सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी

मंगलबार, मंसिर २३ २०८२

काठमाडौँ, २३ मङ्सिरः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त हुनुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पन्थीलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । पन्थीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाबाट नियुक्तिपत्रसमेत लिनुभएको छ ।

आचार्य पन्थी खुला प्रतिस्पर्धाबाट समितिको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको हो । समितिको कार्यकारी निर्देशकमा पन्थीसँगै श्रीकेश कौशिकको नाम सिफारिस भएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारीधि अनुसन्धानरत पन्थी विभिन्न धार्मिक तथा ज्योतिषीय सङ्घसंस्थामा क्रियाशील हुनुहुन्छ । उहाँले नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ, विश्व ज्योतिष महासङ्घ, आध्यात्मिक पत्रकार समाज, विश्व हिन्दू महासङ्घलगायतका विभिन्न संस्थाको नेतृत्व तहमा रहेर काम गरिसक्नुभएको छ ।

पन्थीले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यसमेत भएर काम गरिसक्नुभएको छ । उहाँ अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्यसचिवसमेत हुनुुहुन्छ ।

नवनियुक्त कार्यकारी निर्देशक पन्थीले सञ्चारकर्मीसँग कुरा गर्दै सम्पूर्ण संस्कृति, परम्परा, रीतिरिवाजको अपनत्व हुनेगरी आफूले कार्यसम्पादन गर्ने बताउनुभयो । यसअघि पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाल र सदस्यमा प्राडा देवमणि भट्टराई, प्राडा नारायणप्रसाद निरौला, रतिदेवी जोशी श्रेष्ठ र चेतराज उपाध्याय नियुक्ति भइसक्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार