काठमाण्डौ । शुक्रवार बेलुकीदेखि निरन्तर भैरहेको झरी रोकिएसँगै काठमाण्डौ उपत्यका र आसपासमा अहिले घाम लागेको छ । बिहान सबेरसम्म झरी परेकोमा अहिले घाम लाग्न थालेको हो ।
गएरातिसम्मको लगातारको झरीले काठमाण्डौ, भक्तपुर, ललितपुर लगायत आसापासको जनजीवन प्रभावित भएको छ । विभिन्न ठाउँमा डुबान तथा सडकहरुमा पानी जमेको छ । नदी किनारमा बसेका बासिन्दालाई स्थानान्तरण गरिएको छ ।
काठमाण्डौ उपत्यकाका बागमती, विष्णुमति, बल्खु, मनोहरा लगायत नदीहरुमा पानीको बहाव बढेको छ । केही ठाउँमा नदीको पानी बस्तीमा छिरेको छ । पानी पर्न रोकिएपछि नदी खोलामा पानीको बहाव पनि घटेको छ । जनजीवन सामान्य हुन थालेको छ । आजदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।