शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आजबाट ३ दिनका लागि बन्द

शनिबार, असोज १८ २०८२

काठमाडौं । सरकारले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आजबाट ३ दिनका लागि बन्द गरेको छ। देशका अधिकांश स्थानमा वर्षा हुन थालेको र भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि ३ दिन यातायात बन्द गर्ने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन असोज १८, १९ र २० गतेका लागि आवातजावत बन्द गरिएको प्राधिकरणले जनाएको छ।

‘जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यही असोज १८ देखि २० गतेसम्म पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षादेखि अति धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।’ प्राधिकरणका उपसचिव एवम् प्रवक्ता शान्ति महतले जारी गरेको सूचनामा भनिएको छ,‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ ।’

उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी साधन नचलाउन प्राधिकरणले अनुरोध गरेको छ। प्राधिकरणले जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार