काठमाडौं(जस)–जेनजी आन्दोलपछि सत्ताबाट किनारामा पुगेका राजनीतिक दलहरु अहिले नयाँ शक्ति आर्जनकोे तीव्र चाहनामा छन् । हाल सरकारको नेतृतव गरिरहेकी प्रधानमन्त्री शुशीला कार्कीको सरकारले फागुन २१ मा निर्वाचनको घोषणा गरेसँगै प्रमुख राजनीतिक दलहरु फेरि नयाँ ढंगले जनतासामु प्रस्तुत हुने रणनीतिमा लगोका छन् । यसक्रममा सरकारको चुनाव घोषणालाई सबैभन्दा पहिले समर्थन गरेका तत्कालीन माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओबादी पार्टी नै विघटन गर्दै १० राजनीतिक दल मिलाएर नेपाली कम्युनिस्ट पार्टीको संयोजक बनाएका छन् ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन आयोगमा बुझाएको छ । आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङलगायतका नेताहरु आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरू बुझाइएका हुन् । नेपाली कम्युनिस्ट पार्टी आबद्ध दलका प्रतिनिधिहरूले विधान, माइन्युट, नयाँ पार्टीको घोषणापत्र लगायतका कागजात बुझाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० वाम दल र अभियानबीच एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइएको छ । यसको घोषणा कार्तिक १९ गते गरिएको थियो ।
नेता वर्षमान पुनले पार्टीले निरन्तर कम्युनिस्ट एकतालाई अघि बढाउने विश्वास व्यक्त गर्दै केही नेताहरू अल्मलिएको बताए । जनार्दन शर्मा र घनश्यामलगायत कम्युनिस्ट नेताहरू एउटै बाटोमा भए पनि घुम्तीमै अल्मलिएको उनको भनाइ छ । छुटेका नेताहरू पनि एक दिन कम्युनिस्ट एकतामा फर्किने उनको आशा छ । नेपाली कम्युनिस्ट पार्टी माओवादी, नेकपा एकीकृत समाजवादी लगायत १० वामपन्थी दलबीचको एकतापछि गठन भएको हो । पार्टीले अघि पनि दल दर्ताका लागि निवेदन पेस गरेको थियो । निर्वाचन आयोगले केही कागजात अपुग भएको जनाएपछि पार्टीले आवश्यक कागजात उपलब्ध गराएको थियो ।
भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेशको तयारीमा
नेकपा (एमाले) बाट निष्कासित नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने अन्तिम चरणमा पुगेका छन् । आइतबार साँझ प्रचण्ड, माधव नेपाल, रावल, प्रकाश ज्वाला र भानुभक्त जोशीबीच भएको भेटवार्तामा सहमति नजिक पुगेको स्रोतले बताएको छ । स्रोतका अनुसार केही प्राविधिक विषय टुङ्गिएपछि रावल औपचारिक रूपमा नेकपामा प्रवेश गर्न सक्नेछन् । गत साता १० दलबीचको एकता घोषणामा पनि रावललाई समावेश गर्ने प्रयास भए पनि अन्तिम सहमति हुन सकेको थिए । अहिले भने सहकार्यबारे समझदारी बढेको नेपाली कम्युनिस्ट पार्टीका नेताहरूको भनाइ छ ।
एमालेले अनुशासन उल्लङ्घनको आरोप लगाउँदै गत पुसमा रावललाई पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि उनले ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्दै अलग राजनीतिक अभियान थालेका थिए । छलफलमा सहभागी नेता प्रकाश ज्वालाका अनुसार वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ । ’हामी विभिन्न नेताहरूसँग निरन्तर संवादमा छौँ,’ उनले भने, ’भीम रावलसँगको छलफल पनि सकारात्मक छ ।’
जनार्दनलाई छोडेर अन्जना बिशंखे प्रचण्डकै कित्तामा
माओवादी केन्द्रकी नेतृ अन्जना बिशंखे नेपाली कम्युनिष्ट पार्टीमा गएकी छन् । यसअघि एकता प्रक्रियामा असहमति जनाउदै जनार्दन शर्माको पक्षमा लागेकी बिशंखे एकतालाई स्वीकार गर्दै नेपाली कम्युनिष्ट पार्टीमै लाग्ने निर्णय गरेकी हुन् । बिशंखे गत मंगलबार जनार्दन शर्माले गरेको पत्रकार सम्मेलनमा समेत उपस्थित रहेकी थिइन् । अब भने उनले जनार्दनलाई छोडेर प्रचण्डकै कित्तामा उभिएकी छन् ।
एमालेमा प्रवेश गर्ने झाँक्रीको तयारी
पूर्व मन्त्री रामकुमारी झाँक्रीले छिट्टै नेकपा (एमाले) मा प्रवेश गर्ने संकेत गरेकी छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० कम्युनिष्ट घटकबीच एकता हुँदा बाहिरै बसेकी झाँक्रीले एमालेमा फर्किने मनस्थिति बनाएकी हुन् । ‘मेरो राजनितिक जीवनको उतारचढाव हो यो। तपाईहरूप्रतिको मेरो उत्तरदायित्व सधै रहनेछ। खासगरी गत निर्वाचनमा म तपाईहरू विचमा आएँ आफ्नो दल विर्सेर वा मलाई आफ्नो ठानेर वा मलाई आफैजस्तो ठान्नु भयो । यो सहयोग, सदभाव र स्नेहलाई सधै मानषपटलमा राख्नेछु । मैले केही निर्णय लिदैछु। यसलाई हजुरहरूले सामान्य रूपमा लिनको लागि हार्दिक अनुरोध गर्दछु,’– उनले भनेकी छन् । स्रोतका अनुसार सोमबार एमालेले कार्यक्रम राखेको छ । सोही कार्यक्रममा झाँक्रीले एमाले प्रवेश गर्ने तयारी रहेको बताइएको छ ।