काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।
महरालाई आइतबार प्रहरीले ललितपुरस्थित निवासबाटै पक्राउ गरिएको नेपाल प्रहरीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गर्दै आएको थियो । महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । केही दिनअघि उनलाई प्रहरीले बयानसमेत लिएको थियो ।
सीआईबीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ नागरिक ली हान्सोङको साथबाट जफत भएको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) भित्रको सुन बिक्री गरी आपराधिक समूहले संगठित रूपमा आपराधिक लाभ लिएको पाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्टोरमा रहेको, जसको मूल्य करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबर रहेको उक्त सुन भन्सारका नायव सुब्बा रेवन्त खड्का समेतको संलग्नतामा बिक्री गरी अनियमितता गरेको देखिएको छ।
महरालाई ललितपुर महानगरपालिका-२६, खुमलटारबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिएका छन्।
