सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट, ओमानमाथि शानदार जित

बिहिबार, असोज ३० २०८२

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटमा सामोआमाथि ७७ रनको सहज जित निकालेसँगै नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट भएको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा बुधबार भएको खेलमा सामोआलाई पराजित गरेपछि नेपाल र आयोजक ओमान दुवै टोलीको विश्वकप यात्रा पक्का भएको हो ।

बुधबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २२५ रनको विशाल योगफल तयार गर्‍यो । यूएईका अलिसान सराफुले ५१ बलमा ८६ रन प्रहार गरे, जसमा सात छक्का र चार चौका समावेश थिए । त्यस्तै राहुल चोप्राले ३४ बलमा ६२ रनको अर्धशतकीय योगदान दिए भने हर्षित कौशिकले अन्तिम समयमा १२ बलमा अविजित ४४ रन जोड्दै टोलीलाई बलियो स्कोरसम्म पुर्‍याए । सामोआका लागि सोलोमन नासले दुई विकेट लिए भने सुमानी टाइ र बेन्जामिन मिलाटाले एक–एक विकेट लिए ।

जवाफमा सामोआले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रनमात्र बनाउन सक्यो । बेन्जामिन मिलाटाले सर्वाधिक ३९ रनको योगदान गरे भने कालेब जस्मतले २८ र सामुयल फ्रेन्चले २५ रन बनाए । यूएईका बलर मोहम्मद फारुकले चार ओभरमा ३५ रन खर्चेर चार विकेट लिए, जबकि मोहम्मद अर्फानले दुई र जुनाइद शिद्धिकी तथा ध्रुव प्रशाराले एक–एक विकेट लिए ।

यो जितसँगै यूएईको अंक चार पुगेको छ तर नेपाल र ओमानको अंक बराबर ६ भएकाले दुवै टोली विश्वकपका लागि छनोट भएका हुन् । सुपर–६ चरणको तालिकामा ओमान नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । यूएई तेस्रो, जापान चौथो, कतार पाँचौं र सामोआ छैटौं स्थानमा छन् ।

छनोट प्रतियोगिताको नियमअनुसार सुपर–६ चरणका शीर्ष तीन टोलीले सन् २०२६ को टी–२० विश्वकपमा स्थान पाउने छन् । अब बाँकी खेलमा जापान र यूएईबीचको परिणामले तेस्रो स्थानको टुङ्गो लगाउनेछ ।

नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक र सन् २०२४ मा दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो । यसपटक नेपाल लगातार दोस्रो पटक विश्वकपमा पुगेको हो, जसले नेपाली क्रिकेटको निरन्तर प्रगति देखाएको छ ।

सुपर–६ चरणमा नेपाल र ओमान दुवै टोली अहिलेसम्म अपराजित छन् । बुधबार राति ८:४५ बजे हुने नेपाल–ओमानको भिडन्त यस प्रतियोगिताको शीर्ष स्थानका लागि निर्णायक खेल मानिएको छ । उक्त खेल जित्ने टोलीलाई छनोट प्रतियोगिताको उपाधि जित्ने बलियो सम्भावना हुनेछ ।

आगामी टी–२० विश्वकप सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुनेछ । प्रतियोगितामा २० टोली सहभागी हुनेछन्, जसमा १७ टोलीको छनोट पहिल्यै भइसकेको छ । यूएई, जापान वा कतारमध्ये एक टोली बाँकी स्थानका लागि प्रतिस्पर्धामा रहनेछ ।

यससँगै नेपालले तेस्रो पटक विश्वकपमा स्थान पक्का गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । अब नेपाली टोलीको लक्ष्य छनोट प्रतियोगिताको उपाधि जित्ने हुनेछ ।
यसअघि ओमानमा खेल्दा नेपाललाई भाग्यले साथ दिएको थिएन । टी-२० विश्वकप छनोट देखि अन्य प्रतियोगिता सिरिजमा पनि नेपाल बारम्बार असफल भएको थियो ।

सन् २०२२ मा टी२० विश्वकप छनोट खेल्दा सेमिफाइनलमा युएईसँग पराजित भएपछि छनोट हुन सकेको थिएन । यस्तै एसीसी प्रिमियर कपमा पनि सेमिफाइनलमै पराजित हुँदा एसिया कप पुग्न सकेन ।

यस पटक भने नेपाललाई सुरुवात देखि नै भाग्यले साथ दियो । नेपाली खेलाडी र टिमको मिहिनेत अनि त्यसमा थपिएको आत्मविश्वासमा भाग्यले पनि राम्रो साथ दिएको विश्लेषण गरिएको छ ।

नेपालसँग ओमान पराजित

आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो ।

ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई÷दुई विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले दुई छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।

ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुई/दुई विकेट लिए ।

यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ । अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार