । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको राष्ट्रिय दिवसका अवसरमा बिहीबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भए । नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीले आयोजना गरे उक्त समारोहमा संवैधानिक अङ्गका प्रमुख, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका कतारी, उद्योगपति, व्यापारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।
समारोहमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अन्सारीले आधुनिक कतार र नेपालबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्नुभयो । उहाँले नेपालको स्वास्थ्य तथा जीविकोपार्जनका साथै यहाँको वातावरण संरक्षण र जलवायु परिर्वतनका असर घटाउन कतारले सहयोग गर्दै आएको बताए । कतार च्यारिटीमार्फत नेपालका १० जिल्लामा विकासका विविध कार्यक्रम सञ्चालन भएका जानकारी दिँदै राजदूत अन्सारीले ती कार्यक्रमबाट १५ लाख नेपाली लाभान्वित भएका बताए । आधुनिक कतारका संस्थापक शेख जसिम बिन मोहमद अल थानीको सम्मानस्वरुप हरेक वर्ष डिसेम्बर १८ मा राष्ट्रिय दिवस मनाइन्छ । यद्यपि विश्वका विभिन्न भागमा अवस्थित कतारी राजदूतावासहरूमा भने यो दिवस स्थानीय अनुकूलताका आधारमा मनाइन्छ । सन् १९७८ मा बेलायतबाट कतार स्वतन्त्र भएको हो । सन् २००६ सम्म उसले सेप्टेम्बर ३ मा स्वतन्त्रता दिवस मनाउँदै आएको थियो ।
जनसवाल राष्ट्रिय दैनिकको २०८२ पुस ३ गते बिहीबारको इपेपर
जनसवाल राष्ट्रिय दैनिकको २०८२ पुस ३ गते बिहीबारको इपेपर
