शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

अस्ट्रेलियामा भेटियो दैत्यको जस्तो सिङ भएको ‘लूसिफर’

मंगलबार, कार्तिक २५ २०८२

एजेन्सी । अस्ट्रेलियामा वैज्ञानिकहरूले साना सिङ भएको रैथाने मौरीको एउटा नयाँ प्रजाति पत्ता लगाएका छन्। उनीहरूले त्यसको उपयुक्त नामकरण पनि गरेका छन्।

एउटा दुर्लभ जङ्गली फूलबारे अध्ययन गरिरहँदा खोजकर्ताहरूले ‘मेगाकाइल लूसिफर’ नाम दिइएको उक्त मौरी फेला पारेका हुन्। उक्त फूल पश्चिम अस्ट्रेलियाको गोल्डफील्ड क्षेत्रस्थित ब्रमर रेन्जेमा मात्रै फुल्छ। उक्त स्थान पर्थबाट ४७० किमि पूर्वमा छ।

उक्त सिङ ‘अत्यन्तै विशिष्ट प्रकारको र सहजै देख्न सकिने’ खालको हुन्छ र पोथी मौरीमा मात्रै पाइन्छ। पोथी मौरीले ती सिङ सम्भवतस् प्रतिरक्षाका निम्ति, परागकण र रस सङ्कलन गर्न अथवा गुँड बनाउनका लागि चाहिने चिपचिपे पदार्थ जम्मा गर्न प्रयोग गर्ने ठानिएको छ।

शोधको नेतृत्व गरिरहेकी वैज्ञानिकका अनुसार उक्त अध्ययन चल्दै गर्दा उनी नेट्फ्लिक्समा ‘लूसिफर’ नामको ‘सिरीज’ हेर्दै थिइन्। आफू त्यसबाट उक्त मौरीको नाम लूसिफर राख्न प्रेरित भएको उनले बताइन्।

उनका अनुसार यो मौरी उक्त परिवारमा २० वर्षयता फेला परेको नयाँ प्रजाति हो। ‘त्यो पोथी मौरीको अनुहारमा भिन्न खालका ससाना सिङहरू थिए,’ कर्टिन विश्वविद्यालयकी डा किट प्रेन्डर्ग्यास्टले भनिन्। ‘उक्त नयाँ प्रजातिका विवरणहरू लेख्दै गर्दा म नेट्फ्लिक्समा लूसिफर शीर्षित कार्यक्रम हेर्दै थिएँ र मलाई यो नाम एकदम उपयुक्त लाग्यो। म उक्त सिरीजको लूसिफर पात्रकी ठूली प्रशंसक हुँ। त्यसैले निर्णय गर्न निकै सजिलो भयो।’

‘लूसिफर’को अर्थ के हो ?

ल्याटिन भाषामा लूसिफरको शाब्दिक अर्थ ‘प्रकाश ल्याउने’ हुन्छ। इसाई परम्परामा लूसिफरलाई दैत्यका रूपमा चित्रण गरिन्छ। ईश्वरसँग विद्रोह गरेर स्वर्गबाट पतन भएको लूसिफरको टाउकोमा पनि सिङ भएको कथा पाइन्छ।

डा प्रेन्डर्ग्यास्टका अनुसार लूसिफर नामले रैथाने प्रजातिका मौरीको उचित संरक्षणको खाँचो भएको र लोपोन्मुख वनस्पतिहरूमा कसरी परागसेचन हुन्छ भन्ने बुझाउन आवश्यक भएको सङ्केत पनि गर्छ।

‘जर्नल अफ हाइमनोप्टेरा रिसर्चु नामको जर्नलमा प्रकाशित उक्त शोधपत्रमा मौरीको नयाँ प्रजाति र दुर्लभ जङ्गली फूल भेटिएको स्थानलाई’ नष्ट गर्न नमिल्ने गरी औपचारिक रूपमै संरक्षित क्षेत्र घोषित गर्नुपर्नेू उल्लेख गरिएको छ।

‘एउटै सानो क्षेत्रमा सङ्कटापन्न जङ्गली फूल र मौरीको प्रजाति भेटिएकाले त्यहाँ उत्पन्न हुने बाधा र जलवायु परिवर्तनजस्ता अन्य प्रक्रियाले जोखिम निम्त्याउन सक्छ,’ उनले भनिन्।

उनका अनुसार खानी सञ्चालन गर्ने धेरै कम्पनीहरूले आफ्नो कामको पर्यावरणीय प्रभाव मूल्याङ्कन गर्दा रैथाने मौरीहरूलाई बेवास्ता गर्ने पनि उनले बताइन्।

‘त्यसैले स्पष्ट रूपमा वर्णन नगरिएका प्रजातिहरूलाई हामीले छुटाउन सक्छौँ। तिनमा सङ्कटग्रस्त वनस्पति र पारिस्थितिक प्रणालीमा सघाउने प्रजातिहरू पनि पर्छन्।’

‘कुनकुन रैथाने मौरी अस्तित्वमा छन् र कुनकुन वनस्पतिमा ती निर्भर छन् भन्ने थाहा नपाउँदै हामी तिनलाई गुमाउन सक्ने खतरामा छौँ।’

प्रतिक्रिया
सम्बन्धित समाचार