शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

रास्वपा: भावनाको चमक, वास्तविकताको चुनौती

बुधबार, मंसिर २४ २०८२

धर्मराज तिमिल्सीना

नेपाली राजनीतिक वृत्तमा पछिल्ला केही वर्षयता सबैभन्दा तीव्र गतिमा “ब्रान्ड” बन्न सफल शक्ति भनेको डिजिटल लोकप्रियताले जन्माएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हो । सामान्य परिस्थितिमा कुनै दलले आधारभूत संगठन निर्माण, वैचारिक प्रक्रिया विकास, जनआन्दोलन, दीर्घकालीन संघर्ष, नीतिगत परिपक्वता, नेतृत्व निर्माण र सामाजिक स्थान्तरणको चरण पार गर्नुपर्ने हुन्छ । तर यस दलले यी कुनै पनि परम्परागत राजनीतिक प्रक्रिया नपुगेका अवस्थामा पनि अत्यधिक लोकप्रियता बटुल्यो । यो कस्तो राजनीतिक शक्ति हो ? किन रास्वपाभित्र “अवसरवादी बाहेक केही छैन” भन्ने धारणा गहिरिन पुगेको छ ? किन सामाजिक सञ्जालमा यसको अत्यधिक लोकप्रियता “राजनीतिक परिपक्वता होइन, मनोवैज्ञानिक भ्रम” का रूपमा आलोचित छ ? र किन धेरैले यसलाई “डिजिटल युगको राजनीतिक स्क्याम” सम्म भन्छन् ? यी सबै प्रश्नहरूको नाजवाफ छन । सत्ता, सिद्धान्त, जनभावना र डिजिटल युगको भ्रम र डिजिटल लोकप्रियताले जन्माएको दलले राज्यलाइ हित गर्ला प्रश्न गम्भिर छ ।

रास्वपा कस्तो राजनीतिक शक्ति

‘डिजिटल पपुलिज्म’ मा आधारित, तर वैचारिकरहित रास्वपा मूलतः Anti-establishment Populism मा आधारित राजनीतिक प्रयोग हो अर्थात्, “सबै पुरानाले बिगारे, हामी नयाँ छौँ; हामी के–कसरी गर्छौँ भन्ने होइन, पुरानो गलत हो” भन्ने नारामा टिकेको शक्ति । यसका प्रस्ट विशेषताहरू यस्तो देखिन्छन् ।

  • सिद्धान्तहीन अस्तित्वबोकेको रास्वपा न वाम, न मध्यमार्गी, न दक्षिणपन्थी, न उदारवादी, न समाजवादी जसको कुनै स्पष्ट आर्थिक नीति छैन, कुनै विदेश नीति छैन, कुनै वर्गीय दृष्टिकोण छैन, कुनै वैचारिक जग छैन । यसलाई विचारकहरूले “Issue-less and Ideology-less Populist Platform” भन्छन् ।
  • संगठनात्मक रूपमा कमजोर, जनभावना–केन्द्रित दलरास्वपामा क्याडर कम, ‘फ्यान–फलोअर’ धेरै छन् । दल, संगठन होइन; ‘कमेन्ट सेक्सन’मा उत्साहित अराजक समूहको जमातजस्तो देखिन्छ ।
  • व्यक्तित्वपूजामा आधारित पार्टीजसमा रवि लामिछाने जस्ता व्यक्तित्व नै दलका ‘ब्रान्ड एसेट’ हुन् । यस दलको लोकप्रियता नीति होइन, व्यक्तिको प्रस्तुति शैलीमा आधारित छ । यही कारण रास्वपालाई धेरैले ‘मिडिया-निर्मित राजनीति’ भन्छन् ।

किन रास्वपाभित्र अवसरवादीहरू मात्रै

राजनीतिक जग शून्य हुँदा त्यहाँ गढिन्छ ‘अवसरको बजार’ वैचारिक छनोट नभएपछि त्यहाँ जो–कोही जान सक्छन् । सिद्धान्त नभएको ठाउँमा राष्ट्रवादी, अवसरवादी, रिसाइएका विद्वान, पुरानो पार्टीमा असफल भएका, छिटो नाम कमाउन चाहने, फेसबुक फ्यान बेस भएका, सबैले ठाउँ पाउँछन् । किनकि दलको प्राथमिक मापदण्ड नै “कसको भ्युज, लाइक, कमेन्ट, सेयर बढी?” भन्ने बनेको छ । अर्को कुरा नेतृत्व कमजोर हुँदा ‘अवसरवादीहरुको आकर्षण’ बढ्छ रवि लामिछानेलाई धेरैले “कमजोर संस्था–व्यवस्थापक तर बलियो communicator” भनेर चिन्नेहरु पनि उत्तीकै छन । यस्तो नेतृत्व वरिपरि अवसरवादीहरूले छिट्टै खुट्टा गाड्छन्, किनकि नीति–आधारित प्रतिस्पर्धा हुँदैन, वैचारिक अनुशासन हुँदैन, स्टन्ट गर्नु र हाइलाइट हुनु नै मुख्य लक्ष्य हुन्छ । पुराना दलहरूलाई छाड्नेहरू प्रायः लाभ–प्रेरितहरु देखिन्छन । कांग्रेको दाग पुछ्दै, एमालेको असन्तुष्टि मेट्दै, माओवादीको संरचना झन्झटिलो देख्दै तत्काल अर्को अवसर नदेखेर विचलित भएका यस्ता अवसरवादीहरूका लागि रास्वपा “सहज हवाई मार्ग” बनेको देखिन्छ । जाने वित्तीकै टिकेट पाइन्छ र २०७९ सालको निर्वाचन जस्तै जनताको खहरे उर्ले सांसद पो भइन्छ भन्ने धेरैको प्रलोभन बलियो देखिन्छ ।

सामाजिक सञ्जालमा रास्वपा किन राम्रो

आजको सामाजिक सञ्जाल द्वन्द्व, असन्तोष र तत्कालिक भावनालाई बढी amplify गर्छ । रास्वपाले यिनै तत्व प्रयोग गर्‍यो । भ्रष्टाचारप्रति आक्रोश, पुराना दलप्रति घृणा, युवामा निराशा, विदेशिएका नेपालीको निराशा यी सबैलाई समेटेर हामी नै समाधानको कथा बनायो । ‘फेसबुक–इन्स्टाग्राममा पपुलिज्म’ बन्यो । YouTube र TikTok का अल्गोरिदमले चर्को स्वर, नाटकीय आरोप, भावनात्मक प्रस्तुति, सरल कथा, शत्रु–निर्माणलाई प्रोत्साहन गर्छ अल्गोरिदमले ‘आक्रामक कुरा’ लाई पुरस्कृत गर्छ भन्ने बुजेका रास्वपा रविले चिट्ठा परे झैं, एकै रातमा देश बदलिन्छ भन्ने भ्रम सिर्जना गरेको देखिन्छ । उनका कुण्ठा सहितको रिल भिडियो हेर्ने दर्शकलाई राजनीति सजिलो लाग्नथाल्छ । “Echo Chamber” आफ्नो मात्र कुरा सुन्ने वातावरण । रास्वपा समर्थकहरूको सामाजिक सञ्जाल यस्तै छ । आलोचना ब्लक, तथ्य पचाउन नसक्ने, विरोधीलाई गाली गर्ने, हाम्रो नेता महान भनिरहने यसले “Collective Hallucination” बनाउँछ र सामाजिक सञ्जालमै देखिएको लोकप्रियतालाई वास्तविकता ठानिन्छ । यसै कारण सामाजिक सञ्जालमा रास्वपा राम्रो देखिन्छ ।

‘लाईक–कमेन्ट–भ्युज’ले नेता बनाउने प्रवृत्ति

नेपालको राजनीतिक समाजशास्त्रमा डिजिटल विकृतिले जरा गाडिदैछ । पहिले नेपालमा नेता बन्न कठोर संस्थागत मार्ग थिए । विद्यार्थी राजनीति, वर्गीय संघर्ष, आन्दोलन, संगठन विस्तार, जनस्तरमा क्रियाशील भूमिका रास्वपाले भने यसलाई छोट्यायो उसले सिकायो ‘क्यामेरा हेरेर बोले नेता, रिल मार्फत जनताको भावनामा खेल, अनि युट्युब भ्युज बढाऊ त्यो नै आरोहणको सीढी हो । नेपालको समाजमा हतार, शर्टकटमा विश्वास, तत्काल समाधान माग्ने मानसशास्त्र, भावनात्मक निर्णय गहिरो छन् । रास्वपाका नेताहरूले ती मनोविज्ञानको कौशल प्रयोग गरे । फेसबुक–जनताले लोकतन्त्रलाई मनोरञ्जन बनाइदिए । राजनीति ‘Reality Show’ बन्यो, लोकप्रियतालाइ भोट बैंक मानियो, भ्युज धेरै हुनु राष्ट्रप्रेम हो, कमेन्ट भनेको नीतिगत ज्ञान हो, सेयर भनेको राजनीतिक वैधता हो जस्तो डिजिटल देवत्वकरण जन्मियो ।

‘डिजिटल प्रेम’ जस्तै ‘डिजिटल राजनीति’ पनि धोका

आजको डिजिटल युगमा जस्तै सामाजिक सञ्जालमार्फत विकास हुने ‘डिजिटल प्रेम’ धेरैजसो भ्रम, बनावट र अपूर्ण जानकारीका कारण धोका दिन सक्छ, त्यसैगरी ‘डिजिटल राजनीति’ पनि सतही चमक र प्रचारमा सीमित भएर वास्तविकता लुकाउने जोखिम बोकेको हुन्छ। अनलाइनमा देखिने राजनीतिक छवि, भाषण वा अभियानहरू प्रायः भावनात्मक प्रभाव सिर्जना गर्न बनाईएका हुन्छन्, जसले मतदातालाई तथ्यभन्दा भावनामा आधारित निर्णय गर्न बाध्य पार्न सक्छ। जब सत्यभन्दा बढी हल्ला, प्रचार र एल्गोरिदमले हाम्रो सोचलाई चलाउँछ भने, डिजिटल राजनीति पनि डिजिटल प्रेमझैँ क्षणिक विश्वास दिलाएर पछाडि ठूलो निराशा छोड्न सक्छ । त्यसैले, डिजिटल परिवेशमा देखिने कुनै पनि कुरालाई आँखामुनिको सत्य मान्नु भन्दा अघि विश्लेषण, प्रमाण र आलोचनात्मक सोच अनिवार्य छ।चिट्ठा–स्क्यामले जस्तै राजनीतिक स्क्यामले पनि अवास्तविक प्रतिज्ञालाई ‘स्क्याम’, अत्यधिक भावनात्मक प्रस्तुतिलाई ‘हुक’ र जनतालाई लोभ देखाउने शैलीलाई ‘राजनीतिक ट्रिक’का रूपमा प्रयोग गर्छ, जसको अन्त्यमा भरोसा गुम्ने, मुलुक ठप्प पारिने र जनता निराश हुने अवस्था उत्पन्न हुन्छ। यदि यिनै प्रवृत्तिले शासन बिघटन गर्‍यो, अर्थतन्त्रलाई धरासायी बनायो, विदेश पलायन बढायो र नीति–निर्णयलाई अस्थिर बनायो भने देश गम्भीर संकटतर्फ धकेलिन सक्छ। त्यसैले राजनीतिक भाषण वा वाग्दानभन्दा अघि तिनको यथार्थ आधार, सम्भाव्यता र दीर्घकालीन प्रभाव पहिचान गर्नु नागरिक दायित्व मात्र होइन, राष्ट्रिय स्थिरताको लागि पनि अत्यावश्यक छ ।

रास्वपामा राजनीतिक परिपक्वता

रास्वपामा राजनीतिक परिपक्वता छ कि भन्ने प्रश्न उठ्नुका प्रमुख आधार नै अनुभवहीनता, क्षमताको अभाव र भावनात्मक शोरमा केन्द्रित कार्यशैली हुन् । परिपक्व राजनीति गहिरो अध्ययन, स्थिर दृष्टिकोण, दीर्घकालीन रणनीति र जटिल समस्या सम्हाल्ने प्रशासनिक क्षमतामा निर्भर हुन्छ तर रास्वपाको उपस्थितिमात्र बढी र कार्यक्षमता कम देखिने प्रवृत्तिले यसको राजनीतिक बुझाइ अझै परिपक्व अवस्थामा पुगेको संकेत दिन सक्दैन । भावनात्मक भाषण र आक्रोशले तात्कालिक ध्यान त तान्छ, तर राष्ट्रका चुनौती समाधान गर्न अनुभव, संयम र संस्थागत सोच अपरिहार्य हुन्छ । यही कारण राजनीतिक परिपक्वता शब्दले जनाउने गहिराइ र रास्वपाले देखाएको व्यवहारबीच आज पनि स्पष्ट अन्तर देखिन्छ ।

रास्वपाका प्रमुख कमजोर पक्ष शासन सञ्चालनको अनुभव लगभग शून्य हुनु, मन्त्री तहमै देखिएका दुबैयाजन्य गलत निर्णय, जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्ति, नीतिगत आधारबिना उठाइने कदमहरू, र आरोप प्रत्यारोपमै रमाउने शैली आखिर देश चलाउने आधारका लागि गम्भीर चुनौती बन्न सक्छन् । ‘आवेगमा आएर’ देश चल्दैन, किनकि राष्ट्रको समस्या चिच्याएर होइन, अध्ययन, विश्लेषण, दीर्घकालीन योजना, कूटनीतिक कौशल र सुदृढ आर्थिक दृष्टिकोणबाट समाधान हुन्छ । रिल भिडियो बनाउने ऊर्जा र मन्त्रालय सञ्चालन गर्ने जिम्मेवारी बीचको दूरी पृथ्वी र मंगल ग्रह जत्तिकै फराकिलो हुन्छ, जसले देखाउँछ कि लोकप्रियता र प्रशासनिक क्षमता एकै चीज होइनन् । यस्तो अवस्थामा, आवेगभन्दा परिपक्वता र योजनाबद्धता नै राज्यको स्थिरता र प्रगतिका चालक शक्ति हुन् ।

विदेश, दूतावास, NGO–INGO को भूमिका

“Power Vacuum Politics” को अवस्थामा विदेश, दूतावास तथा NGO–INGOहरूको भूमिका स्वाभाविक रूपमा बढ्छ, किनकि सिद्धान्तहीन र दिशाहीन दलहरू विदेशी प्रभावको लागि सबैभन्दा सजिलो लक्ष्य बन्छन्। जसको स्पष्ट stand छैन, राष्ट्रिय हितको परिभाषा छैन, नीतिगत दिशानिर्देश छैन । त्यस्ता दललाई अनुदान, प्रशिक्षण, भित्ते समझौता वा नीति–लविङमार्फत प्रभावित गर्नु विदेशी शक्तिका लागि अत्यन्त सरल हुन्छ। यता दूतावास र अन्तर्राष्ट्रिय संस्थाहरू ‘governance सुधार’, ‘पारदर्शिता’ र ‘good governance’ का नाममा नेपालमा परियोजना चलाउँछन्, तर यिनै परियोजनाले राजनीतिक रिक्तता भएका दलहरूलाई प्रभावको “perfect playground” पनि बनाइदिन्छन्। जब आन्तरिक नीति कमजोर, नेतृत्व अनिश्चित र निर्णय प्रणाली अस्थिर हुन्छ, तब बाह्य शक्तिको हस्तक्षेप स्वाभाविक रूपमा गहिरिँदै जान्छ—र यही अवस्था देशको स्वाधीन राजनीतिक क्षमता कमजोर पार्ने मुख्य चक्रव्यूह बन्छ। र यही कारण, नयाँ दलहरूलाई परिपक्व नीतिगत ढाँचा र राष्ट्रिय प्राथमिकता स्पष्ट गर्नु अनिवार्य हुन्छ।

रास्वपामा किन जान्छन र फेरि फर्किन्छन ?

व्यक्तिहरू वा विद्वानहरू रास्वपाजस्ता नयाँ दलतर्फ जाँदै–फर्कँदै गर्ने घटना आकर्षण, रिस र अवसरको मिश्रित मनोविज्ञानबाट जन्मिन्छ । पुराना दलप्रतिको गहिरो निराशा, नयाँ दलको तत्कालिक लोकप्रियता, बढ्दो मिडिया स्पेस, आफूलाई ‘परिवर्तनकारी’ रूपमा प्रस्तुत गर्ने मौका, र पद–प्रतिष्ठा पाउने सम्भावनाले धेरैलाई यस्ता दलतिर तान्छ । तर नयाँ दलहरू रास्वपासहित अझै नीतिगत रूपमा पाक्न बाँकी, संरचनागत रूपमा कमजोर र वैचारिक रूपमा अस्थिर हुँदा, प्रारम्भिक उत्साहले लामो समय टिक्न सक्दैन । परिणामतः अवसर नपाएपछि वा संगठनको आन्तरिक अस्पष्टताले काम गर्न गाह्रो भएपछि, त्यही व्यक्तिहरू फेरि पुरानै थलोमा फर्किन्छन् । किनकि राजनीति केवल आवेग र लोकप्रियताको खेल होइन; सिद्धान्त, निरन्तरता र संस्थागत स्थिरता बिना कसैलाई पनि टिकेर काम गर्न सम्भव हुँदैन । यही कारण—आकर्षणले तान्ने, तर वैचारिक आधारको अभावले फर्क्याउने यो चक्र नयाँ दलहरूमा बारम्बार दोहोरिन्छ ।

विदेशिएका नेपालीहरू किन रास्वपा मन पराउँछन् ?

वैदेशिक नेपालीहरू रास्वपा वा अन्य नयाँ दलप्रति आकर्षित हुनुको मूल कारण निराशा, दूरी र सरल समाधान खोज्ने मनोविज्ञानसँग गाढा रूपमा जोडिएको छ । विदेशमा बसेका धेरै नेपालीहरू भ्रष्टाचार, कुशासन र पुराना दलप्रतिको दीर्घकालीन वितृष्णाबाट थाकिसकेका हुन्छन्, र भौगोलिक दूरीकै कारण उनीहरू नेपालका जटिल राजनीतिक यथार्थभन्दा बढी भावनात्मक भाष्यतर्फ आकृष्ट हुन्छन् । यतिबेला रास्वपाजस्ता नयाँ दलहरूले प्रस्तुत गर्ने सरल नारा जस्तै “पुराना सबै खराब, हामी राम्रो” विदेशी समुदायमा छिट्टै बिक्ने आकर्षक कथा बन्छ, किनकि यसले उनीहरूको असन्तोषलाई सहज भाषा र स्पष्ट विरोध–समर्थनको ढाँचामा अनुवाद गरिदिन्छ । तर यही सरलता नै यथार्थ समस्या पनि हो; किनकि नयाँ दलहरू अझै नीतिगत रूपमा अपरिपक्व, संरचनागत रूपमा कमजोर र समाधानकाभन्दा प्रतिक्रियाकै भाष्यमा बढी निर्भर देखिन्छन् । त्यसैले एक्सप्याट समुदायको समर्थन भावनात्मक स्तरमा उच्च भए पनि, वास्तविक शासन चुनौती समाधान गर्न गहिरो नीति, क्षमता र अनुभव आवश्यक हुन्छ जुन कुरा नाराभन्दा धेरै कठिन हुन्छ र दीर्घकालीन प्रतिबद्धता माग्छ ।

रास्वपामा राष्ट्रवादी? कि अवसरवादी?

रास्वपामा कस्ता मान्छे आकर्षित हुन्छन्—राष्ट्रवादी कि अवसरवादी—भन्ने प्रश्न धेरै अर्थमा नेतृत्वको चरित्र र संगठनात्मक संरचनासँग गाँसिएको छ। रास्वपामा निहित राष्ट्रवादी भावना बोकेका युवाहरू सुरुमा परिवर्तनको आशा लिएर प्रवेश गर्छन्, तर नेतृत्वको पूर्वाग्रही व्यवहार, अस्थिर निर्णय र संगठनभित्रको अस्पष्ट अनुशासनले उनीहरूलाई छिट्टै निराश बनाउँछ। बरु अवसरवादीहरूको उपस्थिति अपेक्षाकृत धेरै देखिन्छ, किनकि यहाँ नेतृत्व शिथिल छ, संगठनात्मक संरचना कमजोर छ, प्रचार–प्रसार नै मुख्य राजनीतिक पूँजी बनाइएको छ, र तत्काल पद वा प्रभाव पाउने सम्भावना उच्च हुन्छ—जे–जे तत्व अवसरवादी मानसिकतालाई चाहिन्छ, लगभग सबै उपलब्ध छन्। परिणामतः रास्वपा जस्ता नयाँ दलहरू प्रारम्भिक उत्साहले भरिए पनि, दीर्घकालीन रूपमा कस्ता मान्छे टिक्छन् भन्ने कुरा नेतृत्वको परिपक्वता, नीति र अनुशासनमा निर्भर रहन्छ; अहिले भने राष्ट्रवादीभन्दा अवसरवादी प्रवृत्ति बढी तानिन्छ भन्ने तथ्य नकार्न गाह्रो छ।

रास्वपा देशको लागी खतरा

रास्वपाको भविष्यसँग जोडिएको सबैभन्दा ठूलो खतरा देशलाई अस्थिर दिशातिर धकेलिने सम्भावनामा लुकेको छ । यदि आवेगमा आधारित निर्णय, नीतिगत अनभिज्ञता, विदेशी प्रभावप्रति संवेदनशीलता र संगठनात्मक कमजोरी यथावत् रह्यो भने, लोकप्रियता बाहिर चम्किन्छ, तर भित्री संरचना खोक्रो रहन्छ । रिल–राजनीतिको तात्कालिक आकर्षणले क्षणिक ताली त पाइला, तर देश उधारो खाएर चल्दैन त्यसका लागि दीर्घदृष्टि, नीति, संयम र राज्य संचालनको परिपक्वता अनिवार्य छ । नेतृत्वले जिम्मेवारी, दूरदर्शिता र नीतिगत स्पष्टता विकास गर्न सकेन भने, नयाँ दलको नाममा उठेको ऊर्जा नै उल्टै राष्ट्रिय स्थिरतामाथि संकटको रूप लिन सक्छ ।

रास्वपा – आशा कि भ्रम?

रास्वपा के यो वास्तविक आशा हो कि डिजिटल युगको धूलो मात्र हो ? हालको अवस्थामा रास्वपा कुनै ठोस “राष्ट्रवादी विकल्प” होइन । यो वर्तमान भावनात्मक असन्तुष्टि र पुराना दलप्रतिको निराशाको उपज हो । पुराना दललाई चुनौती दिएको तथ्य सकारात्मक छ, तर वैचारिक रिक्तता, अवसरवादी प्रवेश, सामाजिक सञ्जालमा फैलिएको भ्रम र नीति निर्माणमा देखिएको अस्थिरता मार्फत देशलाई नयाँ संकटमा धकेल्ने जोखिम पनि उस्तै छ । नेपाललाई केवल रिल–राजनीति वा लोकप्रियता नभई दिशा, सिद्धान्त, यथार्थ र दीर्घकालीन नेतृत्वको आवश्यकता छ । यथार्थबोध बिना लोकप्रियता सजिलै “राजनीतिक स्क्याम”मा परिणत हुन सक्छ । रास्वपाले यदि स्पष्ट नीति, ठोस सिद्धान्त, कूटनीतिक क्षमता, आर्थिक दृष्टिकोण र संगठनात्मक परिपक्वता विकास गर्न सकेन भने, यसको वर्तमान उभार डिजिटल भ्रमको बुलबुला मात्र बनेर फूट्न सक्छ र यही कुराले देखाउँछ कि राष्ट्र निर्माण केवल लोकप्रियता र भावनामा आधारित छैन, दीर्घकालीन सोच र परिपक्व नेतृत्वको अभावमा तत्कालको उत्साह नै खतरामा परिणत हुन सक्छ ।

निष्कर्ष

रास्वपा नेपाली राजनीतिमा उभिएको एउटा सिद्धान्तविहीन डिजिटल पपुलिस्ट शक्ति हो, जसको उदय पुराना दलप्रतिको आक्रोश, प्रतिनिधित्वको संकट र सामाजिक सञ्जालमा बनेको भ्रमबाट प्रेरित देखिन्छ । दलभित्र अवसरवादीहरूको भीड देखिनुको मुख्य कारण यसको कमजोर संगठन, अनौपचारिक निर्णय संस्कृति शैली हो ।

रास्वपाको ‘लोकप्रियता’ वास्तवमा सामाजिक सञ्जालले बनाएको कृत्रिम प्रकाश–वृत्त हो—जहाँ Like, Comment, Share ले नै राजनीतिक हैसियत निर्धारण गरिदिन्छ । यस्तो ‘click-democracy’ ले मानिसलाई वास्तविक शासन क्षमता भन्दा आकर्षक भाषण, हुलसुल भावनात्मक भिडियो र आक्रोशपूर्ण स्ट्याटसतर्फ तान्छ । डिजिटल प्रेम जस्तै डिजिटल राजनीति पनि भ्रमदायी हुन्छ पहिले रमाइलो, पछि धोका । विदेशिएका नेपाली र देशका धेरै युवालाई यो दल आकर्षक लाग्नुका कारण पुराना दलप्रतिको निराशा, दूरिबाट यथार्थ नबुझिने प्रवृत्ति, सरल समाधान खोज्ने मनोविज्ञान तथा दूतावास/NGO/नागरिक–समाजका केही वृत्तबाट प्राप्त परोक्ष समर्थन हो । तर यही वातावरण विदेशी प्रभाव, Soft Power penetration र बाह्य एजेन्टहरूको लागि आदर्श ‘Entry Point’ पनि बन्न सक्छ । रास्वपाले हालसम्म देखाएको राजनीतिक परिपक्वता नीति निर्माण, प्रशासनिक क्षमता, स्थिर नेतृत्व सबैमा कमजोर छ । डिजिटल क्रान्ति धेरै छ, तर संस्थागत संरचना न्यून । न नीति स्पष्ट छ, न विचारधारा, न रणनीतिक कार्यदिशा नै। यसकारण, रास्वपा परिवर्तनको विकल्पभन्दा बढी डिजिटल युगले सिर्जना गरेको राजनीतिक भ्रम जस्तै देखिन्छ जहाँ आवेग धेरै, संरचना कमजोर, प्रतिवद्धता अनिश्चित । पुराना दलका कमजोरीका बीच रास्वपा केही समय ‘आशाको चोला’ लगाएर चम्किए पनि, संस्थागत परिपक्वता बिना कुनै पनि दल लामो समय टिक्दैन यो राजनीतिक विज्ञानको मूल सत्य हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार