शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

यूएईमा पीडित नेपाली विद्यार्थीको विवरण संकलन गर्दै नेपाली दूतावास

शुक्रबार, मंसिर १२ २०८२

काठमाडौं(जस)–नेपाली राजदूतावास, अबुधाबीले संयुक्त अरब इमिरेट्स (यूएई) मा अलपत्र पीडित विद्यार्थीको विवरण संकलन गर्ने एको छ । नेपाली दूतावासले एक सूचना जारी गर्दै समस्यामा परेका विद्यार्थीहरुको विवरण संकलनका लागि पोर्टल निर्माण गरिदिन अनुरोध प्राप्त भए बमोजिम परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले पोर्टल तयार गरेको जनाएको छ ।
‘नेपालका केही शैक्षिक परामर्श केन्द्रहरुले संयुक्त अरब इमिरेट्सका फ्रि जोनहरुमा स्थापित तथा संचालित विभिन्न विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरुमा नेपाली विद्यार्थीहरु पठाउने गरेको र ती शैक्षिक संस्थाहरु मध्ये कतिपय मापदण्डअनुरुप संचालन नभएको, विभिन्न विदेशी विश्वविद्यालयसँग आवद्ध भएको भनिएकोमा त्यस्तो नपाइएको, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरुको आफ्नै भवन नभएको, केही महिना मात्र भाडामा लिएको अर्पााटमेन्टमा भौतिक कक्षा संचालन गरी त्यसपछि अनलाइन कक्षा हुने गरेको, प्रतिवद्धताअनुरुप सेवा सुविधा उपलब्ध नगराएको लगायतका गुनासाहरु प्राप्त भैरहेका छन्’ दूतावासको विज्ञप्तिमा छ ।
दूतावासले भनेको छ–‘यसरी पीडित भएको भनिएका विद्यार्थीहरुले हाल संयुक्त अरब इमिरेट्समा रहेका वा कोर्स पूरा नगरी नेपाल फर्किएका, प्रतिबद्धता अनुसार युएईमा रोजागरी नपाएका, कक्षा संचालन नभएका र नेपालका शैक्षिक परामर्श केन्द्र र मापदण्डअनुरुप संचालन नभएका भनिएका संयुक्त अरब इमिरेट्सका विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरुको गलत सूचना तथा जानकारीका कारण समस्यामा परेका विद्यार्थीहरुको विवरण संकलनका लागि पोर्टल निर्माण गरिदिन अनुरोध प्राप्त भए बमोजिम परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले पोर्टल तयार गरेको छ । तसर्थ, माथि उल्लिखित वर्गका पीडित विद्यार्थीहरुले तल दिइएको लिंक अथवा क्यूआर कोडमा विवरण संकलन फारम भरी १५ दिनभित्र पेश गर्न सबैमा अनुरोध गरेको छ । साथै, विवरण प्राप्त भएपश्चात कार्यालयको प्रयोजनको लागि मात्र उक्त विवरण प्रयोग गरिने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार