शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए स्टेरिङ कमिटीलाई पूर्णता, कमिटीको पहिलो बैठक आइतवार बस्ने तयारी

शनिबार, मंसिर २० २०८२

काठमाडौँ(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्टेरिङ कमिटीले पूर्णता पाएको छ । संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठबीचको सहमतिअनुसार अष्ट्रेलियास्थित सक्रिय महिला अभियन्ता इन्द्रा बनलाई शनिवार समितिमा समावेश गरिएको हो । उनी थपिएसँगै समितिको सदस्य संख्या ११ पुगेको छ । यसअघि दुवै पक्षबाट ५–५ जना गरी १० जनाको नाम सार्वजनिक गरिएको थियो । समितिमा एक जना महिला सदस्य हुनुपर्ने माग उठेपछि संघको अभियानमा लामो समयदेखि सक्रिय बनलाई चयन गरिएको हो ।
महाधिवेशनको तयारीका लागि गठन गरिएको स्टेरिङ कमिटीको पहिलो बैठक आइतवार बस्ने तयारी गरिएको छ । समितिका अन्य सदस्यहरूमा डा. बद्री केसी (रुस), महेश कुमार श्रेष्ठ (जापान), रतन झा (अमेरिका), गौरीराज जोशी (अमेरिका), गंगाधार गौतम (बेल्जियम), विनोद श्रेष्ठ (अस्ट्रेलिया), भवानी ओली (अस्ट्रेलिया), आरके शर्मा (कतार), विनोद कुँवर (कोरिया) र बीआर लामा (अमेरिका) रहेका छन् । गत आइतबार भएको बृहत् एकता घोषणाका क्रममा कमिटी बनाउनेबारे सहमति भएको थियो । सहमतिअनुसार आगामी छ महिनाभित्र १२औँ महाधिवेशन गरिने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सहमतिअनुसार सन् २०२३ अक्टोबरमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित डा बद्री केसी नेतृत्वको कार्यसमिति र सन् २०२५ मे मा शेष घले संयोजकत्वमा गठित एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई स्वीकार गरिने भएको थियो ।
यसैबीच इन्द्रा बनलाई कमिटीमा ल्याइएपछि विवाद उत्पन्न भएको छ । विशेषगरी शेष घले पक्षले जानकी गुरुङलाई कमिटीमा ल्याउनुपर्ने भनेपछि दुई अध्यक्ष केसी र श्रेष्ठले बनको नाम ल्याएपछि विवाद भएको हो । ‘हामीबाट प्रस्ताव जानकीको गएको थियो । उनको जाँदाखेरी कसैलाई नसोधीकन दुई अध्यक्षले निर्णय गरेर ग्रुपमा हाले’, ती अभियन्ताले भने, ‘ नेपालमै बस्ने र सहजीकरण गर्न सक्ने भन्ने भएकाले उहाँको प्रस्ताव भएको थियो । तर, निर्णय गरिएन । यस्तो कार्यले संघमा अविश्वास बढाउन सक्ने उनको भनाइ छ । यसअघि नैदेखि घले पक्षले एकताबारे आफ्नो रिजर्भेसन राख्दै आएको थियो । एनआरएनए पूर्वअध्यक्ष तथा स्टेरिङ कमिटीका सदस्य विनोद कुँवरले पनि कमिटीहरुमा विगतमा बसेको र एनआरएनएको काममा सहजीकरण गर्ने व्यक्ति भएकाले जानकी गुरुङ उपयुक्त पात्र भएको आफ्नो बुझाइ रहेको बताए ।
एनआरएनएको १२औँ महाधिवेशन ढिलोमा सहमति भएको मितिले छ महिनाभित्र सम्पन्न गर्ने र उक्त मितिभित्र १२औँ महाधिवेशन सम्पन्न गर्दा सन् २०२५ मे मा आयोजित एकताको महाधिवेशनबाट निर्वाचित श्रेष्ठ नेतृत्वको कार्यसमितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने जनाइएको छ । एनआरएनएको १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि १२औँ महाधिवेशनमा उम्मेदवार नहुने व्यक्ति सम्मिलित समिति गठन गर्ने, सदस्यता दर्तामा पारदर्शिता र निष्पक्षताका लागि महासचिव गौरीराज जोशी र बाबुराम लामालाई प्रणाली व्यवस्थापनसम्बन्धी सम्पूर्ण अधिकार दिइएको छ । आगामी महाधिवेशनका अवसरमा ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महासचिव र कोषाध्यक्षले आफ्नो प्रतिवेदन पेस गर्ने, ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा केसीले एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष श्रेष्ठलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्ने जनाइएको छ । एनआरएनको आधिकारिकतालगायत विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले फिर्ता लिने वा आपसी सहमतिका माध्यमबाट समाधान गर्ने सहमतिसमेत भएको छ । सङ्घको दुवै पक्षको आर्थिक पाटोलाई पारदर्शी एवं विश्वासिलो बनाउन स्वतन्त्र तेस्रो पक्षबाट लेखापरीक्षण गराउने जनाइएको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा एनआरएनए स्थापना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार