काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद अन्त्य गर्दै एकताको घोषणा भएपछि बनेको ‘स्टेरिङ कमिटी’ (निर्देशन समिति) को पहिलो बैठकले आगामी १२औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ।
आइतबार भर्चुअल माध्यमबाट बसेको बैठकले उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरेको हो।
समितिका सदस्य आरके शर्माका अनुसार, कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तोकिएको छ। निर्वाचन समितिका अन्य आयुक्तहरूमा अमेरिकाबाट भरत अर्याल, बेलायतबाट सुरेन्द्र श्रेष्ठ र चिरञ्जीवी ढकाल, अष्ट्रेलियाबाट होमनाथ पाण्डे तथा मध्यपूर्वबाट नरेन्द्र भाट र टिबी कार्की रहेका छन्।
बैठकले आगामी महाधिवेशनलाई लक्षित गर्दै सदस्यता वितरण तथा नवीकरण खुला गर्ने निर्णय पनि गरेको छ। जसअनुसार डिसेम्बर ९ तारिखदेखि लागु हुने गरी एक महिनाका लागि सदस्यता खुला गरिनेछ।
सदस्यता वितरणका लागि आवश्यक कार्यविधि बनाएर दुई दिनभित्र स्टेरिङ कमिटीमा पेस गर्ने जिम्मेवारी महासचिवद्वय बीआर लामा र गौरीराज जोशीलाई दिइएको छ। यस्तै, एक वा सोभन्दा बढी राष्ट्रिय समन्वय परिषद् (एनसीसी) भएका देशहरूमा सदस्यता प्रमाणीकरणको जिम्मा सम्बन्धित एनसीसीका अध्यक्ष र महासचिवलाई नै दिने निर्णय बैठकले गरेको छ।
प्रधानमन्त्रीको उपस्थितिमा एकता भएपछिको पहिलो बैठक
प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा एनआरएनएका विभिन्न पक्षबीच एकता भएपछि स्टेरिङ कमिटीको यो पहिलो बैठक हो। बैठकको अध्यक्षता संघका अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसीले संयुक्त रूपमा गरेका थिए भने सञ्चालन महासचिवद्वय बीआर लामा र गौरीराज जोशीले गरेका थिए।
११ सदस्यीय स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ, डा. बद्री केसी, विनोद कुँवर, आरके शर्मा, विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम, भवानी ओली र इन्द्रा बन सदस्य रहेका छन्।