शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सरकारमा चार नयाँ मन्त्री, सपथग्रहणसँगै जुटे काममा

मंगलबार, असोज ७ २०८२

काठमाडौँ(जस)–राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, डा मदनप्रसाद परियार र जगदीश खरेललाई शपथ गराएका हुन् ।
नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री परियारले कृषि तथा पशुपन्छी र मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । साथै समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको सिफारिसमा उनहरूलाई आइतबार नियुक्त गरेका हुन् । कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश छन् । त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाउनुभएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख छन् । यसैगरी मन्त्री परियार कृषि विज्ञ छन् भने मन्त्री खरेल वरिष्ठ पत्रकार छन् ।
वर्तमान मन्त्रिपरिषद्मा यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास र ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा छन् । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ । ‘जेनजी’ समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
मन्त्रीहरूको वरियता
चार जना मन्त्रीहरुले शपथ लिएसँगै उनी नेतृत्वको मन्त्रिपरिषद्मा ७ जना मन्त्रीहरु भएका छन् । मन्त्रिपरिषद्को पहिलो वरियतामा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल नै छन् । दोस्रो वरियतामा उर्जामन्त्री कुलमान घिसिङ र तेस्रो वरियतामा गृहमन्त्री ओमप्रकाश अर्याल छन् । चौथो वरियतामा भने उद्योगमन्त्रीमा नियुक्त अनिलकुमार सिन्हालाई राखिएको छ । सिन्हा सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन् । पाँचौ वरियतामा शिक्षामन्त्री महावीर पुन, छैटौंमा कृषिमन्त्री डा. मदनकुमार परियार र सातौं वरियतामा सञ्चारमन्त्री जगदीश खरेल छन् ।

जनताले महसुस गर्ने गरी काम गर्छौं : सञ्चारमन्त्री खरेल
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रित हुने बताएका छन् । सोमबार सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका उच्च कर्मचारी र मातहतका निकायका प्रमुखलाई निर्देशनसहितको मन्तव्य दिँदै उनले जनताले महसुस गर्ने गरी अन्तरिम सरकारले काम गर्ने बताए ।
सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेको मन्त्रालयले जनाएको छ । वर्तमान सरकार जेन–जीको बलिदानको जगमा उभिएको उल्लेख गर्दै मन्त्री खरेलले नयाँ पुस्ता एवं नागरिकको कार्यदेशअनुसार सुशासन कायम, भ्रष्टाचार नियन्त्रणको आधार निर्माण र जनतालाई मौलिक अधिकारको महसुस हुने गरी काम गर्ने बताए ।
‘हामीलाई जेन–जी र नागरिकबाट धेरै ठुलो कार्यादेश छैन, सरल छन्, तर बहुत जटिल र चुनौतीपूर्ण काम छन्’, उनले भने, ‘भौतिक पुनःनिर्माणले मात्र पुग्दैन । जनताको मनमा घाउ लागेको, त्यसको दाग अझै पनि छ । त्यसलाई पुननिर्माण गर्न त्यति सजिलो छैन । त्यसैले दूर दराजका जनताको घरसम्म सरकार र हामी सबै उपस्थिति हुनुपर्छ । त्यो उपस्थितिले सुशासन, आर्थिक समृद्धि, रोजगारी, शिक्षा, स्वास्थ्यलगायत संविधानअन्तर्गतका मौलिक अधिकार कार्यान्वयनको महसुस गर्न पाए मात्र घाउमा मलम लाग्छ ।’
मन्त्री खरेलले मन्त्रालयका कर्मचारीको काममा आफूले कुनै पनि हस्तक्षेप नगर्ने बताउँदै स्वतन्त्र रूपमा प्रभावकारी कार्यसम्पादनका लागि आग्रह गरे। राजनीतिक हस्तक्षेप र दलीयकरण नभई कर्मचारीतन्त्रको योग्यता, क्षमताअनुसार काम भएमा सार्वजनिक सेवा प्रभावकारी हुनेमा उहाँले विश्वास व्यक्त गरे । मन्त्री खरेलले अन्तरिम सरकारले छोटो समयमा प्रतिफलयुक्त काम गर्नका लागि सबैसँग सहयोग र सहकार्यको अपेक्षा रहेको बताए । मन्त्री खरेलले मन्त्रालयले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) ‘पोलिसी’ र ‘डिजिटल फ्रेमवर्क’मा केन्द्रित भएर काम गर्ने बताए ।
पुनःनिर्माणमा स्वदेशी सामाग्रीको प्रयोग गर्न उद्योगमन्त्रीको निर्देशन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पदबहाली गरेका छन् । पदबहालीपछि उनले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामाग्री नै प्रयोग गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरे ।
त्यस अवसरमा उनले पुननिर्माण गर्दा केही महङ्गो भए पनि स्थानीय उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए । मन्त्री सिन्हाले उद्योग व्यवसायलाई सहजीकरण नगरीकन देशमा आर्थिक उन्नति गर्न नसकिने भन्दै यो कदमले केही हदसम्म उद्यम विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने,“अहिलेको मूल उद्देश्य भनेको तत्कालका लागि घाइते र सहादत प्राप्त गर्नेहरूका परिवारलाई रोजगारीको अवसर दिने र युवाको सीप व्यवस्थापनमा जोड दिने हो । युवालाई देशमा बस्ने वातावरण मिलाउन सीप विकास र व्यवस्थापनको आवश्यकता छ । यसमा लाग्छौँ ।” मन्त्री सिन्हाले अन्तरिम सरकारको पहिलो लक्ष्य स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले चुनाव गराउने र राज्य सञ्चालनको जिम्मा निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने रहेको प्रष्ट्याए । उनले आगामी चुनावमा नयाँ अनुहारलाई सदनमा देख्न पाउने आशा व्यक्त गरे ।
“छ महिनामा धेरै उपलब्धि हासिल गर्ने आशा नराखौँ । कार्यविधिगत कुरामा सहजीकरण गर्नेका साथै अनलाइन प्रविधिको प्रयोग गर्ने सोचेको छु”, मन्त्री सिन्हाले भने,“जेनजीहरूले दिएको योगदान खेर जान नदिने गरी काम गर्नेछौँ ।” ’मन्त्री सिन्हाले सर्वोच्च अदालतको पूर्वन्यायाधीश भएर काम गरिसकेका छन् ।
कृषि क्षेत्रमा केही फरक काम गर्ने कृषिमन्त्रीको प्रतिबद्धता
नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गरेका छन् ।
मन्त्रालयका सचिवको नेतृत्वमा गठन हुने समितिले यसमा समन्वयको काम गर्ने जनाइएको छ । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री डा परियारले निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाए । शासकीय सुधार र बेथिति रोक्ने काममा सरकार लागिपर्ने उनको भनाइ थियो । मन्त्री डा. परियारले वर्तमान सरकारलाई प्राप्त शासकीय सुधार, बेथितिको अन्त्य एवं निर्वाचन गराउन प्राप्त ‘म्यान्डेट’ पूरा गर्न आफ्नो तर्फबाट सम्पूर्ण योगदान रहने प्रतिबद्धता व्यक्त गरे ।
नयाँ शिक्षामन्त्रीसँगै केशरमहलमा देखिएको फरक दृष्य
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उनलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो । मन्त्री पुनले राष्ट्रपति भवनमा सपथ लिनुअघि आफूलाई खादा लिएर बधाई दिन नआउन र मन्त्री नभन्न सामाजिक सञ्जालमार्फत अपिल गरेकाले खादा, माला र फूलबाट स्वागत गर्न मन्त्रालयका कर्मचारीहरू हच्किएका थिए । तथापि, फूलका केही गुच्छा र एउटा रुद्राक्षको माला लिएर कर्मचारीहरू स्वागतका लागि मन्त्रालय परिसरमा उभिएका थिए ।
सोमबार सार्वजनिक बिदा भएकाले कर्मचारीको भीडभाड थिएन । पानी परेकाले कर्मचारी र सञ्चारकर्मीहरू परिसरको ओत लाग्ने ठाउँमा बसेका थिए । मन्त्री पुनभन्दा केही मिनेट अगाडि शपथ ग्रहण कार्यक्रमबाट केशरमहल आएका मन्त्रालयका सचिवहरूका हातमा अरु कर्मचारीले मन्त्रीलाई स्वागतका लागि पुष्पगुच्छा दिए । एकछिनपछि मुस्कानसहित एक हात हल्लाउँदै मन्त्री पुन मन्त्रालय छिरे । उनले रातो रङ्गको गलबन्दी जस्तो खादा लगाएकाले रुद्राक्षको माला लगाइदिन कर्मचारीलाई केही सजिलो भएको देखिन्थ्यो । केशरमहलस्थित मन्त्रालयमा पदबहालीसँगै मन्त्री पुनले विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चार वटा सल्लाहकार समिति गठन कार्यादेश समावेश गरिएको प्रस्ताव स्वीकृत गरे । समितिका लागि समिति बनाउन नहुने र समितिमा राखिएकाहरूले साँच्चिकै निस्वार्थ भएर योगदान दिनुपर्ने उनको जोड थियो । यसका लागि बजेट पनि आवश्यक हुने भन्दै उनले चासो राखेका थिए । तत्पश्चात् मन्त्रालयका विभागीय प्रमुखलाई निर्देशन दिँदै मन्त्री पुनले युवा पुस्ताको चाहनाबमोजिम नयाँ एवं सुधारका काममा सुझाव दिन विज्ञ र कर्मचारीलाई आगह गरे ।
उनले आफू एक्लैले गरेर केही नहुने भएकाले शुद्ध मनले नयाँ सोचसहित सुझाव दिन सबैलाई आग्रह गरे । ’म जस्तोसुकै परिस्थितिमा पनि काम गर्न पछि नहट्ने मान्छे हुँ । मन्त्री हुँदैमा ठुलो मान्छे भएको छैन । दैनिक काममा मेरो खास रुचि हुँदैन’, मन्त्री पुनले भने, ’जेनजी समूहको आन्दोलनको मर्मअनुसार मुलुकमा भ्रष्टाचार र बदमासी हुनु भएन । म जेनजीहरूको दाइ हुँ । शिक्षा मन्त्रालयमा पनि कुनै बदमासी छ भने रोकिनुपर्छ । ढिलासुस्ती हुनु भएन ।’
उनले आफूले २०८० वैशाख १८ मा गरेको धर्नापछि विकास बजेटको एक प्रतिशत रकम वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनमा विनियोजन गर्न ६० दिनभित्र विधेयकको मस्यौदा तर्जुमा गर्न तत्कालीन सरकारसँग भएको सहमति हालसम्म कार्यान्वयन नभएको स्मरण गरे । सीमित स्वार्थका लागि देशको स्वार्थलाई ओझेल नपार्न आग्रह गर्दै मन्त्री पुनले प्रतिनिधिसभा नरहेको अवस्थामा विद्यालय शिक्षा विधेयक ल्याउन नसकिने स्थितिमा कसरी काम गर्ने भन्ने विकल्प ल्याउन तथा कार्यविधिबाट काम गर्न सकिने अवस्थाबारे जानकारी दिन आग्रह गरे ।
विज्ञान तथा प्रविधि क्षेत्रमा मन्त्रालय स्थापना भएको ३० वर्ष भए पनि खास केही काम गर्न नसकिएको टिप्पणी गर्दै मन्त्री पुनले यस क्षेत्रको विकासका लागि पर्याप्त बजेट खोज्नुपर्नेमा जोड दिए ।
दृष्य बदलियो…
वैज्ञानिक खोज, अनुसन्धान, पुस्तक लेखन र आफ्नो पुस्तक बेच्न आफैँ देशका विभिन्न ठाउँमा घुम्दै आएका मन्त्री पुन आफू मन्त्री हुनुलाई एक प्रकारले दृष्य परिवर्तनको संज्ञा दिए । ’सिनेमामा झैँ मेरो जीवनमा पनि दृष्य बदलिएको छ । डाँडाकाँडामा हुने मान्छे एकैपटक मन्त्रालयमा आएको छु’, उनले भने, ’मन्त्री भएपछि आविष्कार केन्द्रमा बस्न मिल्दैन । म जहाँ काम गर्छु, त्यही बस्ने हो । यसकारण मलाई मन्त्रालयमा एउटा सुत्ने ठाउँ र भान्छाको व्यवस्था गर्न निर्देशन दिन्छु ।’
मन्त्री पुनले आफूलाई मन्त्रालय बाहिर जाँदा व्यक्तिगत सुरक्षा कर्मचारी नचाहिने स्पष्ट गर्दै सरकारी बाहेकका काममा जाँदा सरकारी गाडी प्रयोग नगर्ने घोषणा पनि गरे । उनलाई सचिवहरू चूडामणि पौडेल र विश्वबाबु पुडासैनी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालगायतले स्वागत गरेका थिए । गत भदौ २४ गतेको आन्दोलनका क्रममा सिंहदरबारस्थित मन्त्रालयमा आगजनी र तोडफोड भएकाले हाल केशरमहलबाट मन्त्रालयको काम सञ्चालन भएको हो । रोमन म्यागसेसे पुरस्कार विजेता मन्त्री पुन नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट प्रविधिको प्रयोगमा योगदान गरेकाले आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् ।
उनको कार्यलाई अशोका फाउन्डेसन, रोमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैङ्कले मान्यता दिएको छ । नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातकोत्तर पुनले विदेशमा अध्ययन र अध्यापनपछि आफू जन्मिएको म्याग्दीको नाङ्गी र राम्चे आसपासका गाउँमा ताररहित इन्टरनेटको सफल सञ्चालन गरेका थिए । पछिल्लो समय उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका साथै वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि अभियान सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार