सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ऊर्जामन्त्री कुलमान घिसिङ राजनीतिमा, ‘उज्यालो नेपाल’ पार्टीको नेतृत्वमा पूर्वसचिव उपाध्याय

बुधबार, कार्तिक २६ २०८२

काठमाडौं(जस)–ऊर्जामन्त्री कुलमान घिसिङ अन्ततः राजनीतिमा होमिएका छन् । उनले आफूनिकट व्यक्तिहरूलाई परिचालन गरी निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको ’उज्यालो नेपाल पार्टी’लाई अध्यावधिक गराउँदै राजनीतिक यात्राको सुरुवात गरेका हुन् ।निर्वाचन आयोगका अनुसार, पहिले ज्ञानबहादुर तामाङ अध्यक्ष रहेको उक्त पार्टीलाई संशोधन गरी घिसिङकै प्रस्तावमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाइएको छ । पार्टीले ५१ सदस्यीय केन्द्रीय समितिको विवरण आयोगमा बुझाएको छ, जसमा समाजका विभिन्न क्षेत्रका परिचित अनुहारहरू समेटिएका छन् ।
पार्टीको केन्द्रीय समितिमा पूर्व संयोजक ज्ञानबहादुर तामाङ सदस्यको भूमिकामा छन् भने पाँचथरका पहिचानवादी अभियन्ता प्रा.डा. महेन्द्र सुन्दर लावती, इलाम–२ को उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका डकेन्द्रसिंह थेगिम, ताप्लेजुङकी सरस्वती सुब्बा (लिम्बू) लगायतलाई पनि महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । रोचक त के छ भने, धरानका मेयर हर्क साम्पाङको साथ छाडेर थेगिम कुलमानको कित्तामा उभिएका छन् । यसअघि उपनिर्वाचनमा हर्कले थेगिमलाई जिताउन मैदानमै उत्रिएर सहयोग गरेका थिए ।
घिसिङको पार्टीमा सुदूरपश्चिमका स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी पनि जोडिएका छन् । त्यस्तै, पुराना दलहरूको कडा आलोचना गर्दै आएकी नायिका रीमा विश्वकर्मा र जेन–जी अभियानबाट मन्त्रीका लागि प्रस्तावित भएर पनि विवादका कारण पछि हटेकी हुम्लाकी टासी ल्हाजोम पनि केन्द्रीय समितिमा अटाएकी छन् । समितिको सूची हेर्दा यसमा डा. सागर ढकाल, डा. शंकर ढकाल, डा. विशाल भण्डारी जस्ता विभिन्न क्षेत्रका विज्ञ र व्यावसायिक व्यक्तिहरूको बाहुल्यता देखिन्छ ।
’उज्यालो नेपाल’ पार्टी गठनको प्रक्रियामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अभियानसँगको सहकार्यको प्रयास भने असफल भएको छ । ऊर्जामन्त्री घिसिङसँग मंगलबार दुई चरणमा भएको वार्तामा कुरा नमिलेपछि जेनजी नेता सुदन गुरुङसहित ६ जना प्रदेश संयोजकहरू पछि हटेका छन् । उनीहरू केन्द्रीय समितिको सूचीमा समावेश छैनन् । यसैगरी, मेयर बालेनको सचिवालयले पनि घिसिङसँग सहकार्यको प्रयास गरेको थियो तर अन्तिममा कुरा मिलेन । बालेन निकट एक स्रोतका अनुसार घिसिङले पार्टीको नाम र अन्य विषयमा एकलौटी निर्णय गरेपछि बालेनको टोली पछि हटेको हो । स्रोतले भन्यो, “कुलमान घिसिङबाट पार्टीमा आउन हाम्रा साथीहरूलाई पटक–पटक नागरिकता लगायतका कागजात मागिएको थियो, तर समझदारीमै प्रश्न उठेपछि कोही पनि गएनन् ।“
घिसिङसँगको सहकार्य टुटेपछि अब मेयर बालेनले आफ्नै सचिवालयका सदस्यमार्फत नयाँ दल खोल्ने तयारी गरेका छन् । बालेनको नेतृत्वमा ’देश विकास पार्टी’ नामक दल दर्ता प्रक्रियामा रहेको र त्यसको संयोजकमा सुदीप ढकाल रहने स्रोतको दाबी छ । उक्त पार्टीले ’लौरो’ चुनाव चिह्न प्रस्ताव गरेको छ, यद्यपि यो चिह्न हाल ’हामी नेपाली पार्टी’सँग रहेकोले यसमा कानुनी अड्चन आउन सक्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार