सोमबार, मंसिर २९ २०८२
काठमाडौँ(जस)–नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयन प्रक्रियामा पुगेको छ । नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै केन्द्रीय निर्वाचन आयोगले सोमबार राति अबेर उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष डा. विजय सुब्बाले पार्टीको सर्वोच्च पद अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी मैदानमा आमने–सामने भएको जानकारी दिए । लामो समयदेखि सहकार्य गर्दै आएका ओली र पोखरेलबीचको यो प्रतिस्पर्धाले एमाले वृत्तमा नयाँ तरङ्ग ल्याएको छ । अध्यक्ष मात्र होइन, महासचिव पदमा पनि कडा टक्कर देखिएको छ । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
विधान अनुसार पाँच जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि एघार जना नेताहरूले उम्मेदवारी दिएका छन् भने तीन जना निर्वाचित हुने उपमहासचिव पदका लागि छ जनाको दाबी परेको छ । सबैभन्दा बढी आकर्षण र भीडभाड सचिव पदमा देखिएको छ, जहाँ नौ सिटमा २० जना नेताहरू प्रतिस्पर्धा गरिरहेका छन् । पदाधिकारी बाहेक भूगोलतर्फ सातै प्रदेश, उपत्यका विशेष तथा समावेशीतर्फ आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक र पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य पदमा ठूलो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार अन्तिम नामावली प्रकाशन गरिनेछ र मंगलबार दिउँसोदेखि मतदान प्रक्रिया सुरु हुनेछ ।
२०७१ साल असारमा सम्पन्न नवौँ महाधिवेशनमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतले पराजित गरेदेखि केपी शर्मा ओली निरन्तर एमालेको नेतृत्वमा छन् । २०७४ सालमा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष समेत बनेका ओलीले पार्टी विभाजनपश्चात् साविक एमालेकै कमान सम्हालेका थिए । २०७८ सालमा चितवनको सौराहमा सम्पन्न दशौँ महाधिवेशनमा उनी दोस्रो पटक अध्यक्षमा निर्वाचित भए । त्यसबेला उनलाई पूर्व उपाध्यक्ष डा. भीम रावलले सर्वसम्मत हुनबाट रोकेका थिए भने यसपटक आफ्नै विश्वासपात्र मानिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती पेश गरेका छन् । भदौ २३ र २४ गते भएको नयाँ पुस्ताको विद्रोहबाट सत्ताच्युत हुनुपरेको र पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस पेचिलो बन्दै गएपछि ओलीले नियमित महाधिवेशनलाई एक वर्षअगाडि नै सारेका हुन् । एमालेको राजनीतिमा ओली एक त्यस्तो नाम हो, जसले नेपाली राजनीतिमा साढे पाँच दशकभन्दा बढी समय खर्चिएको छ । २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लामा जन्मिएका ओली सामान्य पारिवारिक पृष्ठभूमिबाट आएर देशको कार्यकारी प्रमुखसम्म बन्न सफल भए । बुबा मोहनप्रसाद ओली र आमा मधु ओलीका छोरा केपी ओलीको बाल्यकाल संघर्षपूर्ण रह्यो । हाल भक्तपुरको बालकोटमा स्थायी बसोबास रहेका ओली झापा आन्दोलनका एक प्रमुख कमान्डर हुन् ।
ओलीको राजनीतिक यात्रा २०२३ सालमा माक्र्सवादी अध्ययन दलमा सङ्गठित भएपछि सुरु भएको हो । २०२५ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय उनी २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिँदै उपसचिवको जिम्मेवारीमा पुगेका थिए । २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका ओलीले पञ्चायती व्यवस्था विरुद्धको संघर्षमा लामो जेल जीवन बिताए । तत्कालीन शासनसत्ताले उनलाई २०२७ फागुन १६ गते पहिलो पटक झापाबाट गिरफ्तार गरेको थियो । त्यसपछिको १४ वर्ष अर्थात् २०३० देखि २०४४ सालसम्म उनले कठोर कारावास सजाय भोग्नुपर्यो । रौतहट, वीरगञ्ज, भद्रगोल, सेन्ट्रल जेलको गोलघर, नख्खु, पोखरा, स्याङ्जा हुँदै हनुमान ढोकासम्मका जेलहरूमा उनलाई सारिएको थियो । २०४४ साल असार ११ गते रिहा भएपछि उनी पुनः सक्रिय राजनीतिमा होमिए । प्रजातन्त्र पुनःस्थापनापछि २०४८ सालको आम