शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

ओली र प्रचण्डको सुरक्षा टोलीमा कटौती, आयोगले प्रहरीलाई फिर्ता गर्यो ओली र लेखकविरुद्धको जाहेरी

बिहिबार, असोज २३ २०८२

काठमाडौँ(जस)–गृह मन्त्रालयले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ खटाइएको टोलीमा कटौती गरेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार ओलीले मापदण्डविपरीत साथमा राखेका २८ सुरक्षाकर्मीलाई बिहीबार फिर्ता बोलाइएको छ भने दाहालका ३४ सुरक्षाकर्मीलाई पनि फिर्ता पठाइएको छ ।
दाहालको सुरक्षामा ५२ सुरक्षाकर्मी खटिँदै आएका थिए । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरूलाई तोकिएकै मापदण्डमा सुरक्षा व्यवस्था गर्नुपर्ने व्यवस्था छ । सोही कार्यविधिअनुसार गृह मन्त्रालयले दुवै नेताको सुरक्षामा रहेका मापदण्ड विपरीतका सुरक्षाकर्मी हटाउने निर्णय गरेको हो ।
आयोगले प्रहरीलाई फिर्ता ग¥यो ओली र लेखकविरुद्धको जाहेरी
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध दायर गरिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीको कार्यालयमा फर्काइदिएको छ । जेनजी आन्दोलनबारे छानबिन गर्न गठन गरिएको आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै, उक्त जाहेरी आफ्नो कार्यक्षेत्रमा नपरेको भन्दै प्रहरीले फर्काउनुपर्ने निर्णय गरेको जानकारी दिएको हो । आयोगका प्रवक्ता र सदस्य विज्ञानराज शर्माका अनुसार, आयोगको दायरा फौजदारी कार्यमा हस्तक्षेप गर्ने थिएन ।
विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान र कसुरदार देखिने व्यक्तिविरुद्ध अभियोजनको काम आयोगको जिम्मेवारीमा पर्दैन । नेपालको कानूनी व्यवस्था अनुसार, जो कोहीलाई पनि तत्कालीन अनुसन्धान र कारबाहीको अधिकार नेपाल सरकारका अन्य संयन्त्रलाई दिइएको छ ।’ यसअघि, जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूका परिवारले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दायर गर्दै ओली र लेखकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका थिए। प्रहरीले उक्त जाहेरी दर्ता नगरी आयोगमा पठाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार