काठमाडौं(एजेन्सी)–अमेरिकाले अब देखि मधुमेह, मोटोपनाजस्ता स्वास्थ्य समस्या भएका विदेशी नागरिकलाई भिसा अस्वीकार गर्न सकिने व्यवस्था लागू गरेको छ । ट्रम्प प्रशासनले नयाँ निर्देशन जारी गरी अमेरिका प्रवेशमा थप कडाइ गर्दै यस्तो व्यवस्था लागु गरेको हो । सीबीएस न्युजका अनुसार यो निर्देशन अमेरिकी विदेश मन्त्रालयले दूतावास तथा वाणिज्य दूतावासहरूलाई पठाएको हो । निर्देशनमा भिसा आवेदकले ‘पब्लिक चार्ज’ अर्थात् सरकारको आर्थिक बोझ बन्न सक्ने सम्भावना देखिएमा उनीहरूलाई अयोग्य मान्न अधिकारीहरूलाई सुझाइएको छ ।
निर्देशनमा भनिएको छ,‘आवेदकको स्वास्थ्य अनिवार्य रूपमा विचार गर्नुपर्छ । कार्डियोभास्कुलर रोग, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, मधुमेह, मेटाबोलिक तथा स्नायु रोगदेखि मानसिक स्वास्थ्य समस्यासम्मले अत्यधिक महँगो उपचार आवश्यक पर्न सक्छ ।’ यससँगै भिसा मूल्यांकनमा संक्रामक रोग वा खोप अभिलेख मात्र होइन, दीर्घरोग तथा उमेरसम्बन्धी जोखिम पनि प्रमुख तत्वका रूपमा समावेश गरिएका छन् ।
मोटोपनाले दम, स्लीप एपनिया तथा उच्च रक्तचाप उत्पन्न गराउन सक्ने भएकाले यसलाई पनि पब्लिक चार्जको जोखिमसँग जोडेर मूल्यांकन गर्न निर्देशनमा उल्लेख छ । विश्वको करिब १० प्रतिशत जनसंख्या मधुमेहबाट पीडित रहेको र मुटुरोग विश्वमै मृत्युको प्रमुख कारण बनेको पृष्ठभूमिमा यो कदम थप कठोर मानिएको छ ।
यस्तै, आवेदकसँग उपचार खर्च सम्हाल्न पर्याप्त आर्थिक स्रोत छ कि छैन भन्ने आकलन गर्न अधिकारीहरूलाई भनिएको छ । विशेष गरी सरकारी खर्चमा दीर्घकालीन उपचार वा सेवामा निर्भर हुनुपर्ने सम्भावना छ कि छैन भन्नेबारे प्रश्न उठाइनेछ । निर्देशनले आवेदकका परिवार सदस्यहरूको स्वास्थ्य अवस्थालाई पनि मूल्यांकनमा समावेश गर्ने व्यवस्था मिलाएको छ । ‘आश्रित परिवारमा दीर्घरोग वा विशेष हेरचाह आवश्यक पर्ने सदस्य छन् भने, त्यसले आवेदकको रोजगारीमा असर पार्छ कि पार्दैन ?’ यो निर्देशनबारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अझै कुनै टिप्पणी गर्न बाँकी रहेको एएनआईले जनाएको छ ।
अमेरिकामा सरकारी बन्दको असर बढ्दै
यसैबीच अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै पनि असहज अवस्थामा परेका छन् । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात नियन्त्रकहरूमा अत्यधिक कार्यभार र तलब नपाएका कारण उत्पन्न तनाव कम गर्न व्यस्त विमानस्थलहरूमा सेवा घटाउने आदेश जारी गरेको छ ।
यसका कारण एटलान्टा, डलास, डेनभर, शार्लोटलगायत देशका प्रमुख विमानस्थलहरूमा लामो सुरक्षा लाइन र अन्तिम क्षणका उडान रद्दहरू देखिएका छन् । एफएएको आदेशअनुसार हाल करिब चार प्रतिशत उडानहरू कटौती गरिएका छन् । यसको दर आगामी सातामा १० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । यातायातमन्त्री सिन डफीका अनुसार यदि सरकारी बन्द लामो समयसम्म रह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ ।
–यात्रुहरू असहज, उडान पुनः बुकिङको हतारो –
