काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको हो ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको यूएसएका लागि मध्यक्रमका ब्याट्सम्यान मिलिन्द कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ७० रनमा नटआउट रहे । उनले ५० बलको सामना गर्दै ६ चौका र दुई छक्का प्रहार गरे ।
ओपनर स्मित पटेलले इनिङ्सको जग बसाल्दै १०० बलमा ७५ रन को महत्त्वपूर्ण योगदान दिए । उनले ९ चौका प्रहार गरे । अर्का ब्याट्सम्यान साइतेजा मुक्कमल्लाले ५८ बलमा तीन चौका र एक छक्कासहित ४२ रन बनाए । कप्तान मोनान्क पटेलले १७ बलमा १० रन जोडे । शुभम रञ्जानेले १९ रन र शायान जहांगीरले ११ रनको योगदान दिए ।
नेपालको बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ५६ रन खर्चेर दुई विकेट लिए । यस्तै, सोमपाल कामीले नौ ओभरमा ५६ रन दिएर एक विकेट र आरिफ शेखले पाँच ओभरमा १९ रन खर्चेर एक विकेट लिए ।