काठमाडौं । भारतको तेलङ्गानाको रंगारेड्डीमा बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु भएको छ। सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो। दुर्घटनामा धेरैजना घाइते भएका छन्। बसमा करिब ७० जना सवार रहेको बताइएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार तेलंगाना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बससँग ट्रक ठोक्किएको थियो। स्थानीय र प्रहरीले तीनवटा जेसीबीको मद्दतले भग्नावशेष हटाउँदै उद्दारमा खटेका थिए।
दुर्घटनामा बस र ट्रकका चालकको समेत मृत्यु भएको छ। घाइतेहरूलाई उपचारका लागि चेभेला सरकारी अस्पताल लगिएको छ। गम्भीर घाइतेहरूलाई हैदराबादका विभिन्न अस्पतालहरूमा रिफर गरिएको बीबीसीमा समाचार छ।
तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले आवश्यक राहत कार्य सुरू गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।