काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् भने पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) माथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पूर्वउपराष्ट्रपति पुनका छोरा अखिल क्रान्तिकारीका पूर्वमहासचिव दिपेश पुन यसअघि पनि अनुसन्धानमा परेका थिए । सिआइबीले पुनका जेठा छोरा जितेन्द्र र उपराष्ट्रपति हुँदाका सल्लाहकार जीवन गुरुङमाथि पनि अनुसन्धान अघि बढाएको पुष्टि गरेको छ ।
महराका जेठा छोरा जितेन्द्रले चिनियाँ भूमि ताक्लाकोट पुगेर तमसुक गरी ४ किलो सुन बुझेको प्रमाण २ वर्षअघि नै सार्वजनिक भएको थियो । तस्करीको सुन भित्र्याउन उनले शक्तिको दुरुपयोग गरेको आरोप थियो ।
रोल्पा घर भए पनि जितेन्द्रले सुन तस्करीका लागि सहज ओहोरदोहोर गर्न हुम्लाको प्रमाणपत्र गृह मन्त्रालयबाट बनाएका थियो । सो प्रमाणपत्र भएपछि भिसा आवश्यक पर्दैन ।
सुनको भुक्तानी नदिएपछि चिनियाँले तत्कालीन उपराष्ट्रपति पुनसँगै कुराकानी गरेपछि यो कुरा बाहिर आएको थियो । जितेन्द्र हाल नेपालमा छैनन् । उनी अमेरिकामा रहेको बताइएको छ ।
पुन उपराष्ट्रपति छँदाका सल्लाहकार जीवनकुमार गुरुङ त्रिभुवन विमानस्थलमा १९ मंसिर २०८० मा बरामद १४ केजी सुन प्रकरणमा मुछिएर पक्राउ परे पनि धरौटीमा छुटेका थिए ।
संगठित अपराध निवारण ऐन, २०७० मा ‘कसैले आपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा आपराधिक समूहका तर्फबाट आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक वा सदस्य भई जानीजानी कुनै गम्भीर अपराध गरेमा निजले संगठित अपराध गरेको मानिने’ भनिएको छ ।
साृेही बमोजिम कृष्णवहादुर महरालाई जस्तै पुनमाथि पनि संगठित अपराध र आपराधिक लाभको मुद्दामा अनुसन्धान हुने बताइएको छ । सार्वजनिक लाभको पद भएकाले अख्तियारले पनि बेग्लै अनुसन्धान गरिरहेको छ ।
यसैगरी हाल नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नाम पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको छ । उनका छोरा प्रतीक थापा यही प्रकरणमा जेलमा छन् ।
केपी ओली प्रधानमन्त्री र बादल गृहमन्त्री भएका बेला शरणार्थीहरूको लगत संकलन लगायत कतिपय निर्णयमाथि प्रश्न उठेको थियो । बादलकी श्रीमती नैनकला थापालाई घरमै पुगेर पैसा बुझाएको बिचौलियाहरूले बयानसमेत दिएका थिए । नेकपा विभाजनपछि उनी ओलीतिर लाग्नुको कारण यही थियो भन्ने कतिपयको दावी रहँदै आएको छ ।
वर्तमान सरकारले बादलमाथि पनि अनुसन्धान गर्ला कि नगर्ला यो भने हेर्न बाँकी छ ।
यसैगरी पूर्वमाओवादी नेता, मन्त्री एवम् हाल नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटाी शरणार्थी काण्डमा जेलमा छन्