बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

सम्पादकीय : ओली सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर

मंगलबार, असोज ७ २०८२

महान तथा विश्वबिख्यात दार्शनीक एरिस्टोटलले आज भन्दा २३ सय वर्ष पहिल नै भनेका थिए, मानिस जन्मजात नै राजनीतिक प्राणी हो । उनको भनाईको तात्पर्य मानिस धो धर्तीको सर्वश्रेष्ठ प्राणी भएकाले उसले सोच्न सक्छ, उसको सोचाइमा राजनीतिक कुराहरु आउँछन् ।

भनिन्छ, राजनीतिले नै देशको मूल नीति निर्माण गर्ने भएकाले राजनीतिले नैं कानुनी राज्यको निर्माण गर्छ । कुनै देश प्रजातान्त्रिक, कुनै लोकतान्त्रिक, कुनै गणतान्त्रिक, कुनै अधिनायक, कुनै समाजवादी, कुनै राजतन्त्र, कुनै निरंकुश आदि हुने गर्छन् । दार्शनिक एरिस्टोटलको भनाई राजनीतिमा ठ्याक्कै लागू हुन्छ । हरेक मानिस चाहेर होस् या नचाहेर होस्, राजनीतिप्रति चासो राख्ने, राजनीतिक कृयाकलाप गर्ने खालको हुन्छ ।

कुनै पनि देशमा शक्ता सञ्चालन गर्ने सरकारले व्युरोकेसी बोहेक बिभिन्न सरकारी नियोग, आयोग प्रतिष्ठान, समिति, परिषद्, संस्थान आदिमा आफ्नो दल निकटका व्यक्तिहरुलाई अध्यक्ष वा महाप्रवन्धक पदमा प्रकृया पुरा गरेर नियुक्ति गर्ने गर्दछ । त्यसरी नियुक्त गरिएकाहरुले सरकारले तय गरेको नीति, योजना, कार्यक्रम आदिलाई सफल हुनेगरी आफूले जिम्मेवारी पाएको स्थानबाट काम गर्दछन् । कतिपय त्यस्ता कार्यालयहरु पनि हुन्छन् जुन सिधै प्रधानमन्त्रीको कार्यालय मातहतमा रहेका हुन्छन् । जस्तैः नेपालको हकमा राष्ट्रिय योजना आयोग सिधै प्रधानमन्त्रीको कार्यालय मातहतमा रहेको हुन्छ । यो कार्यालयमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । उपाध्यक्ष र अन्य सदस्यहरु प्रधानमन्त्रीले नियुक्त गर्छन् । यदि प्रधानमन्त्रीले पदबाट राजीनामा दिएको खण्डमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष लगायत सबै राजनीतिक नियुक्त पाएका सदस्यहरुको पद स्वतः सम्माप्त हुन्छ ।

नेपालका कतिपय संस्थान, समिति, परिषद्लगायतका सरकारी स्वामित्वमा रहेका कार्यालयहरुमा पनि राजनीतिक नियुक्तिहरु हुन्छन् । ती राजनीतिक नियुक्ति पाएकाहरुले पनि सरकार परिवर्तन भएसँगै स्वतः नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हो, तर नैतिकता नभएकाहरुले राजीनामा नदिई अटेरी गरेर पद ओगटेर बस्ने गरेका छन् । एरिस्टोटलले मानिस जन्मजात राजनीतिक प्राणी हो भनेजस्तै अघिल्लो सरकारले राजनीतिक नियुक्ति दिएर पदमा बसेकाहरुले सरकार बदलिएपछि पनि राजीनामा नदिनु चाहिँ गैरराजनीतिक चरित्र हो । उसमा देखा परेको नैतिकताको खँडेरी हो ।

सरकार परिवर्तन भएसँगै राजीनामा नदिने हो भने त्यस्ता राजनीतिक नियुक्ति पाएका गैरराजनीतिक चरित्र भएकाहरुले नयाँ सरकारले अघि सारेका नयाँ योजना, नीति र कार्यक्रमलाई सफल पार्न दिँदैनन् । कहिलेकाहीँ पुरानो सरकारले गरेका नीतिगत निर्णयहरु, नियमहरु उल्टाएर नयाँ सरकारले नयाँ योजना पनि ल्याएको हुन्छ, त्यस बखत राजनीतिक नियुक्ति लिएका त्यस्ता गैरराजनीतिक चरित्रका व्यक्तिहरुले आफ्नै पुरानो सरकार, राजनीतिक दल र स्वार्थ समूहको मात्र काम गर्ने मानसिकताले गर्दा नयाँ सरकारलाई असफल बनाउन लाग्ने खतरा पनि उत्तिकै हुन्छ ।

तसर्थ ७० जना भन्दा बढि सहिदहरुको बालिदानले बनेको सुशीला कार्कीको अन्तरिम सरकारलाई सफल बनाउन, केपी शर्मा ओली सरकारले गरेको हत्या आतंकको निश्पक्ष छानबिन गर्न, भ्रष्टाचारका फाइलहरुको छानबिन गर्न र जेनजीका मागहरु पुरा गर्नका लागि पनि केपी शर्मा ओलीले नियुक्त गरेका सबै राजनीतिक नियुक्तिहरु खाली गर्नु पर्छ । राजनीतिक नियुक्ति पाएर गैरराजनीतिक चरित्रकासाथ पदमा लिसोझैँ टाँसिनेहरुले स्वतः राजीनामा दिएर नयाँ सरकारको योजना सफल पार्नका लागि मार्गप्रशस्त गर्नुपर्दछ । यो नै राजनीतिक इमान्दारीता हो । यो नै नयाँ राजनीतिक संस्कार र संकृतिको थालनी हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार