शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एमाले महाधिवेशन मंसिरमा गर्न प्रस्ताव

आफ्नो सिफारिसविपरीत असंवैधानिक सरकार गठन भएको ओलीको दाबी

बिहिबार, असोज ३० २०८२

काठमाडौँ(जस)– बुधबारदेखि ललितपुरको भनिमण्डलमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ५० जनाले आफ्नो धारणा राखेका छन् । बैठकमा महासचिव शंकर पोखरेलले उल्टो वर्णानुक्रमअनुसार अर्थात् ‘ज्ञ’बाट ‘क’ सम्मका सदस्यहरूलाई पालैपालो धारणा राख्ने निर्णय सुनाएका थिए । बुधबार पहिलो दिन ५० सदस्यहरुले धारणा व्यक्त गरे ।
एमालेमा अघिल्ला बैठकहरुमा केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको सुल्टो वर्णानुक्रम (‘अ’बाट ‘क’ हुँदै ‘ज्ञ’सम्म) बोल्ने परम्परा रहेकोमा यसपटक फरक प्रस्ताव आउँदा बुधबार भनिमण्डलमा केहीबेर हल्लाखल्ला समेत भएको थियो । महासचिव पोखरेलको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विरोध जनाएका थिए । उनको विरोधमा अरू केही केन्द्रीय सदस्यहरूले पनि समर्थन जनाए । तथापि, बैठकमा उल्टो वर्णानुक्रम अनुसार नै सदस्यहरूलाई समय दिँदै बोल्न दिइयो ।
केन्द्रीय सदस्यहरूलाई धारणा राख्न ३ मिनेटको समय दिइएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गरेको राजनीतिक परिस्थिति र हाम्रो नीतिसम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव राखेको बताए । उनका अनुसार केन्द्रीय सदस्यहरुले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटनका सम्बन्धमा महत्वपूर्ण सुझाव दिएका छन् । राजनीतिक प्रतिवेदनमाथिको सुझाव दिनका लागि केन्द्रीय सदस्यलाई तीन मिनेटको समय तोकिएको छ । प्रचार विभाग प्रमुख गौतमले तीन मिनेटभित्र राख्न नसकेको कुरा लिखित रुपमा प्रस्तुत गर्न अनुरोध गरिएको बताए । उनले बिहीबार बिहान ८ बजेदेखि बैठक पुनःसुरु हुने बताए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ । पार्टीको १० आँै केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको गौतमले जानकारी दिए । जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसेको हो ।
बैठकको बहस नोट कमिटीको संयोजकमा सूर्य थापालाई चयन गरेको छ । कमिटीको सदस्यमा विष्णु रिजाल र नीरज आचार्य तथा बैठकको समसामयिक प्रस्ताव लेखनको संयोजकमा उपमहासचिव प्रदीप ज्ञवाली र सदस्यमा राजेन्द्र गौतम र महेश बर्तौला रहेका छन् । पार्टी अध्यक्ष ओलीले राजीनितक प्रतिवेदनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र वर्तमान सरकारका बारेमा प्रस्तुतीकरण गरे । प्रतिवेदनमा गणतन्त्र, संविधानमा एकताबद्ध र रक्षाका लागि लोकतान्त्रिक शक्तिबीच सहकार्य गर्ने उल्लेख गरिएको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिरमाथि उठाउने पार्टी एमाले मात्रै भएको बताए । उनले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय, समृद्धिको लयमा फर्काउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता हुनुपर्नेमा जोड दिएका छन् । बुधबारदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँँ केन्द्रीय कमिटी बैठकको प्रारम्भ गर्दै उनले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्ने खालको पार्टी नभएको स्पष्ट पारे ।
एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका लागि निरन्तर लाग्ने अध्यक्ष ओलीले बताए । उनले अहिलेको अवस्थामा राष्ट्रिय हितमा एकजुट हुन सबै दललाई आग्रह पनि गरे । “पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीका साथ नेतृत्व छाड्न तयार छु । तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ”, अध्यक्ष ओलीले भने, “मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो । कमिटीले भनेका बेला एकदम खुसीका साथ नेतृत्व छोड्न तयार छु । यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर लोकप्रियवादका पछि कुद्न हुँदैन ।” अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आह्वान पनि गरे ।
यस्तै ओलीले वर्तमान सरकारलाई असंवैधानिक बताएका छन् । संविधान विपरीत सरकार गठन गरिएको उनको भनाइ छ । उनले भने, ‘कामचलाउ सरकारको प्रधानमन्त्रीको हैसियतले मैले संविधानसम्मत निकासको सिफारिस गरेको थिएँ । तर सिफरिसविपरीत संविधान बाहिरबाट सरकार गठन गरिएको छ । तसर्थ यो सरकार असंवैधानिक छ ।’ उनले प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न अन्योलपूर्ण अवस्थालाई समाधान दिन एमालेले संविधानसम्मत विकल्पहरू अघि सारेको दाबी गरेका छन् । ‘गैरसांसद व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्ने भएमा पनि त्यसलाई संसदमार्फत संविधान संशोधन गरेर मात्र अगाडि बढाउने हाम्रो अडान थियो,’ उनले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
‘असामान्य परिस्थितिका बिचमा थप क्षति हुन नदिन प्रधानमन्त्रीले राजीनामा दिइसके पछिको अन्योलपूर्ण अवस्थालाई निकास दिन हामीले संविधानसम्मत विकल्पहरू प्रस्तुत गरेका थियौँ ।’ प्रतिवेदनमा भनिएको छ । ओलीले असहज परिस्थितिमा समेत संसद्भित्रैबाट संविधानसम्मत ढङ्गले सरकार गठनको सिफारिस गरे पनि उक्त सिफारिसलाई उपेक्षा गर्दै संविधानबाहिरबाट सरकार गठन गरिएको भन्दै यो कदम संविधानको मर्म र प्रक्रिया विपरीत भएको बताएका छन् । बैठक यही असोज ३१ गतेसम्म सञ्चालन हुनेछ । बैठकमा अध्यक्ष ओलीबाट समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । यसअघि यही असोज २६ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले आउँदो मङ्सिर अन्तिम साता पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार