सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सम्पादकीय : राउटेहरुको सुरक्षामा चुनौती

मंगलबार, असोज २८ २०८२

सुर्खेतको लेकबेँसी नगरपालिका–९ चौरासेको राउटे बस्तीका बासिन्दा असुरक्षित बन्दै गएका छन् । जंगलमा बस्ने राउटे समुदायमाथि कहिले जंगली जनावरले आक्रमण गर्ने त कहिले रातको समयमा मादक पदार्थ सेवन गरेका युवाहरु बस्तीमा प्रवेश गरी होहल्ला गर्दा राउटेहरुले असुरक्षाको महसुश गरिरहेका छन् । यसै क्रममा गत शुक्रबार मदिरा सेवन गरी होहल्ला गर्दै राउटे बस्तीमा प्रवेश गरेका एक युवकलाई उनीहरले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीले ती युवकमाथि अनुसन्धान गरिरहेको छ ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो । राउटे समुदाय बस्तीनजिकै अन्य समुदायको बस्ती पनि बस्न थालेपछि उनीहरुको सुरक्षामा चुनौती थपिएको छ । अन्य समुदायका मानिस विभिन्न बहानामा राउटे बस्तीमा प्रवेश गर्न थालेपछि असुरक्षा बढ्न थालेको राउटे समुदायका व्यक्तिहरुले बताएका छन् । नयाँ नयाँ मानिस राउटे समुदायको बस्तीभित्र आउन थाल्दा आफूहरूलाई समस्या पर्ने गरेको उनीहरुको भनाई छ । बिशेषगरी राउटे महिला, बालबालिकाहरु नयाँ मानिसबाट थप त्रसित हुन थालेका छन् ।

तसर्थ उनीहरुमाथि सुरक्षा चुनौती थपिएकाले त्यहाँ प्रहरी खटाउन आवश्यक रहेको देखिन्छ । पछिल्लो समय राउटे समुदायमाथि टिकटक बनाउने, भिडियो खिच्ने चलन बढेको हुँदा राउटेको गोपनीयता पनि सार्वजनिक हुन थालेको र त्यसले असुरक्षा बढ्न थालेको स्थनीय सामजसेवी एवम् बुद्धिजीवीहरुको भनाई छ । त्यसोत लोपोन्मुख जाती राउटेहरुलाई स्थानीय सरकारले दसँैमा भत्तासमेत दिएको छ । दैलेखको गुराँस गाउँपालिकाको स्थायी बासिन्दा भएका कारण उनीहरूलाई गाउँपालिकाले राउटे बस्दै आएको सुर्खेतको लेकबेँसी नगरपालिकाको चौरासेमा पुगेर भत्ता वितरण गरेको हो । तर भत्ता पाएर हात हातमा नगद बुझेका राउटेहरू मदिराको लतमा समेत फस्ने गरेका छन् । यसो हुँदा राउटेलाई नगदको सट्टा चामल तथा जिन्सी सामान उपलब्ध गराउनुपर्ने आवाज बेला बेलामा उठ्ने गरेको छ । मदिराको लतकै कारण उनीहरुमा सुरक्षा चुनौती बढेको स्थानीयले बताएका छन् । उनीहरुका बालबालिका विद्यालयसमेत जाँदैनन् । उनीहरु न त बिरामी पर्दा अस्पताल नैं जन्छन् । उनीहरु झारफुकमै विश्वास गर्छन् ।

राउटे समुदायलाई समाजमा बस्ने वातावरण बनाउनका लागि संवेदनशील, सम्मानजनक र दीर्घकालीन दृष्टिकोण आवश्यक छ । उनीहरुको परम्परा, संस्कार र जीवनशैलीलाई सम्मान गर्दै समाजमा सामाजिकीकरण गर्नुपर्छ । उनीहरुका लागि स्थानीय सरकारले शिक्षा र सचेतनाका कार्यक्रमहरु बनाएर त्यसको कार्यान्वयन गर्नुपर्छ । उनीहरुका लागि चलायमान विद्यालय सञ्चालन गर्नुपर्छ ताकि राउटेहरु आफ्नो बासस्थान परिवर्तन गरे पनि बालबालिकाले पढ्न सकून् । राउटेहरुलाई उनीहरुको भाषा र संस्कृतिअनुकूल पाठ्यक्रम तयार गर्नुपर्छ । यसले उनीहरुलाई शिक्षाको महत्व बुझाउँछ, उनीहरुको पहिचान पनि गुम्दैन । त्यसैगरी उनीहरुका लागि स्वास्थ्य, सरसफाइ, र नागरिक अधिकारबारे सचेतना कार्यक्रम विस्तार गरिनुपर्छ ।

उनीहरुलाई जबरजस्ती स्थायी बसोबास गराउने भन्दापनि स्वेच्छिक रुपमा बस्न चाहनेहरुका लागि सुरक्षित बस्ती र जमिन राज्यले प्रदान गर्नुपर्छ । त्यसैगरी उनहिरुलाई सिपमूलक तालिमहरु जस्तै—काठका कलाकृति, बाँसका सामग्री, हस्तकला दिएर उनीहरुको परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्न सकिन्छ । सहकारी प्रणाली मार्फत उनीहरूको उत्पादन बेच्ने सहज वातावरण बनाउन प्रदेश सरकार गम्भीर रुपले लाग्न जरुरी छ ।

अतः राउटे समुदायलाई समाजमा बस्ने वातावरण बनाउन सुरक्षा, सम्मान, शिक्षा र आत्मनिर्भरताका आधारमा दीर्घकालीन रणनीति आवश्यक छरु। उनीहरुको पहिचान मेटाएर होइन, बरु संरक्षण गर्दै सहअस्तित्वको बाटो रोज्दा मात्र वास्तविक समावेशी समाज निर्माण सम्भव हुन्छ । राहुटेको जीवन जोखिममा पर्नबाट जोगिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार