शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एमालेलाई निर्णायक शक्ति बनाउनुको विकल्प छैन : केपी शर्मा ओली

बुधबार, मंसिर २४ २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘लुटपाट, आगजनी र तोडफोडको जगमा बनेको’ संज्ञा दिँदै देशको लोकतन्त्र गम्भीर खतरामा रहेको बताएका छन् । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा विशेष कुराकानी गर्दै अध्यक्ष ओलीले मुलुकलाई वर्तमान संकटबाट पार लगाउन एमालेलाई ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउनु नै महाधिवेशनको मुख्य उद्देश्य रहेको स्पष्ट पारेका छन् ।
यही मंसिर २७ गतेदेखि भक्तपुरमा सुरु हुने महाधिवेशनको सन्दर्भमा बोल्दै ओलीले देशमा बहुदलीय व्यवस्था भए पनि सरकार दलविहीन र संविधान विरोधी चरित्रको भएको आरोप लगाए । उनले भने, “अहिले लोकतान्त्रिक प्रणाली घाइते छ । संविधान मिचिएको छ, अदालतलाई अस्वीकार गरिएको छ । एउटा अत्यन्तै अप्रिय र अमानवीय घटनाक्रमको दुरुपयोग गरेर कृत्रिम सरकार जडान गरिएको छ ।” ओलीले भदौ २३ को आन्दोलन र पछिल्ला घटनाक्रमलाई ‘जेन्जी’को शान्तिपूर्ण प्रदर्शन नभई आपराधिक तत्वहरूले हाइज्याक गरेको योजनाबद्ध षड्यन्त्रको रूपमा व्याख्या गरे । विद्यार्थीहरूले आगजनी र लुटपाट नगरेको दाबी गर्दै उनले भने, “जेन्जीको आन्दोलनलाई अपहरण गरियो । तोडफोड र लुटपाटलाई क्रान्ति भन्न मिल्दैन, यो त आतंक र अपराध हो ।”
अध्यक्ष ओलीले वर्तमान सरकारले चुनाव गराउनेमा गम्भीर शंका व्यक्त गरेका छन् । फागुन २१ मा चुनाव गराउने सरकारको घोषणालाई पत्याउन नसकिने बताउँदै उनले जेल फोडेर अपराधी भगाउने र हतियार लुट्नेहरूलाई संरक्षण गर्ने सरकारबाट लोकतान्त्रिक अभ्यासको अपेक्षा गर्न नसकिने जिकिर गरे । देशको सार्वभौमसत्ता र स्वाधीनतामाथि प्रश्न उठिरहेको अवस्थामा जनतालाई भयमुक्त बनाउन र विकासको गतिलाई पुनः अघि बढाउन एमालेको नेतृत्व अपरिहार्य रहेको उनको भनाइ छ ।
पार्टीको आन्तरिक जीवन र नेतृत्वको विषयमा बोल्दै ओलीले एमालेभित्रको एकतालाई विशेष जोड दिएका छन् । उनले पार्टी विभाजनपछि एमाले कमजोर हुनुको साटो झन् शुद्ध र शक्तिशाली भएको दाबी गरे । “चामल केलाउँदा भुस उडेजस्तै अवसरवादीहरू बाहिरिएका छन्,” उनले भने । ‘ओलीविनाको एमाले’ भन्ने नारा विपक्षीहरूले पार्टी सिध्याउन रलाएको षड्यन्त्र भएको बताउँदै उनले एमालेको नेतृत्व र नीति सही भएकै कारण चौतर्फी घेराबन्दीका बाबजुद पार्टीको ओजन नघटेको तर्क गरे ।
महाधिवेशनमा नेतृत्व चयनको प्रसङ्गमा अध्यक्ष ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा गर्न पाइने अधिकार सुरक्षित भए पनि वर्तमान विषम परिस्थितिमा सहमतिमै नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन् । अन्य नेताहरूले उम्मेदवारी घोषणा गरिरहँदा उनले भने, “जित्ने सम्भावना छैन भन्ने थाहा हुँदाहुँदै पनि उम्मेदवार बन्नु लोकतान्त्रिक अभ्यास त हो, तर यतिबेला एकताबद्ध भएर जानु नै वाञ्छनीय हुन्छ ।” आफ्नो कार्यशैलीमाथि उठ्ने गरेका प्रश्नलाई उनले ‘सामाजिक सञ्जालको नियोजित हल्ला’ मात्र भएको बताए । आफूले कसैलाई अपमान नगरेको र लोकतान्त्रिक विधिबाटै पार्टी चलाएको दाबी गर्दै ओलीले ठोस आलोचना भए स्वीकार्न तयार रहेको तर अमूर्त आरोपको अर्थ नहुने स्पष्ट पारे ।
महाधिवेशनले एमालेलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै ओलीले भने, “यो महाधिवेशन एकता, पुस्तान्तरण र रूपान्तरणको संगम हुनेछ । देशलाई प्रतिगमनबाट जोगाउन र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न एमाले सक्षम छ र त्यसका लागि यो महाधिवेशनले सबल नेतृत्व र टिम तयार गर्नेछ ।” उनले उद्घाटन समारोहमा विशाल जनसहभागिता हुने र त्यसले एमालेको शक्ति प्रदर्शन गर्ने दाबी समेत गरे ।
अन्त्यमा, ओलीले संविधान संशोधन र संसद पुनःस्थापना जस्ता विषयमा अन्य दलहरूसँग छलफल भइरहेको र एमाले समस्या समाधानका लागि लचकताका साथ प्रस्तुत हुन तयार रहेको सन्देश दिए । तर, यो सबै प्रक्रिया संवैधानिक दायराभित्रै हुनुपर्ने उनको अडान छ । ११औँ महाधिवेशनले एमालेलाई केवल एक राजनीतिक दल मात्र नभई देशलाई निकास दिने एकमात्र भरोसायोग्य शक्तिका रूपमा उभ्याउने उनको निष्कर्ष छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार