काठमाडौं । वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य बनेको संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली कामदारका लागि भिजिट भिसा पूर्णतया बन्द गरेको छ। युएईले सोमबारदेखि नयाँ भिजिट भिसा लिन नदिने निर्णय लागू गरेको हो। त्यससँगै बुधबारदेखि वर्किङ भिसाका लागि पेस भएका निवेदनसमेत अस्वीकृत हुन थालेका थिए।
तर, पछिल्लो जानकारी अनुसार युएईले वर्किङ भिसा चाहने नेपालीलाई भने प्रहरी प्रतिवेदन (Police Clearance Report) र राहदानीको कभरपेज अनिवार्य रूपमा पेस गरेपछि मात्रै भिसा दिने व्यवस्था मिलाएको छ।
वैदेशिक रोजगार व्यवसायीहरूको अनुसार, युएई सरकारले यसबारे आधिकारिक विज्ञप्ति ननिकाले पनि त्यहाँका रोजगारदाता कम्पनीहरूले जानकारी गराएका छन्। उनीहरूका अनुसार भिजिट भिसामा कडाइ गर्दै वर्किङ भिसालाई सहज बनाउने संकेत युएईबाट आएको छ।
युएईको निर्णयलाई नेपालमा भर्खरै भएका घटनासँग जोडेर हेरिएको छ। भदौ २३ र २४ गते भएको “जेनजी प्रदर्शन” को समयमा जेल तोडफोड हुँदै १३ हजार कैदी र ठूलो संख्यामा थुनुवा फरार भएका थिए। भागेकामध्ये करिब ८ हजारभन्दा बढी अझै नफर्केका कारण नेपालको आन्तरिक सुरक्षा संकट गहिरिँदै गएको छ।
स्रोतका अनुसार, युएईले भागेका कैदी वा थुनुवा विभिन्न मुलुक हुँदै त्यहाँ प्रवेश गर्ने सम्भावना रहेको ठानेर अस्थायी रूपमा भिजिट भिसा रोक्नुका साथै वर्किङ भिसामा पनि थप कडाइ गरेको हो।
यस निर्णयका कारण तत्कालै हजारौँ नेपाली कामदार प्रभावित भएका छन्। वर्किङ भिसा प्रक्रिया सुरु गरिसकेका धेरैले नयाँ कागजातसहित पुनः निवेदन दिनुपर्ने भएको छ।
वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई अबदेखि प्रहरी प्रतिवेदन लिनु अपरिहार्य भएको छ, जसले प्रक्रियामा समय र खर्च दुबै बढाउने भएको छ।