शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नखेल्नु जुवा र तास …

मंगलबार, असोज १४ २०८२

फणीन्द्र फुयाल ज्वाला

“नखेल्नु जुवा र तास, धनको नास, जीवनको बनबास…” लोक गायक गणेश रसिकले प्रस्तुत गरेको यो चेतनामूलक गीत दशैं–तिहार जस्ता नेपाली चाडपर्वसँग जोडिएको एउटा गम्भीर सामाजिक यथार्थलाई उजागर गर्छ । नेपालमा चाडपर्व आउनासाथ जुवा–तास खेल्ने चलन जस्तै संस्कृतिको रूपमा स्थापित भएको देखिन्छ ।तर यसको प्रभाव भने समाज, अर्थतन्त्र र पारिवारिक जीवनमा नकारात्मक छ ।

दशैं र तिहार नेपाली समाजमा उल्लास, मेलमिलाप र पारिवारिक जमघटको प्रतीक हुन् । आफन्तहरूसँग भेटघाट, मिठा परिकार, रमाइलो र संस्कारसहित मनाइने यी चाडमा कतिपयले रमाइलो गर्ने नाममा जुवा–तासलाई अभिन्न अंग बनाएका छन् । खासगरी दसैंतिहारताका गाउँगाउँदेखि सहरका गल्लीसम्म देखिने जुवाको रौनक नै भिन्न हुन्छ ।

कसैले यसलाई परम्परागत मनोरञ्जनको रूपमा लिन्छन् भने कतिले यसलाई सजिलो आम्दानीको स्रोत ठान्छन् । तर, अधिकांश अवस्थामा यसको परिणाम झन् गम्भीर हुन्छ – ऋणको भारी, घरायसी झगडा, पारिवारिक विघटन र आपराधिक गतिविधि जुवा–तासले निम्त्याउने गरेको छ ।

कानुनी व्यवस्था र वास्तविकता

नेपालको कानुनले जुवा–तास खेल्न निषेध गरेको छ । प्रहरी प्रशासनले हरेक वर्ष चाडपर्वमा विशेष अभियान चलाएर सयौंलाई पक्राउ गर्ने गर्छ । तर, जुवा चलनकै रूपमा गाँसिएको कारण त्यसलाई पूर्ण नियन्त्रण गर्न सकिएको छैन । पैसाको लोभ, साथीभाइको दबाब र परम्पराको नाममा हुने दुरुपयोगले गर्दा यो समस्या अझै ज्यूँकात्यूँ छ । कतिपय जुवा–तासको लतमा यसरी फँसेका हुन्छन् कि तिनीहरु ‘बाह्मासे जुवाडे’ जस्तै बनेको हुन्छन् । प्रहरीले विशेषतः काठमाडौँको काँठ क्षेत्र र देशका बिभिन्न सहरी इलाकाबाट दैनिकजसो जुाडेहरुलाई पक्राउ गरेर कानूनी कारबाही गरेको समाचार उसको बुलेटिनमार्फत बिभिन्न मिडियामा सम्प्रेषण गर्ने गरेको छ ।

आर्थिक नोक्सानी

जुवामा पैसाको चलन नै प्रमुख हुने भएकाले यसले प्रत्यक्ष आर्थिक नोक्सानी पु¥याउँछ । छोटो समयमा ठूलो लाभ हुने भ्रममा परेका खेलाडीहरू प्रायः हार्छन् । कतिले घरबारी धितो राखेर वा ऋण लिएर समेत जुवा खेल्ने गर्छन् । कतिपयले दसैँ–तिहार जस्ता पर्वहरुमा चोकचोकमा, घरघरमा लंगुरबुर्जासमेत खेलाउँदे आर्थिक चलखेल गर्ने गरेको पाइन्छ ।

यसरी जुवा खेल्दा हार्ने रकमले परिवारको शिक्षा, स्वास्थ्य र भरणपोषणमा असर गर्छ । ऋण तिर्न नसक्दा ब्याजको चपेटामा परेर सर्वस्व गुमाउने अवस्था आउँछ । वैदेशिक रोजगार वा श्रम गरेर पठाइएको पैसा पनि कतिपयले जुवामा सक्ने गरेका छन् । यसरी हेर्दा जुवा–तासले केवल व्यक्तिगत मात्र नभई समाजकै अर्थतन्त्रमा नकारात्मक असर पार्ने गरेको छ ।

पारिवारिक विखण्डन

जुवाको अर्को पीडादायी पक्ष भनेको पारिवारिक विखण्डन हो । यसले परिवारका सदस्यबीच विश्वास घटाउँछ भने घरमा झगडा, हिंसा र असन्तोष बढाउँछ । घरका परिवारले खेलेको जुवा–तासकै कारण साना बच्चा र महिला मानसिक तनावमा पर्छन् । कसैको त परिवार नै टुट्ने अवस्था आउँछ । दशैं–तिहार जस्ता मेलमिलाप र प्रेमको पर्वलाई जुवाले टुक्र्याउने कामसमेत गरेको छ ।

सामाजिक असर

जुवा केवल व्यक्तिगत वा पारिवारिक सीमाभित्र सीमित हुँदैन । यसले चोरी, लुटपाट, आपराधिक गतिविधि पनि बढाउँछ । यसले समाजमा असमानता र अविश्वास फौलाउने, झगडा, दादागिरी, होहल्ला र हिंसा बढाउँछ । समाजले आत्मनियन्त्रण गुमाउँदा सामाजिक अनुशासनमा गिरावट आउँछ ।

मनोवैज्ञानिक असर

जुवामा परेका धेरै मानिसहरू बानीको रुपमा लतमा फस्नेगरेका छन् । बारम्बार जुवामा हारेर पनि खेलिरहने प्रवृत्तिले मानिसमा आत्मविश्वास र आत्मसम्मान घटाउँछ । यसले तनाव, मानसिक रोग र डिप्रेसनजस्ता समस्या बढाउने मनोवैज्ञानीक चिकित्सकहरुको भनाई छ ।

जुवा नियन्त्रणका उपाय

समाजमा वर्षौँदेखि जरा गाडेर बसेको जुव–तासको समस्या नियन्त्र गर्न सजिलो छैन । तर यसको नियन्त्रका लागि केही उपायहरु अवलम्बन गर्न भने सकिन्छ । जुवा तास खेल्नेहरुलाई प्रहरीले पक्राउ गर्ने मात्र होइन, कडा कानुनी कारबाही एवम् प्रभावकारी सजाय दिन जरुरी छ । चाडपर्वमा जुवाको हानिबारे जनचेतना फैलाउनु पर्छ । यसका लागि चाडवाडमा नेपाल प्रहरीले विशेष अभियान नैं सञ्चालन गर्नुपर्छ । जुवा–तासलाई मनोरञ्जनका लागि खेलिन खेलका रुपमा लिनु हुँदैन । बिभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रम र परिवारमै रमाइलो गर्ने अवसर सिर्जना गर्नुपर्छ । जुवा–तास नियन्त्रण तथा रोकथामका लागि विद्यालयदेखि समुदायसम्म असल संस्कार र अनुशासनबारे शिक्षण तथा प्रशिक्षण दिन जरुरी छ भने समाजले पनि जुवालाई स्वीकार नगर्ने वातावरण बनाउनुपर्छ ।

धर्म र संस्कृतिको दृष्टि

धार्मिक दृष्टिले पनि जुवालाई पाप मानिएको छ । महाभारतमा जुवाकै कारण महायुद्ध भएको उदाहरण छ । हिन्दु धर्मग्रन्थमा जुवालाई घर–परिवार, कुल र समाज नाश गर्ने अभिशापको रूपमा चित्रण गरिएको छ। त्यसैले संस्कृतिको नाममा जुवालाई प्रोत्साहन गर्नु गलत हुन्छ ।
तसर्थ “नखेल्नु जुवा र तास, धनको नास, जीवनको बनबास।।।” भन्ने गीत केवल गायक गणेश रसिकको सन्देश मात्र होइन, सम्पूर्ण समाजलाई दिएको चेतावनी हो । चाडपर्व रमाइलो गर्ने, मेलमिलाप गर्ने, संस्कार जोगाउने र परिवारलाई एकताबद्ध बनाउने अवसर हो । जुवाले त्यो अवसरलाई अभिशापमा बदल्नु हुँदैन । समाजलाई स्वस्थ, अनुशासित र प्रगतिशील बनाउन हो भने हामी सबैले जुवाको लत त्याग्नैपर्छ । रमाइलो, उल्लास र संस्कृतिको रक्षा जुवाले होइन, सदाचार, माया र मेलमिलापले मात्र सम्भव छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार