गुल्मी । गुल्मीमा छोराको कुटपिटबाट बाबुको ज्यान गएको छ।
गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ३ म्यालमा शनिवार दिउसो ३ बजेको आसपास आफ्नै छोराले कुटपिट गर्दा बुवाको मृत्यु भएको र आमालाई गम्भीर चोट लागेको गुल्मी प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुका अनुसार म्यालका २३ वर्षीय भोटबहादुर विकले आफ्नै बुवा करिब ५० वर्षीय धनबहादुर विक र आमा करिब ४८ वर्षीया दिलमाया विकमाथि हँसिया र काठको किला ठोक्ने मुङ्ग्रो प्रहार गरेका थिए।
उनको प्रहरबाट बुवा धनबहादुर विकको घटनास्थलमै मृत्यु भएको र आमाको टाउकोमा गम्भीर चोट लागेको सारुले बताए।
‘घाइते आमालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ,’ डिएसपी सारूले भने , ‘छोरा भोट बहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ, उनको मानसिक सन्तुलन केही समस्या जस्तो छ।’
स्थानीयका अनुसार भारतको पञ्जावमा रोजगारीका लागि गएका धन बहादुरले छोरा भोट बहादुरलाई उपचारका लागि उतै लगेका थिए।
पछिल्लो एक वर्ष यता घरमै आएर बसेका छोरा दोहोरो कुराकानी नगर्ने एकै ठाउ बसेर टोलाउने गरेका थिए।