निर्वाचनमा झापाबाट निर्वाचित ओलीले २०५१ सालमा देशको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उपप्रधान तथा परराष्ट्रमन्त्री हुँदै उनी पटक–पटक देशको प्रधानमन्त्री बन्न सफल भए । मदन भण्डारीले प्रतिपादन गरेको ’जनताको बहुदलीय जनवादी’ कार्यक्रमको मस्यौदा तयार पार्न उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । २०७० सालमा संसदीय दलको नेता बनेका ओली नेपाली राजनीतिमा आफ्नो प्रखर वक्ता शैली र अडानका कारण सधैं चर्चामा रहन्छन् । उनले आफूले सातौँ महाधिवेशनमै कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका लागि प्रस्ताव गरेको विचार अहिले सबैले स्वीकार गरेको दाबी गर्दै आएका छन् ।
अर्कोतर्फ, ओलीलाई चुनौती दिइरहेका ईश्वर पोखरेल एमालेको राजनीतिमा सधैं निर्णायक भूमिकामा रहँदै आएका पात्र हुन् । २०१० साल चैत २५ गते ओखलढुंगामा जन्मिएका पोखरेलको परिवार पछि झापा बसाइँ सरेको थियो । २०३३ सालमा कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य बन्दा केपी ओली जेलमा थिए । पोखरेलले आफ्नो राजनीतिक जीवनमा धेरै पटक नेतृत्व परिवर्तनको साक्षी र सहयोगीको भूमिका निर्वाह गरेका छन् । २०३५ सालमा मालेको संस्थापक केन्द्रीय सदस्य बनेका उनले सुरुमा सीपी मैनाली, त्यसपछि झलनाथ खनाल र मदन भण्डारीलाई साथ दिएका थिए । मदन भण्डारीको रहस्यमय दासढुंगा दुर्घटनामा निधन भएपछि पोखरेलले लामो समय माधवकुमार नेपाललाई साथ दिए । तर, आठौँ महाधिवेशनमा झलनाथ खनाल अध्यक्ष बन्दा उनी महासचिवमा निर्वाचित भए । एमाले वृत्तमा पोखरेललाई शक्ति केन्द्रको वरिपरि रहन रुचाउने नेताका रूपमा पनि विश्लेषण गरिन्छ । नवौँ महाधिवेशनमा जब माधव नेपाल र केपी ओलीबीच प्रतिस्पर्धा भयो, पोखरेलले आफ्नो लामो समयका सहयात्री नेपालको साथ छोडेर ओली प्यानलबाट महासचिव जितेका थिए । दशौँ महाधिवेशनमा उनलाई विशेष पद सिर्जना गरी वरिष्ठ उपाध्यक्ष बनाइएको थियो ।
एमालेका दुई कार्यकाल महासचिव र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष भइसकेका पोखरेलले जीवनको उत्तरार्धमा आएर नेतृत्वका लागि ठूलो जोखिम मोलेका छन् । पार्टीभित्रको पछिल्लो समीकरणमा विद्या भण्डारीको पुनरागमनको चर्चा र त्यसले सिर्जना गरेको तरङ्गले पोखरेलको उम्मेदवारीलाई बल पु¥याएको विश्लेषण गरिएको छ । गत असारमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्कने संकेत गरेकी थिइन्, जहाँ पोखरेलले उनको पक्षमा वकालत गरेका थिए । तर, विधान महाधिवेशनले ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाएपछि पोखरेल लगायतका पुराना नेताहरू ओलीसँग असन्तुष्ट बन्न पुगेका थिए । नेतृत्वको अस्वस्थ प्रतिस्पर्धा रोक्न र सहज ढंगले नेतृत्व हस्तान्तरणको प्रणाली बसाल्न पार्टीको प्रमुख पदमा दुई कार्यकालको समयसीमा तोकिनुपर्ने मुद्दालाई पोखरेलले आफ्नो चुनावी एजेन्डा बनाएका छन् । उनले प्रतिस्पर्धामा पराजित भए पनि परिणाम स्वीकारेर एमालेमै रहने बताएका छन् ।
पोखरेल २०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीका राजनीतिक सल्लाहकार थिए भने विभिन्न कालखण्डमा उद्योग वाणिज्य, रक्षा र उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । यसरी हेर्दा, एमालेको एघारौँ महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई दुई पुराना सहयात्रीबीचको वैचारिक र साङ्गठनिक शक्ति सन्तुलनको परीक्षण पनि बन्न पुगेको छ । ओली आफ्नो विरासत जोगाउन चाहन्छन् भने पोखरेल पार्टीभित्र विधि, पद्धति र नेतृत्व हस्तान्तरणको सवाल उठाएर नेतृत्वमा पुग्न चाहन्छन् । मंगलबार हुने मतदानले एमालेको आगामी पाँच वर्षको भविष्य मात्र कोर्ने छैन, यी दुई नेताको राजनीतिक जीवनको दिशा पनि तय गर्नेछ ।
ओलीसँग भड्किए ‘हेभीवेट’ नेता
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया चलिरहँदा केही नेता अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । लामो समयदेखि ओलीनिकट मानिने र संकटमा साथ दिँदै आएका ‘हेभीवेट’ नेताहरू नै टिममा नपरेपछि उनीहरू अध्यक्ष ओलीसँग रुष्ट बनेका हुन् । महासचिवदेखि सचिवसम्मका बलिया दाबेदार मानिएका प्रदीप ज्ञवाली, गोकुल बाँस्कोटा, अग्नि खरेल, लालबाबु पण्डित, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त लगायतका नेताहरू ओलीको रोजाइमा परेनन् । यसले गर्दा महाधिवेशनको चुनावी प्रतिस्पर्धा थप पेचिलो र रोचक बन्ने देखिएको छ । सबैभन्दा ठूलो झट्का प्रदीप ज्ञवालीको निर्णयले दिएको छ ।
अध्यक्ष ओलीका विश्वासपात्र मानिने ज्ञवालीले महासचिव पदमा दाबी गरिरहेका थिए । तर, ओलीले शंकर पोखरेललाई नै पुनः महासचिव बनाउने अडान लिएपछि ज्ञवाली असन्तुष्ट बने । उनलाई फकाउन ओलीले उपाध्यक्ष बस्न आग्रह गरे पनि ज्ञवालीले अस्वीकार गर्दै केवल केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । ओलीका अर्का कडा समर्थक मानिने गोकुल बाँस्कोटा पनि अन्तिम समयमा आएर ईश्वर पोखरेलको क्याम्पमा पुगेका छन् । ओली प्रधानमन्त्री हुँदा बालकोटस्थित आफ्नै घरमा आश्रय दिएका बाँस्कोटा सचिव पदका लागि पोखरेल समूहबाट उम्मेदवार बनेका छन् । यस्तै, पूर्वमन्त्री लालबाबु पण्डित र पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले पनि ओलीको सूचीमा चित्त नबुझेपछि सचिव पदमा स्वतन्त्र वा अर्को समूहबाट उम्मेदवारी दर्ता गराएका छन् ।
कृष्णगोपाल श्रेष्ठजस्ता पुराना नेता, जसले ओलीलाई ‘पेले’ को उपमा दिँदै आएका थिए, उनी पनि ओलीको टिममा अटाएनन् । श्रीमती विना श्रेष्ठ ओली समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दा कृष्णगोपाल भने ईश्वर पोखरेल समूहबाट सचिवको उम्मेदवार बनेका छन् । त्यस्तै, ज्वालाकुमारी साह, माधव ढुंगेल, शेरबहादुर तामाङ, भीम आचार्य, र राजेन्द्र गौतम जस्ता नेताहरू पनि आ–आफ्नो दाबी अनुसारको पद नपाउँदा रुष्ट देखिएका छन् ।
अध्यक्ष ओलीले विधान संशोधन गरेर पदाधिकारी संख्या १९ पु¥याए पनि आकांक्षी व्यवस्थापन गर्न सकेनन् । यसको फाइदा उठाउँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असन्तुष्ट नेताहरूलाई समेटेर बलियो प्यानल खडा गरेका छन् । ओली समूहले पुराना अनुहारलाई दोहो¥याएको देखिन्छ भने पोखरेल समूहले नयाँ अनुहारलाई पदाधिकारीमा अवसर दिएर चुनावी आकर्षण बढाउन खोजेको छ । मंगलबार हुने मतदानमा २ हजार २ सय ६३ प्रतिनिधिले भाग लिनेछन् ।
एमालेको दुई आयोगका अध्यक्ष निर्विरोध
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया चलिरहँदा पार्टीका दुई महत्त्वपूर्ण आयोगका अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय लेखा आयोग र केन्द्रीय अनुशासन आयोगका अध्यक्षमा एकल उम्मेदवारी परेको हो।
केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल निर्विरोध भएका छन्। सोमबार भएको मनोनयन दर्ताका क्रममा अध्यक्ष पदमा कँडेलको मात्र उम्मेदवारी परेको थियो। लेखा आयोगको अन्य पदाधिकारीतर्फ उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेलको पनि एकल उम्मेदवारी परेको छ। यद्यपि, आयोगका २२ जना सदस्य पदका लागि भने ३७ जनाको उम्मेदवारी परेकाले सदस्यहरूमा निर्वाचन हुने देखिएको छ।
त्यस्तै, केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन्। उनको पनि अध्यक्षमा एकल मनोनयन परेको हो। अनुशासन आयोगको उपाध्यक्षमा चक्र बहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरेको मात्र उम्मेदवारी परेकोले उनीहरू पनि निर्विरोध भएका छन्। अनुशासन आयोगका २२ सदस्य पदका लागि भने ३२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।
एकल उम्मेदवारी परेका पदाधिकारीहरू निर्विरोध निर्वाचित भएको भए पनि निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij