आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

भाइरल नेताको खोजिमा हामी, समूह समुहको प्रयोगशाला बन्दै देश

बुधबार, कार्तिक १९ २०८२

 


निश्चल दाहाल।

हामी नेपाली देवता खोज्दै छौँ, भयंकर जादुगरी जान्ने जादुगर खोज्दै छौ जसले जादुको छडी चलाएर सर्लक्क केही गरिदिने, एकै रातमा देश बदल्ने, विदेशी जस्तै चम्किलो नेपाल बनाउने सपना देखदै सोही अनुरुपको नेतृत्व खोज्दै छौँ। हाम्रो समाजले सधैं यस्तै चमत्कारी पात्रको प्रतीक्षा गर्‍यो, बिगतमा राजाबाट शुरू भएर, दलका नेतासम्म र अहिले भाइरल नेतासम्म। तर नेपाल कहिले पनि चमत्कारको देश थिएन, न त चमत्कारी नेतृत्वले बनाएको देश हो। नेपाल न किसानले सम्पन्न बनायो, न उद्योगले, न व्यापारले। हामीले सधैं “कसैले गरेर दिन्छ” भन्ने मनोवृत्तिमा आफ्नो जिम्मेवारी अरूको काँधमा राख्दै गयौँ।

राजाबाट दलका राजासम्म: सत्ता बदलियो, सोच खिया लागेको अझ पुरानो।

इतिहासलाई हेरौ न त एक पटक; नेपाल कहिले पनि आर्थिक दृष्टिले सम्पन्न थिएन। तर हो सधै आत्मनिर्भर भने थियो। गाउँमा गाईभैंसी, खेत, बारी, आदि सबै जीवनको आधार थिए। पैसाको होइन, श्रम र सहकार्यको अर्थतन्त्र थियो नेपाल। तर यो प्रणालीले आधुनिक अर्थतन्त्रको चुनौती थेग्न सकेन। राणा शासनले नेपाललाई विदेशी सम्पर्कबाट अलग राख्‍यो, राणाहरु मात्र रहे बिदेशी सम्पर्कमा। उद्योग व्यवसायको बीउ नै नरोप्ने झै नीति अख्तियार गर्‍यो। देश विदेशी प्रविधिबाट टाढा रहँदा हाम्रो उत्पादकता बढ्ने मौका गुम्यो नै।

राणा शासनपछि राजतन्त्र न आयो अलिक परिस्कृत देशलाई आफ्नो घरझैँ सोच्ने राजाले राजधानीका सडक र दरबार त सजाए, तर गाउँ र किसान त्यहीँका त्यहीँ रहे। प्रत्य्क्ष देखिने सडक बने, ठूला भवन बने, तर त्यसको फाइदा केही वर्गले मात्र पायो। राजा र शाही परिवारले देशलाई आफ्नै जागिरको कार्यालय बनाइरहे। नागरिक राज्यका मालिक होइन, प्रजा बनेर शासनका दर्शक रहे सिमितकै सहुलियतको देश बन्यो।

राजाको समयमा देखिने सम्म मात्र बिकास भयो काठमाडौँमा सडक, पुल, सरकारी भवन, केही विद्युत् आयोजना, र एकाध उद्योग। तर त्यो पनि स्थायित्वसहितको आर्थिक संरचना होइन, शक्ति देखाउने सुन्दर सजावट थियो, को समृद्ध भए सो समयमा कसरी स्तरोन्नति भयो त जनताको? नेपालका उद्योगीहरू जन्मनुअघि नै दबाइए। वास्तविक नेपाली ब्यापारिहरु नेवार व्यापारी र थकाली व्यवसायीहरू आफ्नो सिमित क्षेत्रभित्र सीमित रहँदा, राज्यले तिनलाई राष्ट्रिय स्तरमा विस्तार गर्न कहिल्यै प्रोत्साहन दिएन। विदेशी व्यापारीहरू आए पनि, यहाँको कानुनी, राजनीतिक अनिश्चितता र नेताको अस्थिर सोचले तिनीहरूलाई रोक्यो। जो रुकेर गर्न लागि खासमा कानुनले व्यवसायीलाई जिम्मेवार बनाउने हो, तर नेपालमा नेताले तिनलाई धम्क्याउने, आफ्नो दलको चन्दा असुल्ने र ठेक्का बाँड्ने साधन बनाए अनि उत्तरदायी बनाएनन।

५२ सालको माओवादी बिद्रोहपछि देश नयाँ युगमा प्रवेश गर्छ भन्ने विश्वास थियो। तर बिद्रोहपछि त बिद्रोही मानसिकता नै राज्यमा सरेर आयो। पुरानो राजा गयो, तर नयाँ राजा हरेक दलभित्र जन्मिए दलका राजा, प्रान्तका राजा, जातका राजा, आस्था र आदर्शका राजा। हरेकले आफ्नो टोल, जात, क्षेत्र, वा संगठनलाई मात्र देश ठाने। विकास पनि त्यसैको सीमाभित्र बाँधियो। जसको क्षेत्र बलियो, त्यहाँ सडक बिछ्यायो भने जसको क्षेत्र कमजोर, त्यहाँ धुलो मात्र।

उद्योग, व्यापार र प्रविधिमा अवसर, तर नीति र प्रणालीको बखेडा।

नेपालको व्यापारिक र औद्योगिक इतिहासको सबैभन्दा ठूलो दुर्भाग्य भनेको नीति र दृष्टिकोणको अस्थिरता हो। कहिले भारतसँगको व्यापार सम्झौता, कहिले चीनतर्फको आशा, तर दुवैको स्थायित्व छैन। देशका उद्योगहरू, चाहे वीरगञ्जको सिमेन्ट उद्योग होस् या हेटौँडाको, क्रमशः बन्द हुँदै गए। श्रम विदेश पलायन भयो, गरि खाने कृषि पनि श्रमिकविहीन बन्‍यो। सस्तो श्रम निर्यात गरेर रेमिट्यान्समा देश चलाउने प्रवृत्ति संस्थागत भयो। यहीबीचमा देशका नेताले “विकास” लाई भाषण र उद्घाटनमा सीमित पारे।

प्रविधिमा कमि छैन तर प्रवृत्तिमा लोचा छ।

नेपालमा आज प्रविधिको कमी छैन। हाम्रो युवा शक्ति सफ्टवेयर इन्जिनियर, डाटा एनालिस्ट, डिजाइनर र प्रविधि व्यवसायीको रूपमा विश्वका देशहरूमा काम गरिरहेका छन्, नेपालमा रहेरै रिमोट काम गर्दै छन। तर आफ्नै देशमा त्यही क्षमताको प्रयोग हुन सक्दैन। किनभने देशमा प्रचलित प्रणालीले उद्यमीलाई होइन, आफ्ना दलका कार्यकर्तालाई प्रोत्साहन गर्छ। उद्यम गर्न चाहने युवालाई कर, इजाजतपत्र, ठेक्का र घूसको जालोले बाँधेको छ। नेताहरूले युवा र प्रविधिलाई राजनीतिक नारामा मात्र प्रयोग गर्छन्, तर कार्यान्वयनमा शून्य देखिन्छ।

औद्योगिक विकासमा राज्यको दीर्घकालीन सोच नहुँदा नेपाल विदेशी उत्पादनको बजारमा परिणत भयो। हामीले विदेशबाट साबुन, कपडा, मेशिन, मोबाइल मात्र होइन, मानसिकता पनि आयात गर्न थाल्यौँ। र, आफ्नै उत्पादन र सिर्जनात्मक सोच बिस्तारै हराउँदै गयो। यो प्रणालीमा दोष नेताको मात्र होइन, हामी सबैको पनि छ किनभने हामीले गलत कार्यमा सहमति जनाइरहेका छौँ मौनता साधेर।

हिरो खोज्दै छौ एक, जलाउदै छौ सामूहिक चेतना

अबको नेपालको चुनौती नेतृत्व होइन, सोचको हो। हामी हरेक चुनावमा नयाँ “उद्धारकर्ता” खोज्छौँ ,  कहिले ओली, कहिले प्रचण्ड, कहिले गगन थापा, बिश्वप्रकाश, बालेन, हर्क वा रवि। सामाजिक सञ्जालमा भाइरल हुनेबित्तिकै हामी उनलाई ‘देवता’ ठान्छौँ र आफ्ना अपेक्षा त्यसैमा अड्याउँछौँ। तर देश चलाउने कुरा कुनै एक व्यक्तिको हातमा होइन, नीति, संस्था र नागरिक चेतनाको संयोजनमा हुन्छ।

देश बनाउने शक्ति त राज्यका सबै तहमा छ, नीति बनाउने नेताबाट लिएर, नीति कार्यान्वयन गर्ने कर्मचारी, उद्योग चलाउने व्यापारी, र कर तिर्ने नागरिकसम्म। तर हामीले सधैं दोष अर्कोमा थोपार्ने बानी बसाल्यौँ। नेता भ्रष्ट भयो, व्यापारी बेइमान भयो, कर्मचारी लापरवाह भयो भनेर गाली गर्दा हामीले आफ्नो जिम्मेवारी भुसुक्क भुल्यौ सत्य बोल्ने, ईमानदार बन्ने, र गलतलाई सहमति नदिने।

हामी अहिले भाइरल पात्रहरूमा देशको भविष्य देख्न थालेका छौँ। सामाजिक सञ्जालले जसलाई उचाल्छ, हामी त्यसैको जयजयकार गर्छौँ। सुदन गुरुङ्ग जस्ता सामाजिक कार्यकर्ताले NGO बाट रकम लिएर केही काम गर्छन् भने, हामी उनलाई उद्धारकर्ता ठान्छौँ मसिहा मान्छौ, तर त्यो चलनले उत्तरदायित्व होइन, घमण्ड जन्माउँछ। एउटा व्यक्ति चर्चित हुन सक्छ, तर देश उस्तै रहन्छ, किनकि देश रूपान्तरण “कलेक्टिभ इफोर्ट” अर्थात् सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ।

नेपाल आज केही सय व्यक्तिको प्रयोगशाला बनेको छ, जहाँ केही जनाले देशलाई प्रयोग गरिरहेका छन्, र करोडौँ नागरिक हामि मौनदर्शक बनेका छन्। यो मौनता नै सबैभन्दा ठूलो विफलता हो। देश बनाउने कुरा अब अरूबाट होइन, हामीबाट सुरू हुनुपर्छ। स साना कुराहरु जस्तो सडकमा फोहोर देख्दा न उठाउने, कार्यालयमा अनियमितता देख्दा नबोल्ने, निर्वाचनमा गलतलाई मासुभात र रक्सिमा जिताउने यस्ता निर्णय नबदले नै हो देश नास्सिने।

हाम्रो नेपालको भविष्य कुनै एक भाइरल नेताले होइन, सामूहिक चेतनाले बनाउने हो। हरेक नेपालीले आफ्नो ठाउँबाट जिम्मेवारी लिने हो भने, त्यो नै जादुको छडी हो अर्को कसैको होइन, हाम्रो आफ्नै हातको। देशको मुहार बदल्ने शक्ति सरकारमा होइन, नागरिकको चेतनामा लुकेको छ तर आउने चाहिँ कहिले?

प्रतिक्रिया
सम्बन्धित समाचार