ह्युस्टनको जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थलमा यात्रुहरू बिहानैदेखि लामो लाइनमा उभिन बाध्य भए । कतिपयले कुर्दा–कुर्दै कुर्सीमा सुत्नुपरेको अनुभव सुनाए । एटलान्टामा पुगेकी कारा बर्गेरोनले भने, “लाइनहरू लगातार सर्दै थिए, यस्तो भीड मैले पहिले कहिल्यै देखेकी थिइनँ ।” केही यात्रुलाई भने अझ कठिनाइ भयो । कनेक्टिकटकी चिकित्सक करेन सोइकाको उडान न्युजर्सीको नेवार्कबाट रद्द भएपछि उनलाई न्युयोर्कको जोन एफ. केनेडी विमानस्थल पुग्नुपर्ने अवस्था आयो । उनले उटाह जाने योजनाका लागि कार भाडामा लिन खोज्नुभयो तर उपलब्ध भएन । अन्ततः उनले ‘क्रस–कन्ट्री ट्रक चलाएर जानुपर्ने’ बताए । भाडाका कार कम्पनीहरूले पनि एकतर्फी यात्राको माग तीव्र रूपमा बढेको जनाएका छन् ।
–एयरलाइन्सको प्रतिक्रिया र उडान कटौतीको अवस्था –
उडान टङ्याकिङ वेबसाइट फ्लाइटअवेयर का अनुसार शुक्रबार मात्रै एक हजारभन्दा बढी उडानहरू रद्द भएका थिए । यो बिहीबारको तुलनामा पाँच गुणा बढी हो । वासिङ्टनस्थित रेगन राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित रह्यो । यहाँ १८ प्रतिशत उडान अर्थात करिब ८० भन्दा बढी रद्द गरिए । डेल्टा एयरलाइन्सले शुक्रबार १७० उडान स्थगित गरेको बताएको छ भने अमेरिकन एयरलाइन्सले सोमबारसम्म दैनिक २२० उडान कटौती गर्ने योजना बनाएको छ । साउथवेस्ट एयरलाइन्सले पनि करिब १२० उडान रद्द गरेको छ । युनाइटेड र अमेरिकन दुवैले प्रभावित यात्रुहरूलाई पुनः बुक गर्न सक्रिय प्रयास भइरहेको बताएका छन् ।
–राजनीतिक गतिरोध र दीर्घकालीन जोखिम –
ट्रम्प प्रशासनले डेमोक्रेट सांसदहरूलाई सरकारी बन्द अन्त्य गर्न दबाब दिँदै गर्दा एफएएको आदेश आएको हो । नियन्त्रकहरूलाई महिनाभर तलब नदिइँदा उनीहरूमा आर्थिक र मानसिक दबाब बढेको एफएएको भनाइ छ । यातायातमन्त्री डफीले भने, “हामी ढिलाइ वा अवरोध देख्न चाहन्नौँ, तर जबसम्म सुरक्षा मापदण्ड सुधार हुँदैन, उडान कटौती आवश्यक छ ।” विश्लेषकहरूका अनुसार लामो समयसम्मको बन्दले अमेरिकी हवाई ढुवानी प्रणालीमा गम्भीर असर पार्न सक्छ । अमेरिकी हवाई मालसामानको करिब आधा हिस्सा यात्रु विमानमार्फत ढुवानी हुने भएकाले ढिलाइले आपूर्ति शृङ्खलामा पनि प्रभाव पार्नेछ । एलिभेट एभियसन ग्रुपका प्रमुख ग्रेग राइफलले भने, “हवाई यातायात अमेरिकी अर्थतन्त्रको मेरुदण्ड हो । यो बन्दले व्यापारिक बैठकदेखि लिएर पर्यटकहरूको यात्रा, सबै क्षेत्रमा असर पार्नेछ ।”
–यात्रुहरूका लागि सल्लाह –
सरकारको निर्देशन अनुसार ढिलाइ आफूहरूको नियन्त्रणभित्रको कारणले नभएसम्म एयरलाइन्सहरूले रद्द भएका उडानका टिकट फिर्ता गर्नुपर्छ तर खाना र आवास खर्च वहन गर्नुपर्ने छैन । यात्रा सल्लाहकार क्रिस्टिना श्लेगलले भनिन, “आतङ्कित नहुनुहोस्, आफ्नो उडानको स्थिति निरन्तर जाँच गर्नुहोस् र वैकल्पिक मार्गको जानकारी तयार राख्नुहोस् ।” यदि सरकारी बन्द छिट्टै अन्त्य भएन भने आगामी बिदाहरूअघि हवाई यात्रा अझ अव्यवस्थित र महँगो बन्ने विश्लेषकहरूले चेतावनी दिएका छन् ।