शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

‘एकता सन्देश सभा’तिर नेकपा, प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता

सोमबार, मंसिर १ २०८२

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभर ‘एकता सन्देश सभा’ सञ्चालन गर्दै राजनीतिक सक्रियता तीव्र बनाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा सोमबार सार्वजनिक गरिएको प्रेस नोटमा मंसिर महिनाभर विभिन्न तह र स्थानमा सभा सञ्चालन गरिने उल्लेख छ।

सोमबार जारी प्रेस नोटअनुसार प्रदेशस्तरीय एकता सभाहरू मंसिर १२ देखि २३ गतेसम्म सुदूरपश्चिमबाट सुरु भएर क्रमशः लुम्बिनी, गण्डकी, कोशी, उपत्यका विशेष, कर्णाली, संघीय संरचना समन्वय प्रदेश, मधेश र बागमती प्रदेशमा आयोजना हुनेछन्।

त्यस्तै, विदेशस्थित संरचनाका लागि मंसिर २१ गते साँझ ६ बजे भर्चुअल सभा आयोजना गरिने भएको छ। प्रदेश कार्यालयहरूको समन्वयमा मंसिर २६ गतेसम्म सबै जिल्लामा र मंसिर २९ गते देशभरका सबै स्थानीय तहमा एकैदिन एकता सन्देश सभा सञ्चालन गर्ने निर्णय पनि प्रेस नोटमा उल्लेख छ।

पार्टीले सबै तहका सभाको आयोजना तथा व्यवस्थापन सम्बन्धित प्रदेश, जिल्ला र स्थानीय तहका कार्यालयले गर्ने जनाएको छ।

सोमबार नै नवगठित नेकपाले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको छ। नेता राजेन्द्र पाण्डे नेतृत्वको टोली निर्वाचन आयोग पुगेपछि फागुन २१ गते हुने निर्वाचनका लागि दल दर्ता प्रक्रिया सम्पन्न भएको हो।

तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १२ वाम दल एकीकृत भई कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो। आयोगले मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्ने समय निर्धारण गरेको छ।

दल दर्ता गरी निस्कँदै पाण्डेले विगतमा कम्युनिस्ट नेतृत्वमा बनेको सरकारले ‘हेलिकप्टर लिएर भाग्नुपर्ने’ अवस्था आएको भन्दै कम्युनिस्ट आन्दोलनमाथि अन्याय भएको टिप्पणी गरे। उनले नेकपा एमाले अध्यक्ष केपी ओलीको संसद् पुनर्स्थापनासम्बन्धी धारणा पनि ‘नसुहाउने’ बताए।

उनका अनुसार, निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउने जिम्मा सरकारको भए पनि यसलाई सफल बनाउन सबै दलको भूमिका आवश्यक छ।

यसैबीच दल दर्ता भएपछि नाम मिलानको विषयले भने पुनः विवाद निम्त्याएको छ। पहिले नै आयोगमा दर्ता रहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले नयाँ दर्ता भएको नेपाली कम्युनिस्ट पार्टीसँग नाम अत्यन्त मिल्दोजुल्दो भएको भन्दै कात्तिक २६ मै उजुरी दिएका थिए। तर आफूले दिएको उजुरीमाथि सुनुवाइ नगरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको आरोप उनले लगाएका छन्।

सुवेदीले ‘प्रचण्ड–माधव समूहको बलमिच्याइँविरुद्ध सर्वोच्च अदालत जाने’ चेतावनी पनि दिएका छन्।

उता पाण्डेले भने नाम मिल्दैन भन्दै विवाद अस्वीकार गरे।
‘लोकनारायणजीको पार्टी नेपाल कम्युनिस्ट पार्टी हो, हाम्रो नेपाली कम्युनिस्ट पार्टी छोटकरी नाम पनि फरक हुन्छ। उहाँहरूले सीपीएन भनेका छन्, हामीले एनसीपी,’ पाण्डेले तर्क गरे।

२०७५ सालमा माओवादी केन्द्र र एमाले एक भएर बनाएको नेपाल कम्युनिस्ट पार्टी सर्वोच्च अदालतले २०७७ फागुन २३ मा बदर गरेको उदाहरण ताजा नै छ।

तर यसपटक आयोगले नयाँ नेकपालाई मान्यता दिएको विषयमा कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भाषाविद् तथा कानुनविदसँगको परामर्शपछि दुवै नाम फरक ठहरेको दाबी गरेका छन्।

उनका अनुसार, नेपाल भन्ने शब्द ‘देश’ जनाउँछ, नेपाली भने ‘जनता’ जनाउँछ। भण्डारीका अनुसार आयोगमा पहिल्यै दर्ता भएको पार्टी कम्युनिस्ट पार्टी अफ नेपाल हो, जबकि अहिले दर्ता भएको पार्टी नेपाली कम्युनिस्ट पार्टी भएकाले दुवै भिन्न मानिनुपर्छ।

‘नेपाली कम्युनिस्ट पार्टीले छोटकरी नाम राख्न पाउँदैन,’ उनले स्पष्ट गरे। एकता सन्देश सभा र दल दर्तासँगै नवगठित नेकपा देशभर राजनीतिक गतिविधि तेज गर्दै आगामी निर्वाचनका तयारीमा जुटेको संकेत दिएको छ।
यसैबीच सुवेदीले ‘नेकपा’ नाममा प्रचण्डले बलमिच्याइँ गरेकोमा आपत्ति जनाए । ‘नेपाल कम्युनिस्ट पार्टी नामको दल यसअघि नै निर्वाचन आयोगमा दर्ता थियो, प्रचण्डले बलमिच्याईँ गरे अब हामी सर्वोच्च अदालत जान्छौं’ नेता सुवेदीले भने ।

उनले जेन्जी विद्रोहको बलमा बनेको सरकार जनताको पक्षमा नरहेको जिकिर गर्दै भने, “भारतीय टाउको र अमेरिकी हातखुट्टावाला वर्तमान सरकार देशको हितका लागि भन्दा विदेशीको सेवामा समर्पित भएको प्रष्ट छ ।”
“यस्तो विषम परिस्थितिमा पुष्पलालका वास्तविक अनुयायी हामीहरु एक भएकाछौं । यो समयको माग हो र सबै एक भएर देश र जनतालाई विदेशी हैकमबाट मुक्त गर्दै स्वाधीन राष्ट्र बनाउन प्रतिबद्ध रहेकाछौं,” सुवेदीले थपे ।

प्रतिक्रिया
सम्बन्धित समाचार