शेरबहादुर सिंह ।
महेन्द्रनगर । गत भदौ २३ गते साँझ बझाङ खप्तडछान्ना गाउँपालिका–७ गोरखालीकी कैलीदेवी बोहरा भारतको बैङ्ग्लोरस्थित साहुको घरको काममा व्यस्त हुनुहुन्थ्यो । साँझपख बझाङका आफन्तले खबर पु¥याए, “तिम्रो छोरा अब यस संसारमा रहेन ।”
सन्तानलाई राम्रो शिक्षादिक्षा दिन सकुँ भनी बैङ्ग्लोरमा मजदुरी गर्दै आउनुभएकी उहाँलाई संसार सकिए जस्तो भयो । मुटु फुट्ला जस्तो भयो, श्वास कसैले चुँडेर लगे जस्तै भयो ।
बोहराका जेठो छोरा सुभासको सोही दिन दिउँसो जेनजी आन्दोलनका क्रममा काठमाडौँमा गोली प्रहारबाट मृत्यु भएको थियो । जीवनको भरोसाका रुपमा रहेको छोरालाई गुमाउनु पर्दाको पीडा कैलीदेवीको मनले थाम्नसक्ने अवस्था रहेन ।
“अघिल्लो दिन भदौ २२ गते साँझ छोरासित दसैँमा घर जाने विषयमा भलाकुसारी भएको थियो, २३ गते काम सकेर कुराकानी गर्ने सुरसार गर्दै थिए, छोराको मृत्युको खबर आयो”, कैलीदेवीले सुनाउनुभयो ।
“अघिल्लो दिन भदौ २२ गते साँझ छोरासित दसैँमा घर जाने विषयमा भलाकुसारी भएको थियो, २३ गते काम सकेर कुराकानी गर्ने सुरसार गर्दै थिए, छोराको मृत्युको खबर आयो”, कैलीदेवीले सुनाउनुभयो ।
कैलीदेवी करिब १० महिनाअघि मजदुरी गर्नका लागि बैङ्ग्लोर पुग्नुभएको थियो । छोराको मृत्युपछि बैङ्ग्लोरमा रहेका आफन्तले पैसा जुटाएर विमानमार्फत काठमाडौँ पठाएको उहाँले बताउनुभयो । अहिले उहाँ कान्छो छोरा सन्दीपसँग काठमाडौँ सिनामङ्गलमा रहेको डेरामा दिन कटाइरहनुभएको छ । “छोरा गुमाएपछि के गर्ने भन्ने सोच्नै सकेकी छैन, बाँकी दिन कसरी कटाउने हो टुङ्गो छैन”, उहाँले सुनाउनुभयो, “सुभास विदेश गएर परिवार पाल्छु भन्थ्यो, आफैँ अस्तायो ।”
सुभासले सहादत प्राप्त गरेपछि कैलीदेवीले धनगढीमा कक्षा–९ मा पढिरहेको छोरा सन्दीपलाई लिएर काठमाडौँ जानुभएको थियो । अहिले सन्दीपलाई एक जना म्याडमले तीनकुनेमा रहेको एउटा स्कुलमा तीन वर्षसम्म पढाइदिन्छु भन्नुभएको छ । “छोरा पढाउने जिम्मा एक जना म्याडमले लिनुभएको छ, बाँकी अहिलेसम्म सञ्चो विसञ्चोसम्म सोध्न कोही आएको छैन”, उहाँले भन्नुभयो, “हामी आमा÷छोरा टुहुरा जस्तै भएर बसेका छौँ ।”
काठमाडौँमा बस्न सुरु गरेपछि पैसाको अभाव बढ्दै गएको छ । डेरा भाडा मासिक रु छ हजार छ, त्यसको जोहो कसरी हुन्छ भन्ने पनि थाहा छैन ।
कैलीदेवीको जीवनमा आइपरेको दुःख यो नयाँ होइन, गत वर्ष श्रीमान् बेपत्ता भएपछि नै सुरु भएको हो । उहाँका श्रीमान दीपक बोहरा भारतको बैङ्ग्लोरमा मजदुरी गर्नुहुन्थ्यो । एक वर्षअघि घर आएका दीपक बझाङबाट धनगढी झरेका थिए । त्यसपछि परिवारसँग सम्पर्क छैन । श्रीमान् हराएपछि उहाँ आफैँ मजदुरी गर्न बैङ्ग्लोर पुग्नुभएको थियो ।
“दश महिना बैङ्ग्लोरकमा घर/घरमा पुगेर भाडा माझेँ महिनामा २० हजार रुपैयाँ जति कमाइ हुन्थ्यो, दसैँमा घर जान कान्छो छोरालाई रु १० हजार पठाएकी थिएँ, सुभासले केही दिनपछि पठाए पनि हुन्छ भनेको थियो”, उहाँले भन्नुभयो । पहिले श्रीमान् र अहिले छोराले छाडेर गएपछि कैलीदेवीको परिवारमा आमा छोरामात्रै हुनुहुन्छ । आम्दानी नभएपछि परिवारमा आर्थिक सङ्कट चुलिन थालेको छ । अहिले उहाँ काठमाडौँमा छोरासँगै बस्नका लागि आयस्रोतको बाटो खोज्दै हुनुहुन्छ ।
कैलीदेवीको जीवनमा आइपरेको दुःख यो नयाँ होइन, गत वर्ष श्रीमान् बेपत्ता भएपछि नै सुरु भएको हो । उहाँका श्रीमान दीपक बोहरा भारतको बैङ्ग्लोरमा मजदुरी गर्नुहुन्थ्यो । एक वर्षअघि घर आएका दीपक बझाङबाट धनगढी झरेका थिए । त्यसपछि परिवारसँग सम्पर्क छैन । श्रीमान् हराएपछि उहाँ आफैँ मजदुरी गर्न बैङ्ग्लोर पुग्नुभएको थियो ।
भीमराज सहिद बन्दा व्यवसाय चौपट
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौँको कालीमाटीमा गोली लागेर बझाङ दुर्गाथली गाउँपालिका–१ का २८ बर्षीय भीमराज धामीले सहादत प्राप्त गर्नुभयो ।
छ वर्षदेखि कीर्तिपुरमा गाइफार्म र डेरी सञ्चालन गर्दै आउनुभएका धाँमी आठ दाजुभाइमध्येका कान्छा हुन् । सहिद धामीका दाजु दुर्गाथली गाउँपालिका–१ का वडाध्यक्ष अम्मरराज धामीले भाइको निधनपछि परिवारमा पहिरो गएको बताउहुन्छ ।
“तीन महिनाको दूधे बालक छोडेर भाई भीम सदाका लागि कालीमाटीमा अस्तायो”, वडाध्यक्ष धामीले भन्नुभयो, “कोरिया जाने योजनामा काठमाडौँ गएको थियो, जाने निश्चित नभएपछि कीर्तिपुरमा व्यवसाय सञ्चालन गरिएको थियो ।”
भीमराजले सञ्चालन गरेको गाईफार्म र डेरी चलाउन अहिले सकस भइरहेको छ । “करिब रु ५० लाख व्यवसायमा लगाएको थिँए, घटनापछि सबै चौपट भयो, यता परिवारको विचल्ली उता व्यवसाय सञ्चालनमा समस्या भयो”, उहाँले भन्नुभयो र भाइलाई सरकारले सहिद घोषणा गरेर क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाएको बताउनुभयो । सरकारले जेनजी आन्दोलनका क्रममा सहिद बनेका मृतकका परिवारलाई रु १० लाख दिने घोषणा गरेको छ । (यो तस्बिर एआईद्वारा सिर्जित हो )