शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कतारको राजधानीमा ‘दोहा फोरम–२०२५ शुरु, अन्तर्राष्ट्रिय सहयोग र प्रविधि नवप्रवर्तनमा केन्द्रित

शनिबार, मंसिर २० २०८२

दोहा(एजेन्सी)–कतारको राजधानी दोहामा शनिबारदेखि सुरु भएको ‘दोहा फोरम सन् २०२५’ मा विश्वका नेता, उच्चस्तरीय कूटनीतिज्ञ र व्यापार विशेषज्ञहरूले सहभागिता जनाएका छन् । फोरमले गाजा सङ्कट, युक्रेन युद्ध, स्वास्थ्य प्रणाली, प्रविधि विकास र कृत्रिम बुद्धिमत्ता (एआई) को द्रुत प्रगतिलगायत विश्वव्यापी चुनौतीहरूबारे बहसको अवसर प्रदान गरेको छ । उद्घाटन समारोहमा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जस्सिम अल थानीले भने,“कतारको भूमिका संवाद र मध्यस्थता कायम राख्न केन्द्रित छ । हामी कुनै पक्षको समर्थन नगरी, सङ्घर्ष समाधान र मानवीय पीडाको अन्त्यमा सहयोग पु¥याउने उद्देश्य राख्छौं ।” उनले गाजा र युक्रेनमा शान्ति प्रयासमा कतारले सक्रिय भूमिका खेलेको जानकारी दिएका छन् ।
फोरम २०२५ मा विश्वप्रसिद्ध उद्यमी र माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि विश्वव्यापी स्वास्थ्य प्रणाली मजबुत पार्न वित्तीय सहयोग र प्रविधिका प्रयोग आवश्यक रहेको बताए । उनले भने,“भविष्यका स्वास्थ्य चुनौतीहरू सामना गर्न हामीले सामूहिक प्रयास गर्नुपर्छ र प्रणाली सुधारमा ध्यान दिनुपर्छ ।”दोहा फोरमले विश्वव्यापी व्यापार प्रणाली, अमेरिकी–चीन सम्बन्ध, प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा आर्थिक संरचना सुधारका विषयमा विचार आदान–प्रदानको अवसर प्रदान गरेको छ । यस वर्षको फोरममा १६० भन्दा बढी देशका ६ हजार सहभागी हुने अनुमान गरिएको छ ।
फोरमका सत्रहरूले गाजा सङ्कट, क्षेत्रीय र विश्वव्यापी मध्यस्थता, स्वास्थ्य सेवा प्रणाली सुदृढीकरण, कृत्रिम बुद्धिमत्ताको जिम्मेवार प्रयोग तथा व्यापार र कूटनीतिक सम्बन्ध सुधारका उपायमा केन्द्रित बहस गरेको छ । फोरमले बहुपक्षीय कूटनीति, अन्तर्राष्ट्रिय सहयोग र जिम्मेवारी सुनिश्चित गर्न विश्वका नेताहरूलाई मार्गदर्शन गर्ने महत्वपूर्ण भूमिका खेलेको छ ।
वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च
कतारको अल–राया दैनिकले शनिबारबाट सुरु भएको दोहा फोरम सन् २०२५ को महत्त्वलाई विशेष रूपमा उजागर गर्दै, यो फोरम अहिलेको संवेदनशील विश्व परिस्थितिमा अत्यधिक आवश्यक भएको टिप्पणी गरेको छ । फोरमले राजनीतिक तनाव, मानवीय सङ्कट र तीव्र प्रविधि–परिवर्तनका बीच विश्वलाई न्यायपूर्ण दिशातर्फ अघि बढाउन योगदान गर्ने विश्वास पत्रिकाले व्यक्त गरेको छ ।
‘दोहा फोरमः अन्तर्राष्ट्रिय न्याय प्रवद्र्धन गर्ने सक्रिय मञ्च’ ले हालको विश्व परिस्थिति र आवश्यकतालाई स्पष्ट रूपमा समेटेको उल्लेख गरेको छ । पत्रिकाका अनुसार, जटिल विश्वयात्रामा राजनीतिक साहस, मानवएकता र सुशासनको आवश्यकता अझ बढिरहेको छ ।दोहा फोरमले कतारलाई केवल आयोजक मात्र नभई विश्वको भविष्य निर्माणमा सक्रिय साझेदारका रूपमा स्थापित गरेको बताएको छ । २५ वर्षपहिले स्थापना भएको फोरम अब विश्व नेता, विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई एउटै मञ्चमा ल्याउने महत्त्वपूर्ण केन्द्र बनेको पत्रिकाको टिप्पणी छ । यस वर्ष १६० देशका ६ हजारभन्दा बढी सहभागी र ४७१ वक्ताहरूको सहभागिताले फोरमलाई झनै प्रभावशाली बनाएको उल्लेख छ ।
फोरमका सत्रहरूले मध्यस्थता, गाजा सङ्कट, विश्व स्वास्थ्यका लागि वित्तीय स्रोत, कृत्रिम बुद्धिमत्ताको रणनीति र प्रमुख शक्तिहरूबीचको सम्बन्ध जस्ता प्रमुख मुद्दा उठाएको बताइएको छ । यी छलफलहरूले दिगो, सन्तुलित र न्यायपूर्ण विश्व निर्माणका लागि व्यावहारिक समाधान खोज्नु अपरिहार्य रहेको सन्देश दिएको पत्रिकाको निष्कर्ष छ । दोहा फोरम सन् २०२५ ले बहुपक्षीय कूटनीतिप्रतिको कतारको दृढ प्रतिबद्धता पुनः पुष्टि गरेको र विश्वका गम्भीर चुनौती समाधान गर्न संवाद र सहकार्यको बाटो मजबुत बनाएको अल–रायाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार