काठमाडौँ(जस)–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताएका छन । उनले सोमबार सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद् र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गरे । महामन्त्री थापाले भने,“संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।”
उनले नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको निर्णय स्पष्टरूपमा प्रस्तुत गरिसकेको बताए । उनले कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल निर्वाचनको विषयका सन्दर्भमा नभएको स्पष्ट पारे । महामन्त्री थापाले निर्वाचनअघि पार्टीको अधिवेशन गरे अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउने पनि उल्लेख गरे ।
यसैगरी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताएका छन । सोमबार शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताएका हुन । उनले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौँ, देशको यो सङ्कट कांग्रेसले पार लगाउनेछ ।”
सिंहले पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे टिप्पणी गर्दै भने, “नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य छैन, अहिलेको प्राथमिकता देशलाई सङ्कटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो ।” उनले जेनजीका माग सम्बोधनका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको र नयाँ पुस्ताको विचार, ऊर्जा तथा आकाङ्क्षालाई पार्टी संरचनामा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र स्थानीय बासिन्दाले गणेशमान सिंहको लोकतान्त्रिक योगदानको स्मरण गर्दै उनको सालिकमा माल्याार्पण गरेका थिए ।
नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा
नेपाल ट्रेड युनियन कांग्रेसले कांग्रेसको नियमित महाविधेशनको पक्षमा जोड दिएको छ । ट्रेड युनियनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनले राजनीतिक र सामाजिक परिस्थिति बदलिदिएको बताउँदै अब कांग्रेसको महाधिवेशनमा जेन्जी पुस्ता समेटिनुपर्ने धारणा समेत राखिएको छ । युनियनले नेपाली कांग्रेसको आगामी महाधिवेशनका जेन्जी आन्दोलनपछि श्रमिकको अवस्था र आगामी निर्वाचनप्रति सरकारको ध्यानाकर्षण गराउन विभिन्न १३ बुँदामा निर्णय गरेको छ ।
जसमध्ये, कांग्रेसको वर्तमान कार्य समितिको पदावधिको समय यही २०८२ मङ्सिरभित्र मात्र रहेको र आगामी महाधिवेशनको मितिलाई लिएर कांग्रेसको लामो समयदेखि चलिरहेको निरन्तरको बैठकप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आगामी निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउन नयाँ नीति र ताजा नेतृत्वसहित सहभागी हुनुपर्ने र महासङ्घ आम निर्वाचनपूर्व एकीकृत रूपमा सहमतिका साथ विधानका साथै संविधानको मूल मर्मअनुसार सबै वर्गको सहभागिता हुनेगरी यथाशीघ्र महाधिवेशन गर्ने निर्णय बैठकले गरेको छ ।
कांग्रेसको निर्णय विहीनताले मुलुक पनि दिशाविहीन भएको समेत महासङ्घको ठहर रहेको छ । कांग्रेसको विशेष जिम्मेवारीमा रहेका शीर्ष नेतृत्वबाहेक प्रत्यक्ष तथा समानुपातिकतर्फ दुई पटकभन्दा बढी संसदीय प्रतिनिधिका रूपमा अवसर पाइसकेकाहरूलाई सङ्गठनको जिम्मेवारी दिई दोहोरो जिम्मेवारी नहुनेगरी युवा, महिला र श्रमिक वर्ग समेत समावेशी रूपमा समेट्ने गरी उम्मेदवारहरू तय गर्ने नीति लिन कांग्रेसलाई आह्वान गरेको छ । त्यसैगरी पार्टी संरचनाभित्र पनि आरक्षित सिटहरूमा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर नपाउने व्यवस्था गर्नुपर्ने युनियनको निर्णय छ ।
युनियनका अध्यक्ष योगेन्द्रकुमार कँुवरले श्रमिकहरूको पक्षका सरकार विगतदेखि उदासीन भएको बताउँदै हाल मन्त्री विहीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री नियुक्ति गर्न सरकारलाई ध्यानकेन्द्रित गराउने बताए । उनले श्रमिकले समाजको सबै समुदायको प्रतिनिधित्व गने हुँदा संविधानमा छुट्याइएका विभिन्न क्लस्टरमध्ये, श्रमिक र कृषकको स्थान सुनिश्चित गरिनुपर्ने धारा राखे । उनले अबको कांग्रेसको महाधिवेशनमा जेनजी पुस्तालाई समेटिनुपर्ने बताए । यसैगरी युनियनका महासचिव अजयकुमार राईले जेनजी आन्दोलनपछिको सामाजिक, राजनीतिक रूपान्तरणको अपेक्षाप्रति राजनीतिक पार्टीले गम्भीर आत्मसात् गर्नुपर्ने बताए ।